१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

द्वन्द्वपीडितलाई ह्वील चियरले दियो दोस्रो जीवन

अपांगता भएका किशोर मिजार। तस्बिर:सरिता/नागरिक

धादिङ - तत्कालीन माओवादी र सेनाको दोहोरो भीडन्तमा २०६० साल भदौ २४ गते गजुरी गाउँपालिका–२ डुँडेठाटीका किशोर मिजार गोली लागि घाइते भए। घरनजिकै बसिरहेको बेला उनीमाथि नेपाली सेनाको गोली लागेको थियो। घाँटीमा लागेको गोलीले उनलाई थला पा-यो। खान, बस्न र शौचका साथै अन्य क्रियाकलापका लागि दोस्रो व्यक्तिको सहारा लिनुप-यो। हातखुट्टासहित ज्यानै नचल्ने भएका उनले बाँच्ने आसै मारेका थिए तर बाँचे।

गोली लागि ढलेका उनलाई तत्कालै नेपाली सेनाले नै हेलिकोप्टरमार्फत काठमाडौं पु-यायो। उपचारका क्रममा उनले आठ वर्ष वीरेन्द्र सैनिक अस्पतालमै बिताए। उपचार खर्च सेनाले नै गरिदियो। अस्पतालले लङ लाइभ इन्जुरी भनेर प्रमाणित गरेपछि घर फर्किए। आठ वर्ष अस्पतालमा जेलको घेरामा बसेको जस्तै भएको उनले बताए। ‘तत्काल उपचार नपाएको भए त्यतिबेलै जीवनको समाप्ति हुने थियो,’ उनले भने, ‘अस्पतालमा पुगेपछि दोस्रो जुनी पाएको जस्तै भयो।’
सामान्य परिवारमा जन्मिएका मिजार काम गरेर कमाउँदै पढ्दै आइरहेका थिए।

आर्थिक अवस्थाका कारण उनले पढाइ पूरा गर्न सकेनन् र विदेशतिर हानिए। २०५१ सालदेखि उनले रोजगारीका क्रममा उनले भारतमा सात वर्ष बिताए। तर, सोचेजस्तो आम्दानी भएन। तसर्थ उनी २०५७ सालमा घर फर्किए। विदेशबाट फर्किएको एक वर्षपछि बिहे गरे। विदेशबाट फर्किएलगत्तै तत्कालीन एकीकृत माओवादी पार्टीमा आबद्ध भए। देशको परिस्थितिअनुसारको परिवर्तनमा लाग्नुपर्छ भन्ने सिद्धान्तअनुसार साथीहरूको सल्लाहबमोजिम उनी पार्टीमा लागेका थिए।

बिहानी परियोजनाले ह्वील चियर प्रदान गरेपछि एकै ओछ्यानमा थलिएका किशोर मिजारलाई नयाँ जीवन पाएको महसुस भएको छ। सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।

त्यतिबेला देशमा द्वन्द्वकाल थियो। द्वन्द्वकै बेलामा नेपाली सेनाले उनलाई गोली हानेर घाइते बनाएका थिए। जीवनमरणको अवस्थाबाट बाँचेर घर फर्किएका उनी अहिले ओछ्यानमा थला परेका छन् र आफन्त तथा छिमेकीको अवहेलना सहँदै दिन बिताइरहेका छन्। तर, पत्नी कविता र छोराले उनलाई साथ दिइरहेका छन्। पत्नी कविताले सामान्य खेतीकिसानी गरी गुजारा टार्ने गर्छन्।

थलिएका उनलाई बिहानी परियोजनाले ह्वील चियर प्रदान गरेको छ। ह्वील चियरको सहारामा उनी यताउति गर्छन्। पहिलेको जस्तै सधै अरूको सहारा लिनु नपरेको उनले बताए। ‘ह्वील चियर भनेको एउटा सहायता रहेछ, अर्को नयाँ जीवन नै रहेछ,’ उनले भने, ‘सधै एकै ओछ्यानमा गुजारिरहनुपर्ने त्यो अवस्थाबाट अलि अलग्गिएको छु।’ सो परियोजनाले ह्वील चियर प्रदान गरेपछि एकै ओछ्यानमा थलिएका किशोर मिजारलाई नयाँ जीवन पाएको महसुस भएको छ। सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।
१६ वर्षसम्म एकै ओछ्यानमा बस्नुपरेको पीडालाई सम्झँदै उनी भक्कानिन्छन्। सपांग मानिस जस्तै हिँडडुल गर्ने केही आशा रहेको उनले सुनाए। उनले अहिले पनि नियमित औषधि खाइरहेका छन्। उनीसँग ‘क’ वर्गको अपांगता परिचयपत्र छ र वडाबाट आउने मासिक तीन हजार रुपैयाँ भत्ताले जीविका चलिरहेको उनले सुनाए।

प्रकाशित: ५ मंसिर २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App