१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेरिँदै शरणार्थीको जीवनशैली

दमक  - भुटानी शरणार्थी शिविरमा खरका छाना हटिसकेका छन्। शिविर पनि पातलो हँुदै छ। १० वर्षअघिसम्म शिविर बाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन्। कसैले इँटा उठाएर घर बनाएका छन् त कसैले जस्ताका छाना हालेका छन्। प्रत्येकको घरमा बिजुली पुगेकै छ। बिग्रेट कोइला अहिले इतिहास भइसक्यो, सबैका घरमा एलपी ग्यास पुगेको छ। पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारांै पर्ने आइफोन बोक्छन्। बेला मौकामा नेपाल र भारतका पर्यटकीय सहरसम्म पुग्छन्। औषधि उपचारमा पहिले जस्तो किचलो छैन।

पुनर्बास भएर अमेरिकासहित ८ वटा मुलुकमा बेलडाँगीमा बस्ने शरणार्थी पुगिसकेका छन्। त्यसैकारण त  शिविरभित्र बस्नेको शैली फेरिएको छ। ‘शरणार्थीलाई दातृ निकायले दिने रासन कटौती गरेको छ। बाहिर परिवार नभएकाहरूलाई चाहिँ समस्या नै छ तर परिवारका सदस्य बाहिर भएकालाई सायदै समस्या नहुनु पर्ने हो’, बेलडाँगी शरणार्थी शिविरका सचिव कृष्ण लिम्बूले भने, ‘अब धेरै सुविधाभोगीसमेत भइसके।’

अर्का शरणार्थी पेम्बा तामाङले भने, ‘बुबा–आमा भुटान फर्कने भनेर बस्नुभएको छ, म उहाँहरूसँग छु, दाइभाउजू अमेरिकामा हुनुहुन्छ, मासिक रूपमा खर्च पठाउनु हुन्छ। सरकारले पनि शरणार्थीका लागि भनेर परिचय–पत्रको आधारमा बैंकमा खाता खोल्न सुविधा दिएको छ। यस्तै मोटरसाइकल खरिद गर्न र लाइसेन्स निकाल्न पनि परिचय–पत्र भए पुग्छ।’

कष्टकर दैनिकी बिताएकाहरूले अहिले विगतको जस्तो न्यून ज्यालामा काम गर्नु पर्दैन। शरणार्थी प्रभावित क्षेत्र दमक–३ का वडाध्यक्ष नवीन बरालले शरणार्थीको जीवनस्तरमा धेरै सुधार भएको बताए। ‘अहिले न्यून ज्यालामा काम गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘धेरै नेपालीलाई सीप पनि सिकाइएको छ, भुटानी दाजुभाइहरूले।’

विगतमा डकर्मी काम गरेका अशोक रसाइलीले अहिले विगतमा जस्तो न्यून ज्यालामा काम गर्नुपर्ने अवस्था नभएको बताउँछन्। ‘म भुटान नै जाने भनेर अमेरिका नगई बसें, अमेरिकामा छोरा–छोरी छन्’, उनले भने, ‘अब बुबा दुःख गर्नुपर्दैन भनेर कहिलेकाहीं खर्च पठाइदिन्छन्। अमेरिकासहितका अन्य ८ मुलुक नगई भुटान नै जाने भनेर बसेका अधिकांश वृद्धवृद्धा शिविरभित्र छन्।’ धेरैजसो परिवारका सदस्य अमेरिकासहितका मुलुकमा रहेको बताउँदै भुटानी शरणार्थी शिविरका पूर्वसचिव डिबी सुब्बाले भने, ‘जीवनशैलीमा केही परिवर्तन भने अहिले आएको छ।’ दाताले दिएको सहयोगको भरमा निर्वाह गर्दै आएका शरणार्थीले अहिले भने मनलाग्दो खानेकुरा खान पाएका छन्। ‘शिविरभित्र रहेका वृद्धवृद्धा र परिवार नभएकालाई मात्रै सकस छ। अन्य शरणार्थीलाई विगत हेरी धेरै सहज भएको छ’, सुब्बाले भने।

७० वर्ष नाघेका हर्कजंग सुब्बालाई विगतमा जस्तो औषधि किन्न नसकेर घरमै थला पर्नुपर्ने अवस्था छैन। दैनिकै औषधि सेवन गर्नुपर्ने उनको अवस्थालाई अहिले अमेरिकामा पुनर्बास भएका आफन्तले पूरा गरिदिएका छन्।

भुटान जान भनेर बसेका र अन्य केही मुद्दा परेका शरणार्थीबाहेक अरु शरणार्थी तेस्रो मुलुक पुनर्बास भइसकेका छन्। शिविरनजिकै पसल गर्ने यादव पौडेलका अनुसार अहिले शिविरभित्र ठूलो आर्थिक कारोबार हुने गरेको छ। शिविरको अहिलेको खर्च भनेको बैदेसिक रेमिट्यान्स नै हो’, पौडेलले भने, ‘अहिले शरणार्थीको खर्च गर्ने शैलीमा समेत फरकपन पाइएको छ।’

अमेरिका पुनर्बास भएका शरणार्थीका परिवारका कोही सदस्यसँग नेपाली नागरिकता छ। त्यही नागरिकताका आधारमा दमक, विर्तामोडमा घडेरी र घरसमेत जोडेका छन्। नेपालीसँग विवाह गरेका शरणार्थीका लागि भने त्यो सहज भएको छ, अन्यका समेत परिवारका कोही सदस्यले भने नेपाली नागरिकता लिएका छन्।

१ लाख १० हजारभन्दा बढी शरणार्थी अमेरिका, क्यानडा, डेनमार्क, युकेसहितका देशमा पुनर्बास भएका छन्। अहिले शिविरमा झन्डै ७ हजारको संख्यामा मात्रै शरणार्थी छन्  झापा र मोरङका ७ शिविरमा बस्ने शरणार्थी अहिले झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा बस्छन्।

प्रकाशित: ३ मंसिर २०७६ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App