१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वन्यजन्तु जोगाउन ‘क्यानोपी ब्रिज’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्ज जंगलमा निर्माण गरिएको क्यानोपी ब्रिज। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्ज अन्हेलपुर–बबई खण्डमा केही दिनअघि सवारीसाधनको ठक्करबाट चितुवाको बच्चा म-यो। निकुञ्ज प्रशासनका अनुसार सडक पार गर्ने क्रममा चितुवाको बच्चालाई तीव्र गतिमा गुडेको सवारीसाधनले ठक्कर दिएको थियो। यस्ता दुर्घटना निकुञ्ज क्षेत्रमा दिनहुँजसो हुन्छन्।

वन्यजन्तुलाई ठक्कर दिने, मार्ने सवारीसाधनलाई पनि कानुनी कारबाही हुने स्पष्ट व्यवस्था छ। तर ठक्कर दिने प्रायः सवारीसाधनको पत्तो लाग्दैन। निकुञ्ज क्षेत्रमा लोपोन्मुख तथा बाँदर प्रजातिका वन्यजन्तु दुर्घटनामा परेर मर्ने गरेको बताइन्छ। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट सडक वारपार गर्ने क्रममा वन्यजन्तुलाई तीव्र गतिका सवारीसाधनले ठक्कर दिने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्ज पूर्व–पश्चिम राजमार्गको कोहलपुरबाट दाङको सीमाक्षेत्र शिवखोलासम्म ७२ किलोमिटर तथा रत्न राजमार्गको कोहलपुरबाट बबईसम्म ३० किलोमिटर क्षेत्रमा छ। निकुञ्जभित्र संरक्षित वन्यजन्तु सडक वारपार गर्दा दुर्घटना निम्तिने गरेको हो। गाडीको ठक्करबाट वन्यजन्तु धमाधम मर्न र घाइते हुन थालेपछि निकुञ्ज प्रशासनले न्यूनीकरणको प्रयास सुरु गरेको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए। सडक दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन नेपालमै पहिलोपटक बाँके राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा ‘क्यानोपी ब्रिज’ निर्माण गरिएको उनले जनाए।

भट्टराईका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरदेखि शिवखोला बीचमा तीन स्थानमा चारवटा र कोहलपुरदेखिी बबईको बीचमा दुईवटा क्यानोपी ब्रिज निर्माण गरिएको छ। ‘बाँदर प्रजातिका वन्यजन्तु सडक वारपार गर्ने क्रममा मर्ने क्रम बढ्न थालेपछि हामीले नेपालमै पहिलोपटक यहाँ क्यानोपी ब्रिज प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘बाँदर, लोखर्के, न्याउली मुसा जस्ता वन्यजन्त यही ब्रिजबाट सडक पार गर्न सक्छन् र सवारी दुर्घटनामा पर्ने सम्भावना कम हुन्छ।’

दुर्घटना न्यूनीकरणका लागि निकुञ्ज क्षेत्रमा गति सीमित होडिङ बोर्ड स्थापना तथा प्रचार–प्रसारको काम गरिएको प्रमुख संरक्षण अधिकृत भट्टरार्ईले बताए। राजमार्ग क्षेत्रमा गति नियन्त्रणका लागि ‘टाइम कार्ड’ को व्यवस्था गर्ने योजना पनि बनाइएको उनले बताए। मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा छोटो समयमै वन्यजन्तुको संख्यामा वृद्धि भएको छ। मानव बस्तीसँगै रहेको राजमार्गमा गुड्ने सवारी साधनको गति नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको निकुञ्ज प्रशासनले जनाएको छ। वन्यजन्तुलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज प्रशासनलाई समस्या परेको छ।

मुलुकमै पहिलोपटक बाँकेमा निर्माण गरिएका ‘क्यानोपी ब्रिज’ परीक्षण क्रममा रहेको सहायक संरक्षण अधिकृत पुरुषोतम शर्मा बताउँछन्। ‘क्यानोपी ब्रिज’ निर्माणको एक वर्षसम्म हामी यसलाई परीक्षणका रुपमा हेर्छौ,’ उनले भने, ‘अहिलेसम्म वन्यजन्तुले छिटपुट रुपमा प्रयोग गरिरहेको देखिन्छ, विशेषगरी लोखर्के र न्याउरी मुसाले प्रयोग गरेको देखियो, बाँदरले पनि बिस्तारै प्रयोग गर्लान्।’ जुटको डोरीबाट निर्मित ब्रिजलाई सडकको दुवै किनारमा रहेका रुखमा बाँधिएको छ। सहायक संरक्षण अधिकृत शर्माले भने, ‘बाँदर प्रजातिका वन्यजन्तुले रुखबाटै सडक क्रस गर्न सकुन भनेर यस्तो बनाइएको हो।’ वन्यजन्तु संरक्षणमा टेवा पु-याउने उद्देश्यले ब्रिज निर्माण गरिएको उनले बताए।

प्रकाशित: २४ मंसिर २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App