२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘किताब हेरेर पढाउने शिक्षक नै होइनन्’

कार्यशालामा बोल्दै शिक्षाविद कोइराला । तस्बिरः नागरिक

जाजरकोट– कक्षामा शिक्षण गर्दा किताबी ज्ञानलाई मात्र ध्यान दिने व्यक्ति असल शिक्षक हुन नसक्ने शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले बताएका छन्।  कक्षामा जानुभन्दा अघि विद्यार्थीलाई के सिकाउने भनेर शिक्षकले पढ्नैपर्ने र पढाउनु भनेको किताबी ज्ञान दिनु नभएको उनले बताएका छन्।

कुशे गाउँपालिकाको मुख्य आयोजना, सेभ द चिल्डेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहजीकरणमा  सदरमुकाम खलंगामा आयोजित  शैक्षिक योजना तथा रणनीति सम्बन्धी दुइ दिने कार्यशाला गोष्ठीमा सहभागीहरुलाई अभिमुखीकरण गराउँदै  शिक्षाविद कोइरालाले विद्यार्थीको कमजोर अवस्थाबारे अभिभावकलाइ दोष लगाउने अधिकार शिक्षकलाई नभएको बताए। बालकलाई कुनै पनि ज्ञान र सीप सिकाउनु भन्दा पहिला शिक्षकले सिकाइको सुरुवात आफैबाट गर्नु पर्ने पनि उनले शिक्षक र अन्य सरोकारवालाहरुलाई सुझाए।

अभिभावकहरुले अन्जान भएर नै आफ्ना छोराछोरीलाई विद्यालयमा पठाउने गरेको भन्दै शिक्षाविद कोइरालाले विद्यालय भत्र बालबालिकाप्रतिको सम्पुर्ण जिम्मेवारी शिक्षकको नै हुने र उनीहरुले सिकेको या नसिकेको सबै कुराको दोष शिक्षकलाई नै आउनुपर्ने बताए।

स्थानीय स्तरमा शिक्षानीति बनाउँदा बालबालिकाको आवश्यकता र रुचीलाई केन्द्रित गर्नुपर्ने उनको सुझाव छ। कुशे गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी भएको उक्त कार्यशालामा  आगामी दिनमा गाउँपालिकामा गुणस्तरिय शिक्षाको अवसर बालबालिकाहरुलाई कसरी दिने भन्नेबारे वृहत छलफल भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताइन्। उनले गाउँपालिकाका सबै सरोकारवालाहरुको सहभागितामा  शिक्षाको अवस्था सुधार गर्ने र आगामी दिनमा स्थानीय सरकारले अंगाल्नुपर्ने रणनीतिबारेमा व्यापक बहस र छलफल भएको बताइन्।

कार्यक्रममा स्थानीय स्तरमा शैक्षिक सुधारका लागि स्थानीय सरकार र अन्य सरोकारवालाहरुले लिनुपर्ने जिम्मेवारीबारेमा विभिन्न क्षेत्रका व्यक्तिहरुले आफनो आफनो अनुभव र सुझाव प्रस्तुत गरेका थिए। शिक्षक जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक र अन्य सरोकारवालाहरुको सहभागितामा पाठयक्रम निर्माण उपसमिति वनाएर आगामी शैक्षिक सत्रदेखि कार्यन्वयनमा ल्याइने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उनले  गाउँपालिकामा रहेका सबै शैक्षिक समस्याहरुलाई  हल गर्ने गरी सबैको साथ र सहयोग लिएर आफुहरु अघि बढ्ने तयारीमा लागेको पनि बताए। कार्यशालामा शिक्षा विद कोइरालाबाट प्राप्त सल्लाह र सुझाव तथा ज्ञानलाई गाउँपालिकाका सबै विद्यालयहरुको पढाइ सुधारका लागि प्रयोगमा ल्याउन आफुले विशेष भुमिका खेल्ने अध्यक्ष बस्नेतले बताए। गाउँपालिकामा शैक्षिक सुधारका सवै बाधकहरुलाइ हटाउने गरि आफना तर्फबाट अग्रगामी पहल हुने अध्यक्ष बस्नेतको भनाइ छ।

स्थानीय स्तरमा आवश्यकताका आधारमा उपयुक्त पाठयक्रम निर्माण गर्नका लागि कार्यशालाले विशेष मद्दत गरेको सरोकारवालाहरुको भनाइ छ। दुइ दिने कार्यशालामा    ८०  जना विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १८ मंसिर २०७६ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App