१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमालाई थप एक हजार

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीय बर्थिङ सेन्टरमा गएर बच्च जन्माउने सुत्केरीलाई थप एक हजार बढि यातायात खर्च दिन थालेको छ। स्वास्थ्य संस्थामा गएर सुरक्षित तरिकाले बालबच्चा जन्माउनका लागि प्रोत्साहित गर्न गाउँपालिकाले थप एक हजार बढाएर ३ हजार यातायात खर्च दिन सुरु गरेको हो।

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने आमालाई राज्यले जनही २ हजार यातायात खर्च दिने गरेकामा गाउँपालिकाकातर्फबाट चालु आर्थिक वर्षको साउनदेखि थप एक हजार थपेर यातायात खर्च दिन थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले बताए।

स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउने आमालाई अघिल्लो आर्थिक वर्ष जनही पाँच सय रुपैयाँ दिएको गाउँपालिकाले यस आर्थिक वर्ष यातायात खर्च दोब्बरले बढाइदिएको हो। स्वास्थ्य संस्थामा बच्चा जन्माएकामा ३ हजार र नियमित चार पटक गर्भ जाँच गराएकामा ८ सय गरी गाउँपालिकाका सुत्केरी आमाले जनही ३ हजार ८ सय रुपैयाँ भत्ता पाउन थालेका छन्।

‘जनही २ हजारका दरले यातायात खर्च पाउँदै आएका सुत्केरी आमाले गाउँपालिकाका तर्फबाट थप एक हजार पाउने व्यवस्था गरिएको छ,’ पोखरेलले भने, ‘जसका कारण गर्भवती महिलालाई नियमित गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा गएर सुरक्षित तरिकाले बच्चा जन्माउन प्रोत्साहन मिलेको छ।’  

गाउँपालिकाले २ वर्षसम्म बच्चाको नियमित वृद्धि अनुगमनमा आउने अभिभाबकलाई समेत वर्षमा एक पटक एक हजार यातायात खर्च दिने व्यवस्था मिलाएको छ। बच्चाको नियमित वृद्धि अनुगमनमा आउने बाबुआमालाई यातायात खर्च दिनका लागि गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको जनाएको छ।

यस्तै, जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा बजेट व्यवस्था गरेर २०७५ साल माघदेखि स्वास्थ्य इकाई सेवा सुरु गरिएको, गाउँपालिकाले गर्भावस्थाको जाँचका लागि गाउँ–गाउँमा जाने स्वास्थ्यकर्मीलाई ३० हजार रुपैयाँ व्यवस्था गरेको स्वास्थ्य शाखाले जनाएको छ।

यसैबीच, जन्तेढुंगा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा इ–हाजिरीको व्यवस्था गरिएको छ। गाउँपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र र ६ वटै वटामा रहेका स्वास्थ्यचौकीमा इ–हाजिरीको व्यवस्था गरिएको हो। स्वास्थ्य संस्थामा हुने कर्मचारीको हाजिरीलाई गाउँपालिकाकै केन्द्रबाट निगरानी गर्न मिल्नेगरी उपकरण जडान गरिएको संयोजक पोखरेलले बताए।

प्रकाशित: ५ पुस २०७६ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App