१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गढीमाई मेला व्यवस्थापनमा सरकार उदासीन

बारा - गढीमाई पञ्चवर्षीय मेलाको व्यवस्थापनमा संघ र प्रदेश सरकार उदासीन बनेको छ। मंसिरभर लाग्ने सो मेलामा ६० लाखभन्दा बढी धार्मिक पर्यटक दर्शन गर्न आउने भए पनि उनीहरूको व्यवस्थापनका लागि खानेपानी, शौचालय, बस्ने टेन्ट, सडकलगायत सुविधा दिने कार्यमा गरिने खर्चमा संघ र प्रदेश सरकार कन्जुस्याइँ गरेको आरोप गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले लगाएका छन्।

महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा दर्शन र मेलाबारे बुझ्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव र गढीमाई सञ्चालन समिति अध्यक्ष साहले संघ र प्रदेश सरकारले मेला व्यवस्थित गर्न आनाकानी गरेको भन्दै गुनासोसमेत गरेका थिए। पर्यटन वर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल सो मन्दिरमा मंसिर १ गतेदेखि लागेको पञ्चवर्षीय सो मेलामा भारतका विभिन्न राज्यबाट मात्र मेला अवधिभर ४० लाखभन्दा बढी भक्तजन आउने गरेका छन्।

नगरप्रमुख यादवले यस मेलामा जस्तो नेपालका अरू कुनै पनि मेलामा धार्मिक पर्यटक नआउने भएकाले यसलाई प्रदेश र संघ दुवै सरकारले महŒव दिएर लगानी गर्नुपर्ने सुझाव मन्त्री भट्टराईलाई दिए। ‘नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटन भिœयाउने लक्ष्य लिएको छ तर यस मेलामा त्यसको दोब्बर भारतीय धार्मिक पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘तापनि उनीहरूको व्यवस्थापन गर्नतिर स्थानीय सरकार मात्र लागेको छ।’

मेलामा आउने धार्मिक पर्यटकलाई शौचालय, खानेपानी, स्वास्थ्य र बस्ने टेन्टलगायत सेवासुविधा दिन कम्तीमा ६ करोड रूपैयाँको हाराहारीमा खर्च हुने अनुमान गरिएको भए पनि नगरपालिकाले हाल करिब एक करोड रूपैयाँ मात्र खर्च गरेको उनले सुनाए। मेलामा लाखौं पर्यटक आउने गरेकाले मेलाको संरक्षण गर्न र भक्तजनलाई सेवासुविधा दिन सरकारको दायित्व रहेको र प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित सहयोग गर्ने प्रतिबद्धता मन्त्री भट्टराईले गरे।

प्रकाशित: ८ मंसिर २०७६ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App