१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

अक्षर चिन्दै राउटे बालबालिका

अक्षर चिन्न सिक्दै राउटे बालबालिका। तस्बिर : नागरिक

सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ। राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्।

दैलेखको गुराँस गाउँपालिकामा रहेको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर अक्षर चिन्न थालेका छन्। ‘मुखियाले पढेको थाहा पाए गाली गर्छन्,’ १२ वर्षीय खम्मागाडे शाहीले भने, ‘त्यसैले बस्तीदेखि ढाटा गएर लुकीलुकी अक्षर चिन्न थालेका छौं।’ घुमन्ते राउटे समुदायका बालबालिकाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) ले जोडी शिक्षक राखेको छ। राउटे बालबालिका तिनै जोडी शिक्षकसँग गएर अक्षर चिन्न थालेका छन्।

घुमन्ते जीवन बिताउने यो समुदायको संख्या एक सय ४८ छ। १५ वर्षमुनिका बालबालिका ३२ जना छन्। चार बालिका र ११ बालक अक्षर चिन्न नियमित जोडी शिक्षकसँग जान्छन्। ‘अहिले आफ्नो नाम लेख्ने र पैसा गन्न सक्ने भएका छौं,’ १५ वर्षीय नवीन शाहीले भने, ‘स्कुलै गएर पढ्ने रहर भए पनि अभिभावकको इच्छाविपरीत जान सकिँदैन्।’

‘राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन्। उनीहरूमा पढ्ने चाहना अत्यधिक छ।’

एउटै स्थानमा नबस्ने भएकाले यो समुदाय जहाँजहाँ जान्छ जोडी शिक्षक पनि सँगसँगै जान्छन्। ‘बस्ती सर्दाबाहेक अन्य समयमा राउटे समुदायका बालबालिका पढ्न आउँछन्। उनीहरुलाई खेल्ने सामग्री दिएर अक्षर चिनाउने गरेका छौं,’ जोडी शिक्षक हीरा खत्रीले भनिन्, ‘बालबालिकामा पढ्ने रहर ठूलो छ, तर अभिभावकको दबाबका कारण उनीहरु खुलेर पढ्न आउँदैनन्।’ जंगलबाट दाउरा ल्याउने, काठ काट्ने र खेल्ने बहाना बनाएर राउटे बालबालिका जोडी शिक्षकसँग पढ्न जान्छन्। ‘राउटे मुखियाले आफ्नो मान्यताविपरीत काम गर्नुहुन्न भनेर उर्दी जारी गरेकाले पनि बालबालिका लुकेर अक्षर चिन्न आउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘राउटे समुदायका बालबालिकामा पढ्ने चाहना अत्यधिक छ।’

लोपोन्मुख राउटे नेपालको एक मात्रै घुमन्ते जाति हो। राउटे समुदायको कोही मान्छे मर्नेबित्तिकै उनीहरु ठाउँ छाड्छन्। यसले गर्दा पनि राउटे बालबालिका नियमित पढ्न पाउँदैनन्। सुरुमा राउटे बालबालिकालाई पढाउन जोडी शिक्षकले धेरै समस्या झेल्नुप-यो। बालबालिका पढ्न आउन मान्दैनथे। जोडी शिक्षक भन्नेबित्तिकै मुखियाले बस्तीमा प्रवेश दिँदैनथे। ‘सुरुसुरुमा काठ काट्न र सिकार खेल्न सँगै जंगल गएर पनि अक्षर चिनायौं,’ जोडी शिक्षक खत्रीले भनिन्, ‘अहिले भने खोजीखोजी पढ्न आउँछन्।’

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकले राउटे बालबालिकामा पढ्ने चाहना अत्यधिक रहेको बताए। उनले ती बालबालिकाको शिक्षाका लागि मन्त्रालयले समुदाय–शिक्षक राख्ने तयारी गरिरहेको बताए। ‘सोसेकले जोडी शिक्षक राखेकाले मन्त्रालयले एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक राउटे बस्तीमै राखेको छ,’ उनले भने, ‘उमेर समूह अनुसार राउटे समुदायका बालबालिकालाई पढाउन थप शिक्षक राख्ने तयारीमा छौं।’

सोसेकका पूर्वअध्यक्ष हीरासिंह थापाले राउटे बालबालिकाले अक्षरसँगै कागजबाट पुतली, माछा, तारा, घरलगायत खेलौनामा रङ भर्न थालेका छन्। ‘सुरुमा लेख्ने कापी च्यातेका थिए, कलम भाँचेका थिएँ,’ उनले भने, ‘खेलका माध्ययमबाट अक्षर चिनाउन थालेपछि उनीहरुमा पढाइमा रुचि बढेको देखियो।’

प्रकाशित: १३ मंसिर २०७६ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App