धनगढी – भारतको दुधुवा नेसनल पार्कबाट नेपालतर्फको कैलालीको मोहना हुँदै कञ्चनपुरको लालझाडी क्षेत्र वन्यजन्तुको ओहोरदोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यही बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्।
लालझाडी पुरानो र घना बोटबिरुवा भएको ठूलो जंगल हो। यहाँ वन्यजन्तुको बासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ। त्यही भएर पनि भारतको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु मोहना हुँदै लालझाडी आउजाउ गर्ने गर्छन्।
पछिल्लो समयमा नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर मोहना–लालझाडी करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग) मा बसोबास गर्ने स्थानीयलाई सचेत बनाउन थालिएको छ। साथै भएका पानीको मुहान संरक्षण तथा वन क्षेत्रभित्र तलाउ निर्माण गर्न थालिएको छ। तर भारतले भने अन्तर्राष्ट्रिय जैविक मार्ग थुनेर वन्यजन्तुको आवतजावतमा अवरोध सिर्जना गर्दै आएको छ।
अन्तर्राष्ट्रिय जैविक मार्गमा वन्यजन्तुलाई नेपाल–भारत आउजाउ गर्न सहज होस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न डोकेबजारस्थित अमर गोकुल सामुदायिक वनका अध्यक्ष दत्तनाथ सुवेदीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेको बताए।
‘वन्यजन्तुको हिँडडुल गर्ने बाटोमा रहेको बस्तीमा किसानलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व कम होस् भनेर हामीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘वन्यजन्तुलाई आवागमन सहज होस् भनेर उपभोक्ताहरू खेतीपाती छोडेर जडीबुटीमा गनिने क्यामोमाइल, मेन्था र लेमन ग्रास खेती गर्न थालेका छौं।’ यी जडीबुटीमा वन्यजन्तुले क्षति नगर्ने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम भई स्थानीय वन्यजन्तु संरक्षणमा लागेको उनले बताए। ‘वन्यजन्तु आवतजावत सहज होस् भनेर हामी जडीबुटी खेतीतर्फ आकर्षित भएका छौं,’ उनले भने।
लालझाडीको राष्ट्रिय वनको नौरंगामा वन्यजन्तुलाई सहज हास् भनेर नेपालतर्फ माकुरी ताल निर्माण गरिएको छ। तर भारतले भने वन्यजन्तुको आवतजावत छेक्न जैविक मार्ग जोडिएको क्षेत्रमा ट्रेन्च खनेर काँडेतार हालेको छ।
यस्तै नेपालतर्फको लालझाडी जंगलमा बाह्रै महिना वन्यजन्तुलाई आवश्यक पानीको स्रोत व्यवस्थापन भन्दै स्थानीयले ठाउँठाउँमा पोखरी निर्माणसमेत गरेका छन्। तर भारतीय पक्षले भने नेपालतर्फ आउने अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनेगरी गहिरो ट्रेन्च खनेर त्यसमाथि तारबार गरेको छ, जसले गर्दा वन्यजन्तुको पुस्तौनी बाटो थुनिएको छ।
‘वर्षौदेखिको नेपाल–भारत ओहोर–दोहोर गर्ने जैविक मार्ग भारतले थुनेको छ,’ हरियाली सामुदायिक वन लालझाडी गाउँपालिका–१, का अध्यक्ष हंशराम रानाले भने, ‘हामीले लालझाडीको राष्ट्रिय वनको नौरंगामा माकुरी तालको पुनःनिर्माण गरेका छौं।’ अहिले माकुरी तालमा बाह्रै महिना पानीको स्रोत व्यवस्थापन गरिएको बताउँदै उनले भने, ‘हामी वन्यजन्तुको सहज बासस्थान होस् भनेर नेपालमा संरक्षण प्रयास गरिरहेका छौं। तर भारतले भने वन्यजन्तु छेक्न जैविक मार्ग जोडिएको सीमाक्षेत्रमा ट्रेन्च खनेर काँडेतार बार लगाएको छ।’
यसले गर्दा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुँदा आफूहरूको संरक्षण प्रयास निरर्थक हुन थालेको उनले बताए। लालझाडी गाउँपालिका–२, कसुवास्थित जयभोले सामुदायिक वन उपभोक्ता समितिले पनि सामुदायिक वनभित्रै पानीको मुहान संरक्षण गर्न ताल निर्माण गरेका छन्। उनीहरूले पनि वन्यजन्तुलाई सहजै पानी उपलब्ध गराउन भन्दै विभिन्न संघसंस्थाको सहयोगमा तलाऊ निर्माण गरेका हुन्।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने सामुदायिक वन होस् या राष्ट्रिय वनमा स्थानीयले वन्यजन्तुको संरक्षणका लागि विभिन्न प्रयास गरिरहँदा भारतले भने एकलौटी रूपमा अन्तर्राष्ट्रिय जैविक मार्गको नीति नियमविपरीत काम गरेको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। उनले भने, ‘भारतले वन्यजन्तु थुन्न दुधुवा नेसनल पार्कमा गरेको कार्य अन्तर्राष्ट्रिय नियमविपरीत हो।’
