coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२० गतेदेखि खानेपानीको मुल्य घट्ने

पोखरा- गण्डकी प्रदेशमा पानीकाे मुल्य घट्ने भएको छ। दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि भइरहेको बेला गण्डकी प्रदेशमा मंसिर २० गतेदेखि लागु हुने गरी प्रशोधित पिउने पानीको मुल्य घट्ने भएको हो।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशले असोज १३ गतेदेखि गरेको अनुगमनमा पानीको मुल्य अत्यधिक बढी भएको पाइएपछि मुल्य घटाउन नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशसँग पटकपटक छलफल गरेपछि मुल्य घट्ने भएको हो।

निर्देशनालयले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल बोटल वाटर उद्योग संघ गण्डकीले पानीको मुल्य घटाउने सहमति गरेको जनाएको छ। निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले अनुगमन गर्दा उत्पादकले बिक्री गरेको मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यमा बढी अन्तर भई उपभोक्ता मारमा परेकाले व्यवसायी र निर्देशनालयबिच आपसी छलफलबाट नयाँ मुल्य तोकिएको बताए।

प्रमुख पौडेलका अनुसार पिउने पानीको प्रति बोतल एमआरपी मुल्य २५ रुपैयाँबाट घटाई १६ रुपैयाँ, जारको मुख्य ६० रुपैयाँबाट घटाएर ५० रुपैंयाँ कायम गरिएको छ । ‘घटाएको नयाँ मुल्यले उत्पादक र बिक्रेतालाई कुनै असर पर्दैन’ प्रमुख पौडेलले भने, ‘बिचका बिक्रेताले असाध्यै धेरै फाइदा खाएका थिए। त्यो कम भएको मात्रै हो। कुनै पनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा खाए कालोबजारी गरेको मानिने ऐनमा व्यवस्था छ।’ निर्देशनालय प्रमुख पौडेलले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पानीको नयाँ मुल्य लागु गराउन र लागु नभए कारबाही गर्न सर्कुलर पठाउनेसमेत बताए।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशलाई मंसिर ८ गते पत्राचार गरि नयाँ मुल्य निर्धारण गरिएको व्यहोरासहितको पत्र पठाएको थियो।

संघका प्रथम उपाध्यक्ष लेखबहादुर प्रधानले निर्देशनालयले अनुगमन गरि मुल्य घटाउन गरेको प्रयास प्रशंसनीय काम भएको बताए। ‘यसमा केही व्यवसायीको असहमति छ। तैपनि हाम्रो तर्फबाट सहयोग नै हुन्छ। तर, तनहुँ, स्याङ्जालगायतका जिल्ला अनि संघमा आबद्ध नभएका व्यवसायीले पनि यही मुल्यमा पानी बिक्री गर्ने वातावरण निर्देशनायले मिलाउनुपर्छ ’उनले भने, ‘यो कार्यान्वयन गराउन नसके हाम्रो व्यवसाय झन् चौपट हुन्छ।’ उनले पानी अतिआवश्यक उपभोग्य पदार्थ भएकाले यसमा लगाउँदै आएको भ्याटमा छुट हुने व्यवस्था मिलाइदिन निर्देशनालयसँग आग्रहसमेत गरे।

उपभोक्ता संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले हरेक वस्तुमा मुल्य बृद्धि भइरहेका बेला पानीमा मुल्य घट्नु खुसीको खबर भएको बताए। ‘मञ्चले पहिलो पटक पानीमा मुल्य घटाउने काममा महत्वपूर्ण भूमिका खेलेको छ, अब हाममी सिन्डिकेट लाद्ने, वस्तुको मुल्य आफै निर्धारण गर्नेलाई नियमन गर्न लागिपर्छौ’ उनले भने, ‘७ प्रदेशमध्ये गण्डकी प्रदेशले पहिलोपटक बजार अनुगमन नियमावली २०७६ पारित गरि कार्यान्वयन गर्न सुरु गरेको छ। नियमावलीले बजार मुल्य ऐनले तोकेकोभन्दा बढी भए हस्तक्षेप गर्ने व्यवस्था गरेको छ।

संघको मंसिर ७ गते गते बसेको भेलाको निर्णय अनुसार जार र बोटलको पानीको मुल्य घटाएको थियो। यसअघि नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जेठमा जारको मुल्य बजारमा ७० रुपैयाँ भएकोमा ६० रुपैयाँ र एक लिटर बोटल पानीको मुल्य २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ कायम गरेको थियो।

प्रकाशित: १० मंसिर २०७६ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App