१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

८ करोडको श्रमदान गरेर लाप्राक नमुना बस्तीबाट बाहिरियो सेना

गुप्सिापाखास्थित बस्तीमा काम गर्दै सेना, एनआरएनएले निर्माण गर्दै गरेको एकिकृत बस्तीबाट फर्कँदै सेना। तस्बिरः नेपाली सेना ।

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राक नमुना बस्तीमा दुई वर्ष १० महिना पुनर्निर्माणको काम गरेर नेपाली सेनाले बुधबार (आज) बस्ती छाडेको छ। २०७२ बैशाख १२ मा केन्द्रबिन्दु बारपाक भएर गएको बिनासकारी भूकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले लिएको थियो। एनआरएनएलाई सघाउँदै आएको सेनाको टोली काम सकेको भन्दै अस्थायी क्याम्प छाडेर फर्किएको हो।

‘२०७३ माघदेखि नेपाली सेना गुप्सिपाखाको नमुना बस्ती निर्माणमा खटिएको थियो’ रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले भने ‘सेनाले ८ करोड २८ लाख ८९ हजार रुपैयाँ बराबरको श्रमदान गरेको छ।’ २०७६ असार मसान्तसम्म सेनाले बस्तीमा श्रमदान गरेको थियो भने त्यसयता सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली सुरक्षार्थ त्यहाँ खटिएको थियो। ‘नेपाली सेनाले गर्ने काम सकेर बस्तीबाट निस्किएका हौँ’ गणपति केसीले भने ‘दक्ष र अर्धदक्ष गरी एक लाख १७ हजार छ सय २५ जनाले काम गरेका थिए।’ ५२ हजार आठ सय १५ दिन दक्ष र ६४ हजार आठ सय १० दिन अर्धदक्ष जनशक्तिले काम गरेका थिए।

एक वर्षभित्र बस्ती पुनर्निर्माण सिध्याउने गरी २०७३ बैशाखबाट एनआरएनएले जिम्मा लिएको बस्तीमा सेनाले झण्डै तीन वर्ष काम गरेको हो। एक सय ५० देखि चार सयसम्म नेपाली सेना बस्ती निर्माणमा खटिएका थिए। सिङ्गो लाप्राक गाउँको पाँच सय ७३ घर एनआरएनएले निर्माणको अन्तिम चरणमा पुर्‍याएको छ। बस्तीमा सेनाले घरको जग खन्ने, डिपिसी गर्ने, वाईरिङ गर्ने, छानो छाउने, गार्हो लगाउने, वेल्डिङ गर्ने, रङ लगाउने काम गरेको थियो।

धार्चे ४ का वडा अध्यक्ष राज गुरुङले नेपाल सेनाले बार्है महिना गुप्सिपाखामा बसेर पुनर्निर्माणको काम गरेकाले अहिले बस्ती निर्माण अन्तिम चरणमा पुगेको बताउँछन्।

‘सेना नखटिएको भए अहिले भएजति काम हुने थिएन’ अध्यक्ष गुरुङले भने ‘चिसो, हिमपात भएका बेला पनि सेनाले काम गरेका कारण बस्ती यो अवस्थामा छ।’ दुई हजार सात सय मिटर उचाईमा रहेको बस्ती एक साता यता हिउँले ढाकेको छ। पुस, माघ र असारदेखि भदौ वर्षातका बेला गुप्सिपाखामा काम गर्न निकै गार्हो हुन्छ। बस्तीभित्र घरमा काठको काम, शौचालय लगायत बाँकी रहेको अध्यक्ष गुरुङले बताए। ‘लगातार काम भयो भने धेरै बाँकी छैन, अब सेना पनि गएपछि एनआरएनले जनशक्ति जुटाएर काम लगाउन गार्हो हुन्छ कि भन्ने चिन्ता छ’ उनले भने।

एनआरएनका अध्यक्ष कुमार पन्तले बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँछन्। ‘घर निर्माणको ९० प्रतिशत काम सकिएको छ’ केही दिन अघि लाप्राक बस्ती पुगेर फर्किएका उनले भने ‘शौचालय निर्माणको काम आधा सकियो।’ बस्तीमा कुन घर कसको भन्ने एकिन भईसकेकाले अहिले स्थानीयले पनि आफ्नो घरमा श्रमदान गर्ने गरेका छन्। सेनासँग भएको सम्झौता अनुसारको काम भएकाले सेना बस्तीबाट बाहिरिँदा अब भने समस्या नरहेको एनआरएनएले जनाएको छ।

सेना हटेपछि बस्तीको सुरक्षा नेपाल प्रहरीले गर्ने भएको छ। बस्ती हस्तानान्तरण नहुँदासम्म नेपाल प्रहरीको टोली त्यहाँ रहने अस्थायी प्रहरी पोष्ट संचालन गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए। ‘निर्माण सामग्री र बस्तीको सुरक्षाका लागि प्रहरी खटिएका छन्’ उनले भने ‘बस्ती बनेपछि चौकी राख्ने विषयमा थप निर्णय हुनुपर्ने भएकाले त्यो प्रक्रियामा छ।’

प्रकाशित: २ पुस २०७६ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App