सीमामै काँडे तारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडी आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीहरूले विरोध जनाउँदै आएका छन्। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एकमात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौता विपरीत भएको वनविज्ञ तथा पूर्व डिएफओ रमेश चन्द बताउँछन्। कञ्चनपुरको डोकेबजारमा भारतले लगाएको काँडे तार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौताविपरीत भएको बताउँदै उनले भने,‘यसलाई तुरुन्तै नेपालको कुटनीतिक नियोगबाट पहल गरेर हटाउनुपर्छ।’ उनले नेपालतर्फका सामुदायिक वनले जैविक मार्गमा वन्यजन्तुको सहज आवागमन तथा बासस्थानका लागि विभिन्न काम गरिरहँदा भारतले भने काँडेतार लगाएर वन्यजन्तु थुन्नु उचित नभएको बताए। ‘वन्यजन्तु संरक्षणका लागि नेपालतर्फ राम्रो कामको सुरुवात भइरहँदा भारतले अन्तर्राष्ट्रिय नीति नियम मिच्नु लगत हो,’ उनले भने।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन व्यवस्थापन महाशाखा प्रमुख जनक पाध्यायले अन्तर्राष्ट्रिय करिडोर रहेको लालझाडी क्षेत्रमा नेपालका तर्फबाट सामुदायिक वन तथा राष्ट्रिय वनले वन्यजन्तु संरक्षणका लागि गरिएको प्रयास सह्रानीय भएको बताए। ‘ठाउँठाउँमा वन्यजन्तुका लागि सामुदायिक वनहरूले तलाउ निर्माण गर्नुका साथै वन्यजन्तुका लागि आहारा व्यवस्थापन गरेका छन्,’ उनले भने, ‘तर भारतले भने करिडोरमै तारबार गरेर अन्तर्राष्ट्रिय जैविक मार्गको नीतिविपरीत काम गरेको छ।’
तारबार गरिँदा वन्यजन्तु आवातजावतमा समस्या पर्ने टिप्पणी गर्दै उनले भने, ‘देशको सीमा नाप–नक्सा र कित्ताकाट होला तर वन्यजन्तुको भने देश–परदेश हुँदैन। उनीहरूले वर्षौदेखि बसोबास गर्दै आएको जंगल जुन देशको भए पनि निर्धक्कका साथ हिँडडुल र विचरण गर्न पाउनुपर्छ।’ उनले विश्वकै अवधारणाअनुसार अन्तर्राष्ट्रिय करिडोर बनेको क्षेत्रमा कुनै देशले वन्यजन्तुको बाटो छेकबार गर्न नपाउने नियम रहेको बताए।
‘अहिले अन्तर्राष्ट्रिय करिडोरको अवधारणा ल्याएर वन्यजन्तुले एक देशबाट अर्को देशको जंगलमा विचरण र हिँडडुल गर्न पाउनुपर्छ भन्दै कार्यक्रम ल्याइएको छ,’ उनले भने, ‘यस्तो बेला नेपालतर्फ भइरहेको वन्यजन्तुको संरक्षण प्रयास राम्रो भए पनि भारतले वन्यजन्तुको बाटो थुन्ने प्रयास गर्नु कदापि राम्रो हैन।’ जैविक मार्गमा अवरोध सिर्जना गरेको भारतको त्यो कदमप्रति संघीय सरकारले कुटनीतिक पहल गरेर सुल्झाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘यसका लागि हामीले पनि पटक–पटक पहल गरिरहेका छौं।’
गत माघ पहिलो साता भारतले सीमाक्षेत्रमै डोजर चलाएर गहिरो ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए। विरोधपश्चात् सीमाक्षेत्रमा निर्माण गर्न थालिएको ट्रेन्च र तारबार गर्ने कार्य केही दिनलाई स्थगित गरिए पनि पुनः ट्रेन्च खनेर तारबार गरिएको थियो। तारबार गरिएको लामो समय बितिस्क्दा पनि नेपाल सरकारले कुटनीतिक पहल नगरेको भन्दै स्थानीय आक्रोसित बनेका छन्।
तराई भूपरिधि कार्यक्रमको अवधारणामा लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोरदोहोरमा सहयोग पु-याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, पाटेबाघ, चितुवा, मृग, चित्तल ओहोरदोहोर गर्छन् । सीमामा काँडे तारबार गरिएपछि वन्यजन्तुलाई सीमा वारपार गर्न समस्या भइरहेको छ।
प्रकाशित: १० पुस २०७६ ०३:२४ बिहीबार