१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध कारोबारीको नयाँ सञ्जाल, भरिया बालबालिका

वीरेन्द्रनगर- प्रतिबन्धित लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै सुर्खेतमा एक बालक पक्राउ परे। सेवनकर्ताभन्दा पनि उनि भरियाका रूपमा प्रयोग भएका थिए। उनिजस्तै मुगुमा पनि चरेस पास (एक ठाउँबाट अर्काे ठाउँ लिने) गर्दै गर्दा अर्का बालक पक्राउ परे। उनिजस्तै कर्णालीमा लागुऔषध कारोबार गर्ने गिरोहले बालबालिकालाई प्रयोग गर्दै आएको छ। लागुऔषधि बालबालिकाबाट सहजै ओसारपसार गर्न सकिने हुँदा उनीहरू बालबालिकालाई प्रयोग गर्ने गरेका हुन्।

यस आर्थिक वर्षमा सुर्खेत, सल्यान र मुगुबाट एक/एक जना (जम्मा तीनजना) बालक पक्राउ परेका छन्। यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २९ जना बालबालिका पक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७४/७५ तीनजना बालक पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जानकारी दिए। यो तथ्यांक हेर्दा पनि कर्णालीमा लागुऔषध कारोबारीले बालबालिकालाई प्रयोग गर्दै आएको पुष्टि गर्छ। १० देखि १६ वर्षसम्मका बालबालिकालाई लागुऔषध कारोबारीले भरियाका रूपमा प्रयोग गर्दै आएका छन्।

बालबालिकालाई चेकजाँच कम हुनेहुँदा लागुऔषध कारोबारीले बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्दै आएका छन्। ‘पहिला कारोबारी आफैँ लागुऔषध ओसारपसार गर्दै आउथ्ये,’ उनले भने, ‘प्रहरीको सक्रियतामा उनीहरू धमाधम प्रक्राउ पर्न थालेपछि बालबालिकालाई भरियाका रूपमा प्रयोग गर्ने गरेका छन्।’ क्रियाकलापका आधारमा अहिले बालबालिकालाई पनि चेकजाँच गर्न थालेको उनको भनाइ छ।

चालू आर्थिक वर्षमा ५४ जना लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै पक्राउ गरेको छ। यसमा महिला एक, बालबालिका तीन र पुरुष ५० जना छन्। आर्थिक वर्ष २०७५/७६ मा एक सय ६६ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तिमिल्सेनाले जनाए। उनका अनुसार २०७४/७५ मा ७२ जना प्रक्राउ परेका थिए। कर्णालीमा पछिल्लो समय लागऔषध कारोबार बढ्दै गएको तथ्यांकले देखाउँछ।

लागुऔषध नियन्त्रण गर्न प्रहरीले कर्णाली प्रदेशभरि विशेष अभियानका साथ लागेको छ। पछिल्लो समय युवापुस्ताको रोजाइमा रहेको लागुऔषध कारोबार र सेवन गर्न नेपाल सरकारले प्रतिबन्ध  लगाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत भएयता सुर्खेत लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। सुर्खेतमा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन्।

सुर्खेतमा ३३, दैलेखमा चार, सल्यानमा तीन, रुकुम पश्चिममा पाँच र मुगुमा सातजना पक्राउ परेका छन्। जाजरकोट, डोल्पा, हुम्ला कालीकोटमा लागुऔषध कारोबार हुने भएता पनि त्यहाँ भने प्रहरीले लागुऔषध कारोबारीलाई प्रक्राउ गर्न सकेको छैन। ५४ जनामध्ये ३७ जनाविरुद्ध मुद्दा दर्ता गराएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। लागुऔषध सेवन तथा कारोबारमा संलग्न हुने १० वर्ष मुनिकालाई सजाय दिन मिल्दैन। १० देखि १६ वर्षसम्मका बालबालिकालाई सजाय तोकेर सुधार गृहमा राख्ने गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तिमिल्सेनाले जानकारी दिए।

‘नचिनेको मान्छेले बच्चालाई एक ठाउँबाट अर्काे ठाउँमा समान लिन पठाउँछन्,’ उनले भने, ‘उक्त समान पहिचान नगरी समान उठाउँदा त्यो लागुऔषध भएको देखिन्छ।’ यसरी पनि बालबालिका र महिलालाई लागुऔषध कारोबारीले प्रयोग गर्ने गरेका छन्। केहीलाई भने पैसाको लोभलालचमा फसाएर भरिया बनाउने गरेका छन्। भैरव युवा शसक्तिकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले पछिल्लो समय बालबालिका यसप्रति आकर्षित हुँदै गएको बताए। ‘केही बालक आफैँ सेवन गर्ने र भरियाका रूपमा काम गरेको देखिन्छ,’ उनले भने, ‘केही भने पैसा कमाउने उद्देश्य राखेको देखिन्छ।’ स्थानीय सरकार र प्रशासन जवाफदेही भएर काम गर्नुपर्ने उनको भनाइ छ।

लागुऔषध कारोबार सम्बन्धी विद्यालय स्तरदेखि अभिभावसम्म अभियान सञ्चालन गर्नु पर्ने विद्यार्थी नेतृ तृसना हमालले बताइन्। उनका अनुसार लागुऔषध कारोबारमा बालबालिका प्रयोग गर्नु दुर्भाग्य भएको भन्दै भोलिका कर्णधारलाई अहिले नै सभ्य र अनुशासित बनाउनु पर्ने बताउँछिन्। आर्थिक रूपले विपन्न, आमा वा बुवा नभएका बालबालिका यसमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ।

महिला तथा बालबालिकामा यसको चेतना फैलाउनु पर्ने महिला र बालबालिका अधिकारकर्मीहरू बताउँछन्। नचिनेको मान्छेले दिएको समानको पहिचान गर्नुपर्ने, यात्रा गर्दा आफ्नो समानको सुरक्षा गर्नु, अर्काले देखाएका लोभलालचमा नपर्नेजस्ता काम गर्दा पनि लागूऔषध कारोबारीबाट बच्न सकिने महिला अधिकारकर्मी मधुराणि ढकालले बताइन्। कानुनी ज्ञान नहुँदा पनि महिला तथा बालबालिका लागुऔषध कारोबारमा संलग्न भएको उनको भनाइ छ। यसका लागि जनचेतना फैलाउनु पर्ने उनले बताइन्।

महिला पनि जोखिममा
बालबालिकापछि लागुऔषध कारोबारीले महिलालाई पनि प्रयोग गर्ने गरेका छन्। महिलामा हुने इमान्दारीताको फाइदा उठाउँदै उनिहरूले महिलालाई प्रयोग गर्ने गरेका छन्। चालू आर्थिक वर्षमा सुर्खेतकी एक महिला पक्राउ परेकी छिन्। गत आर्थिक वर्षमा २९ जना महिला पक्राउ परेका थिए।

प्रकाशित: २० मंसिर २०७६ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App