१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

काठमाडौं - पौष कृष्ण औंसी अर्थात् बिहीबार (आज) बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ। पश्चिम र नैऋत्य कोणको मध्य भागबाट सुरु हुने सो ग्रहण बिहान १०ः०१ मा मध्य र ११ः३१ बजे मोक्ष हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार सूर्यग्रहण नेपाल, भारतलगायत एसियाका सबै देश, हिन्द महासागर, मलेसिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकासहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ।

सूर्य ग्रहणको समयमा सूर्यबाट विभिन्न प्रकारका विकिरण आउने, वायुमण्डलमा रहेका कीटाणु सक्रिय हुने र तिनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पु-याउने भएकाले घरबाहिर निस्किन नहुने ज्योतिषीय मान्यता छ। सो समयमा खाद्यवस्तु, पानी आदिमा सूक्ष्म कीटाणु एकत्रित भई दूषित गर्छन्। तसर्थ भाँडाहरूमा कुश तथा तुलसी पत्ता राख्नुपर्ने बताइएको छ। ग्रहणपछि स्नान गरेर मात्र भोजन गर्नुपर्ने विधान छ।

यस पटकको सूर्य ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धन र मकर राशि हुनेहरूलाई अशुभ मानिएको छ।

सूर्य ग्रहणको १२ घण्टाअघि नै सूतक लाग्ने भएकाले भोजन गर्न नहुने शास्त्रीय मान्यताअनुसार बुधबार बेलुकी ८ः४२ बजेदेखि नै सुत्केरी, रोगी, बालक, वृद्ध, अशक्त तथा विभिन्न प्रकारका रोगीबाहेकलाई भोजनलगायत महत्वपूर्ण काम निषेध गरिएको छ। ग्रहण अवधिमा स्नान, दान, जप, ध्यान र विभिन्न प्रकारका साधना गर्न भने शुभ हुने शास्त्रीय मान्यता छ। ग्रहणको समयमा दीक्षामन्त्र लिन उत्तम मुहूर्त रहेको ज्योतिष पण्डित रामानन्द रिजाल बताउँछन्। उनका अनुसार सो अवधिमा तीर्थस्थल, नसके नजिकका तालतलैया, नदी, पोखरी र त्यो पनि नभए घरमै स्नान गरी जपध्यान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रिलगायत शास्त्रीय ग्रन्थमा उल्लेख छ।

तर ग्रहण लागेको बेला सुते रोग लाग्ने, पिसाब गरे दरिद्रता बढ्ने, दिसा गरे विभिन्न प्रकारका कीराको रूपमा पुनर्जन्म हुने, सहवास (यौनसम्बन्ध) गरे सुँगुर भएर जन्मिने, साजसज्जा गरे कुष्ठरोग लाग्ने, खाना खाए अधोगति हुने, कसैलाई थुनेर राखे सर्प भएर जन्मनुपर्ने र हिंसा गरे नरकबास हुने धार्मिक ग्रन्थमा उल्लेख छ। त्यस्तै ग्रहणको समयमा गाईलाई घाँस, पक्षीहरूलाई अन्न र भिक्षार्थीलाई भिक्षादान गरे अनेक गुणा पुण्य प्राप्त हुने बताइएको छ। देवी भागवतमा ग्रहणको समयमा पृथ्वी खनन गर्न नहुने बताइएको छ।

राशिअनुसार ग्रहण हेरे शुभ फल मिल्ने शास्त्रमा उल्लेख छ। यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति पाएका विभिन्न पात्रोहरूमा मेष राशिलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीकष्ट, कर्कटलाई सुखप्राप्ति, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्ति हुने उल्लेख छ।

हेर्न जुरेका राशिवालाले पनि प्रत्यक्ष आँखाले भने ग्रहण हेर्नु हुँदैन। काँसको थाल वा कुनै पनि भाँडामा पानी राखेर वा दुर्बिनलगायत सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सकिने ज्यो. पण्डित रिजाल बताउँछन्। यो सूर्यग्रहणमा काठमाडौंमा चन्द्रमाले सूर्यको ३९ प्रतिशतसम्म भाग छेक्ने बताइएको छ। चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट भ्रमण गर्ने तथा पृथ्वीबाट हेर्दा सूर्य आंशिक रूपमा चन्द्रमाद्वारा छेकिने ज्योतिषीहरू बताउँछन्। सूर्यग्रहण मूल नक्षत्रमा लाग्ने भएकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने र विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका व्यक्तिलाई प्रतिकूल हुने ज्योतिषीहरूको भनाइ छ।

प्रकाशित: १० पुस २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App