७ वैशाख २०८१ शुक्रबार
समाज

पानी भर्नुपर्ने बाध्यताले विद्यालय जाँदैनन् बालबालिका

रसि गाउँमा खानेपानीको लागि पालो कुरेर बसेका विद्यालयका बालबालिका र स्थानीय महिला ।

डोल्पा– चाँदनी बुढा उमेरले ९ वर्षकी भइन। उनी बलभद्र निम्न माद्यामिक विद्यालय रसि माझ गाउँमा कक्षा ६ मा पढ्छिन। तर प्रत्येक सोमबार उनी विद्यालयमा गएर पनि कक्षा कोठामा पढ्न पाउँदिनन्। सदाझै सोमबार हुने पढाईलाई थाती राखेर भएपनि  खानेपानीको लागि लाइनमा बस्नुपर्ने बाध्यता उनीमा छ। हप्तामा एक दिन पानी भर्ने पालो आउँछ।

‘बुवाआमा वनतिरको काममा जानु हुन्छ। म पानीको लागि लाइनमा बसेर पालो कुर्छु। आफ्नो पालो छुट्यो भने पानी भर्न पाइदैन्। पालोमा भएभरका भाँडाकुँडा भरेपछि एक सातासम्म ढुक्कले पढ्न पाइन्छ।’ उनी जस्तै कक्षा ७ मा अध्ययनरत विमल बुढा पनि मंगलबार विद्यालय जादैनन्। उनलाई पनि चाँदनी जस्तै पानीको लागि लाइनमा बस्नुपर्छ। चाँदनी र विमल रसि गाउँका प्रतिनिधि मात्र हुन्। उनीहरु मात्र नभई रसि गाउँका अधिकांश बालबालिकामा विद्यालय नगएर पानीको लागि लाइनमा बस्नुपर्ने बाध्यता छ।

त्रिपुरासुन्दरी नगरपालिका २ रसिमा रहेका माझगाउँ, डाँडागाउँ र गुम्बा गाउँमा बषौदेखि खानेपानीको समस्या छ ।गाउँ नजिकै रहेको सिमखोलीमा बग्ने सानो पानीलाई जम्मा गरेर तीन गाउँको लागि खानेपानी ल्याइएपनि पछिल्लो समय पानीको मुहान नै सुक्न थालेपछि खानेपानीको समस्या विकराल बन्दै गएको छ। रसिमा रहेका एक सय ३० घरधुरीलाई पानीको समस्याले वर्षनी पिरोलिरहेको रहेको छ। तर कसैकोे पनि खानेपानीको स्थाई ब्यवस्थापन तर्फ ध्यायन जान नसकेको गुम्बा गाउँमा रहेको महाकाल आधारभुत विद्यालयका शिक्षक मनबहादुर बुढाले बताए। उनले भने विद्यालयमा पनि पानीको ब्यवस्था छैन्। तिर्खा लागे आधा घन्टाको पैदल हिडि गाउँमा पुगेर पानी खानुपर्छ।

यसो त रसि गाउँमा रहेका लक्ष्मी आधारभुत विद्यालय डाँडागाउँ र महाँकाल आधारभुत विद्यालय गुम्बामा पानीको व्यवस्था छैन ।माझ गाउँमा रहेको बलभद्र निमाविमा खानेपानीको एउटा धारा त छ तर सिँगो गाउँले सहितको साझा धारो भएकाले पानीको लागि पालो कुर्नुपर्ने बाध्यता उस्तै छ। आफ्नै गाउँकी महिला नेतृ उपमेयरमा उठेपछि खानेपानीको समस्या समाधान होला भनेर सबैको एकमत गरेर भोट दिए।

रसि गाउँकै स्थानीय महिला नेतृ चन्द्रकुमारी बुढा ०७४ को स्थानीय निर्वाचनमा नगरपालिकाको उपमेयरमा निर्वाचित पनि भइन। आफ्नै गाउँकी महिला निर्वाचित भएपछि समस्या हट्नेमा गाउँले आशावादी पनि भए। तर निर्वाचन भएको दुई वर्ष बढी भइसक्दा पनि वर्षौंदेखिको समस्या समाधानतर्फ उपमेयरको ध्यायन पुग्न नसकेपछि रसिका गाउँका स्थानीय यत्तिखेर निराश बन्दै गएका छन्। रसि माझ गाउँका अलि बुढाले भने ‘उपमेयर हाम्रै नेकपाकी हुनु हुन्छ। गाउँमा आउँदा बारम्बार पानीको समस्या बताउँछौ उहाले पनि भोग्नु भएकै हो तर पनि खानेपानीको लागि पहल भएको देखिदैन्।’ ‘स्थानीय प्रदेश र संघीय निर्वाचनको समयमा भोट माग्न आउँदा सबै दलका उम्मेदवारले खानेपानी समस्या हटाउने प्रतिवद्दता गरे भोट पनि हाल्यौ चुनाव पनि जिते। तर उनीहरु फर्केर आएनन्।’ उनीसँगै पानी पनि हरायो रसि गाउँका अलि बुढाले गुनासो पोखे।

त्रिपुरासुन्दरी नगरपालिकाकी उपमेयर चन्द्रकुमारीले रसि गाउँमा खानेपानीको समस्या भएको बताईन ।उनले भनिन् अहिले गाउँ नजिकैको सिमखोलीबाट भएको सानो पानीलाई जम्मा गरेर तीन गाउँमा एक एक धारा पुर्याएर पालो कुरेर भएपनि समस्या टारिरहेको र सिमखोली बाहेक अरु खानेपानीको स्रोत पनि नभएकाले छिमेकी गाउँ रुमबाट बृहत्त खानेपानी ल्याउने गरि योजना तर्जुमा गरि बजेट माग गरिएको बताईन। बृहत्त योजना आएपछि रसि गाउँको बषौदेखिको समस्या हट्ने उपमेयर बुढाको भनाई छ। रसि माझ गाउँकी विष्णुकुमारी बुढा र कार्मा जाङमो बुढाले पानीको लागि दिनभर पालो कुर्दा अन्य काम ओझेलमा पर्ने गरेको बताइन। उनीहरुले भनिन् कहिले त पानीको लागि दिनभर खान पनि पाइदैन भोकभोकै पनि पालो कुर्नुपर्छ।

प्रकाशित: २४ मंसिर २०७६ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App