इटहरी - कोसीटप्पु वन्यजन्तु आरक्षमा सरस्वती कली नामक ढोईले भाले छावा जन्माएको छ। १६ वर्षीय सरस्वती कलीले मंगलबार बिहान पहिलोपटक छावा जन्माएको हो।
कोसीटप्पु वन्यजन्तु कार्यालय तथा वरपरका क्षेत्रमा रैथाने जंगली हात्तीले शृंखलाबद्ध रूपमा मानवीय क्षति गर्न थालेपछि त्यस्तो क्षति कम गर्ने विकल्प स्वरूप आरक्ष परिसरमा रहेको हात्तीसारबाट आरक्षमा संरक्षित हात्तीको वासस्थान अस्थायी रूपमा श्रीलंका टापुको उत्तरी डुबान क्षेत्रमा सारिएका थियो। कोसी गाउँपालिका–३ स्थित आरक्ष कार्यालयसँगैको हात्तीसारमा रहेका ढोईहरूसँग संसर्गको लोभमा जंगली मत्ता र मकुनाहरू रातविरात कार्यालय परिसर तथा छेउछाउका बस्तीमा आउने गरेकाले स्थानीयको दबाबमा ढोई। छावाहरू अस्थायी रूपमा उत्तरी डुबानक्षेत्रमा सारिएको हो।
त्यसरी सारिएको उत्तरी डुबान क्षेत्रमा सरस्वती कलीले छावा जन्माउँदा आरक्षका कर्मचारीमा खुसियाली छाए पनि नयाँ अस्थायी बासस्थानमा व्यवस्थित हात्तीसार नहुँदा भाले हात्तीको आक्रमणबाट नवजात छावा जोगाउन भने चुनौती थपिएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए।
हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। तर नवजात छावा कमै मात्रामा बाँच्ने गरेका छन्।
आरक्षको हात्तीसार विभागका प्रमुख अधिकृत रामगुलाम चौधरीका अनुसार सरस्वती कलीले नयाँ छावा जन्माएसँगै स्याहार गर्न हात्तीसार विभागका १६ जना कर्मचारी खटिएका छन्। ‘हात्तीसारमा हुँदा छावा हुर्काउन जुन रूपमा सहज हुने थियो, अस्थायी ठाउँमा पक्कै पनि गाह्रो छ,’ उनले भने, ‘छावा जोगाउन कर्मचारी एकदमै सक्रिय रूपमा जुटेका छन्। सुत्केरी हात्तीलाई विशेष खुराक खुवाउन पनि कर्मचारी जुटेकै छन्।’ सुत्केरी हात्तीलाई सख्खरमा चामल मिसाएर खिर खुवाइन्छ। दूध बढाउने औषधि पनि खुवाइने गरिन्छ।
रैथानै जंगली हात्तीका कारण शृंखलाबद्ध रूपमा मानवीय क्षति भएकाले गर्दा आरक्षमा संरक्षित पाँचवटा ढोई र दुईवटा छावालाई भने केही दिनका लागि एक साताअघि श्रीलंका टप्पुमा सारिएको हो। अब हात्तीले नयाँ छावा जन्माएसँगै अस्थायी स्थानमा राख्दा समस्या हुने भएकाले सारिएका ढोईलाई पुरानै स्थानमा ल्याउने वा नयाँँ स्थानमै व्यवस्थित गर्ने भन्नेमा आरक्ष प्रशासन कुनै निर्णयमा पुगिसकेको छैन।
कोसीटप्पु वन्यजन्तु आरक्षमा यसअघि २०७५ असोज १९ गते शोभाकलीले पोथी छावा जन्माएको थियो। त्यसको नाम कोसी कली राखिएको छ। छ महिनाअघि दमदम कलीले पोथी छावा नै जन्माएको थियो, जसको नाम कुसाहा कली राखिएको छ। नवजात छावाको नाम राख्न बाँकी रहेको छ।
आरक्षको हात्तीसार विभाग प्रमुख चौधरीका अनुसार हात्तीका छावा नगन्य मात्र बाँच्ने गरेका छन्, जसको स्याहार गर्दै जोगाउन कर्मचारीले अहोरात्र खटिनुपर्छ। अर्कोतिर सबैभन्दा मुख्य चुनौती जंगली हात्तीबाट छावालाई जोगाउनु नै रहेको छ। कोसीटप्पुमा सबैभन्दा बढी मकुना जंगली हात्तीले विध्वंश मच्चाउने गरेको छ भने उसकै कारण बढी मानवीय क्षति पनि हुने गरेको छ।
कोसीटप्पुमा रहेका ढोई हात्तीमध्ये अब लक्ष्मी कलीमा भाले लागे पनि गर्भ बसे÷नबसेको यकिन हुन सकेको छैन। अमेरिकाका कली भने बुढेसकाल लागेकाले छावा जन्माउने सम्भावना छैन। अमेरिकाका कलीको उमेर ६१ वर्ष पुगिसक्यो।
आरक्षमा संरक्षित हात्तीमध्ये ५३ वर्ष पुगिसकेको शोभाकलीले नयाँ छावा जन्माएको एक वर्ष बितेको छ। त्यसअघि शोभाकलीबाटै आरक्षमा संरक्षित लक्ष्मीकली जन्मिएको हो। लक्ष्मीकली जन्मिनुभन्दा १२ वर्षअघि शोभाकलीले एउटा छावा जन्माए पनि छ महिनापछि त्यो मरेको थियो।
छ महिनाअघि दमदमी कलीले पनि पहिलोपटक छावा जन्माएको हो। हात्तीले २२ महिनामा बच्चा जन्माउने गर्छ। हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। हात्तीका नवजात छावा कमै मात्रामा बाँच्ने गरेका छन्।
त्यसो त कोसीटप्पुका पाँचवटा हात्ती चितवनमा काजमा लगिएका छन्। पार्वती कली, पृथ्वी कली, कुश प्रसाद, पारस गज र तीर्थमान काली काजमा चितवनमा छन्। पार्वती कली र पृथ्वी कली २०४७ सालताका कोसीटप्पुबाट चितवन काजमा लगिएको हो। कुस प्रसाद, पारस गज र तीर्थमान कली भने चितवनमै जन्मिएका हुन्। कोसीटप्पुमा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले पाँचवटा माउ तथा तीनका तीनवटा छावा छन्।
प्रकाशित: २९ कार्तिक २०७६ ०२:०० शुक्रबार