२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दस वर्षमा साढे सात हजारको मृत्यु

काठमाडौं – पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झण्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार चार सय ५५ जना नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। सो अवधिमा एक सय ७१ महिला र सात हजार दुई ८४ पुरुषले ज्यान गुमाएका छन्।

बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६/६७ मा चार सय १९, आव २०६७/६८ मा पाँच सय ६५, आव २०६८/६९ मा ६ सय ४६ र आव २०६९/७० मा सात सय २३ जनाले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। यस्तै आव २०७०/७१ मा आठ सय ७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा आठ सय १३, आव २०७३/७४ मा सात सय ५५, आव २०७४/७५ मा आठ सय २२ र २०७५/७६ मा सात सय ५३ जना नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन्।

यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई सय ५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ। सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन्। मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ। सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार चार सय ५५ जना नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। सो अवधिमा एक सय ७१ महिला र सात हजार दुई ८४ पुरुषले ज्यान गुमाएका छन्।

दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ती सय ९ जना, प्राकृतिक मृत्युबाट एक हजार ६ सय १७ जना, हृदयाघातबाट ६ सय तीन जना, कार्यस्थलमा दुर्घटनाबाट ६ सय ४४ जना, आत्महत्याबाट आठ सय ९२ जना र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ। केही मृत्युका कारण अझैसम्म खुल्न सकेका छैनन्। २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका सात सय ५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ।

आप्रवासी कामदारको अधिकारलाई प्रमुखताका साथ उठाइरहँदा कामदारको स्वास्थ्यसम्बन्धी विषय पछिल्लो समय ओझेलमा परेको छ। आप्रवासी कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका क्षेत्रमा स्रोत तथा गन्तव्य मुलुकले उचित ध्यान दिन सकेका छैनन्। व्यवसायजन्य सुरक्षा नअपनाउँदा ठूलो सङ्ख्यामा नेपाली कामदारले कार्यस्थलमै ज्यान गुमाउनु परेको छ। सामान्य सुरक्षात्मक उपाय नअपनाउँदा सामान्यदेखि दीर्घकालीन स्वास्थ्य समस्या देखिन थालेको छ। मानसिक तथा अर्बुद रोग, मिर्गौलामा खराबी, प्रजनन क्षमतामा ह्रासलगायत गम्भीर प्रकारका स्वास्थ्य समस्या नेपाली कामदारले भोग्दै आएका छन्।

आप्रवास क्षेत्रका जानकार डा. जीवन बानियाँ विदेशमा रहेको कामदारको स्वास्थ्यलाई जोखिमबाट माथि उठाउन पर्याप्त मात्रामा सचेतना फैलाउनुपर्ने बताउँछन्। ‘वैदेशिक रोजगारी अगाडि दिने पूर्वप्रस्थान अभिमुखीकरण तालीम (पिडिओटी) पर्याप्त छैन,’ उनले भने, ‘विद्यालय तथा क्याम्पस तहमा पनि वैदेशिक रोजगारीमा आउनसक्ने स्वास्थ्य समस्याबारे जानकारी दिनुपर्छ।’ व्यवसायजन्य सुरक्षा प्रत्याभूति गराउन नेपालले गन्तव्य मुलुकसँग नियमित ‘फलोअप’ गर्न नसक्नेतर्फ इङ्गित गर्दै उनले गन्तव्य मुलुकमा रहेको नेपाली नियोगको दह्रोसँग भूमिका निर्वाह गर्नुपर्ने बताए। पछिल्लो समय मलेसिया, जापान, मसिस र संयुक्त अरब इमिरेटस् (युएई)सँगको श्रम समझदारीमा कामदारको स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाका विषयलाई सम्बोधन गरिएको छ। तर त्यसको कार्यान्वनको अवस्था भने जटिल देखिएको छ।

आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ। नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। संयुक्त राष्ट्रसंघीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ।

आप्रवासी कामदार सप्ताहको अवसर पारेर शनिबार नेपाल स्वास्थ्य व्यवसायी संघले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा रगत परीक्षण तथा रक्तचाप परीक्षणका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श प्रदान गरिएको संघका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिए।

विदेशमा रहेका नेपालीले स्वस्थ्य रहन के गर्ने ?

सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ। कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ। दिनभर चर्को गर्मीमा काम गर्ने र साँझ ‘एयर कन्डिशन’ चलाएर सुत्दा झन् जोखिम बढ्ने संघका महासचिव जय गुरुङ बताएछन्।

®विदेशमा काम गर्ने नेपालीले खानपानमा विशेष ध्यान दिन उनको सुझाव छ। अत्यधिक गर्मीमा काम गर्दा शरीरमा पानीको मात्रा कम हुन गई अस्वस्थ बनाउन सक्ने सम्भावना उच्च रहन्छ। उनले कम्तीमा पनि दैनिक ६ लिटरभन्दा बढी पानी पिउनुपर्ने बताए। काम गर्दा प्रत्येक दुई÷दुई घण्टामा केही समय विश्राम लिनु आवश्यक हुन्छ।

‘विदेशमा काम गर्ने श्रमिकले पोषणयुक्त सन्तुलित खाना खानु अति आवश्यक छ,’ महासचिव गुरुङले भने, ‘वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न आउने व्यक्तिलाई विदेशमा रहँदा आइपर्ने स्वास्थ्य समस्याका बारेमा जानकारी दिनाका साथै स्वास्थ्यसम्बन्धी विभिन्न परामर्श दिने गरेको छौँ।’ मादक पदार्थ सेवन गरेर पनि ज्यानै गुमाउनाका साथै विभिन्न स्वास्थ्य समस्या निम्तने गरेको छ। गत वर्षमात्र मलेशियामा विषाक्त मदिरा सेवनबाट एक दर्जनभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए।

प्रकाशित: २९ मंसिर २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App