१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आपराधिक कृयाकलापमा संलग्न ११९ बालबालिका बाल सुधार गृहमा

बाँके- जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन्। विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ। चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन्।

'जबर्जस्ती करणी मुद्दाका बालक १० देखि १८ उमेर समूहका छन्,' जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने, 'लागुऔषध सम्बन्धी मुद्दाका बालक पनि धेरै रहेका छन्।' आपराधिक घटनामा बालबालिका भेटिने क्रम बढ्दो छ। उनका अनुसार एउटै बालिका ११ पटकसम्म चोरीका घटनामा समातिएका छन्।

मुद्दामा अभियोजन पक्षले थुन्ने र अधिकारकर्मीले छुटाउने काम मात्रै हुने गरेको बताउँदै प्रहरी उपरीक्षक ओलीले अदालतले दोषी ठहर गरेका बालबालिकालाई बाल सुधार गृहमा पठाउने गरिएको जानकारी दिए। उनले भने, 'बाल बिज्याइँ (कानुनविपरीतका काम) गरेको अभियोगमा पुर्पक्षमा रहेका र सजाय भुक्तान गरिरहेका बालकहरुलाई सुधार गृह पठाउँछौं।'

बाँकेमा भएको एक मात्र बाल सुधार गृह अस्तव्यस्त छ। बाल बिज्याइँ गरेको अभियोगमा पुर्पक्षमा रहेका र सजाय भुक्तान गरिरहेका बालकहरु आधारभूत सुविधाबाटै वञ्चित छन्। खुलारुपमा बस्न पाउने बाल सुधार गृहको अवधारणा भए पनि उचित व्यवस्थापन हुन नसक्दा कडा सुरक्षा घेरामा बालकहरु कैदी जीवन बिताउन बाध्य छन्।

सुधार गृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ। सुधार गृहको क्षमता ७५ को भए पनि ११९ जनालाई राखिएको छ। शय्या ७२ मात्रै रहेकाले बाँकी बालकलाई भुइँमै सुताउन बाध्य भएको बाल सुधार गृहकी परामर्शकर्ता बिमला काउचा मगरले बताइन्।

बालबालिकाको आचरणमा सुधार ल्याउन सञ्चालनमा ल्याइएको बाल सुधार गृहमा आधारभूत सुविधासमेत नभएको अधिवक्ता विश्वजीत तिवारी बताउछन्।। 'विद्युतको भोल्टेज नपुगेर बत्तीको प्रकाश मधुरो छ, पङ्खा चल्दैन, पानी तान्ने मोटर नचल्दा सुधार गृहमा शौच गर्नै समस्या छ,' उनले भने, 'कैदी बालकले मनोरञ्जन गर्न र खेल खेल्न समेत पाएका छैनन्।'

बालकको सङ्ख्याअनुसार शौचालय नहुँदा शौच र नुहाइधुवाइ गर्न पनि समस्या छ। यहाँ भएका दुईवटा शौचालयले ११९ जना बालकलाई धान्दैन, पालो कुर्नुपर्ने बाध्यता छ। 'पालो नपाएर कहिलेकाहीँ त झगडा पर्छ,' परामर्शकर्ता काउचा मगरले भनिन्।  

जरिवाना तिर्न नसक्दा सुधार गृहमै  
मोबाइल चोरीको आरोपमा सिन्धुपाल्चोकका एक बालकविरुद्ध भक्तपुर जिल्ला अदालतले एक महिना कैद र ३९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाए। अदालतको फैसलाबमोजिम उनलाई बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा ल्याइएको हो। उनले अदालतको फैसलाबमोजिम एक महिना सजाय भोगिसकेका छन् तर, जरिवानाबापतको ३९ हजार रुपैयाँ तिर्न नसक्दा उनले थप तीन वर्ष ११ महिना सुधार गृहमा बिताउनुपर्ने भएको छ। अदालतले जरिवानाबापतको रकम नतिरेमा चार वर्ष सजाय हुने फैसला गरेको छ।

'जरिवानाबापतको रकम तिर्न नसकेका कारण उनले थप तीन वर्ष ११ महीना सुधार गृहमा बस्नुपर्ने हुन्छ,' काउचा मगरले भनिन्। उनीमाथि भक्तपुरका एक व्यक्तिको ४७ हजार मूल्य पर्ने मोबाइल चोरी गरेको अभियोग लागेको थियो। अभियोग प्रमाणित भएपछि अदालतले जरिवानासहित एक महिना कैदको सजाय सुनाएको हो।

त्यसो त बाल बिज्याइँ मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा पनि कतिपय बालकले तोकिएको समयभन्दा धेरै कैद भुक्तान गर्नु परिरहेका छन्। 'मुद्दा चलेको एक वर्ष बिते पनि पेशी चढेको देखिँदैन जसका कारण बालकलाई धेरै समय सुधार गृहमा बस्नुपर्छ,' अधिवक्ता तिवारीले भने। छिटो गरी पेशी चढ्दैन, बल्लतल्ल पेशी चढे पनि सुनुवाइ नभएर पेशी सर्दै गएको देखिन्छ। 'एक वर्षसम्म पेशी नचढेको पाइएको छ,' उनले भने। आपराधिक घटनामा बालबालिकाको संलग्नता बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले पछिल्लो समय लागुऔषध, चोरीका घटनामा बालबालिकाको संलग्नता बढेको बताए।

किशोर पनि सुधार गृहमै
बाल सुधार गृहमा १८ वर्षमुनिका बालकलाई मात्र राख्न मिल्ने प्रावधान छ तर यहाँ त्यसभन्दा माथिका किशोरलाई समेत राखिएको छ। परामर्शकर्ता काउचा मगरका अनुसार उमेर पुगेका १० जनालाई यसअघि नै कारागार पठाइसकिएको छ। उनले भनिन्, 'सुधार गृहमा अझै सात जना किशोर छन्। कानूनअनुसार यहाँ राख्न नमिल्नेलाई पनि राख्नुपर्ने बाध्यता छ।

बाल बिज्याइँ गर्नेलाई उमेर पुगेका कैदीबन्दीसँग कारागारमा राख्दा झन् बिग्रिन सक्ने भयका कारण त्यस्ता बालबालिकालाई बाल सुधार गृहमै राख्नुपर्ने कानूनी व्यवस्था राखिएको अधिवक्ता तिवारीको भनाइ छ। सुधार गृहमा रहेका बालकका लागि दैनिक दुई घण्टा खेल खेल्ने र मनोरञ्जन गर्ने समय छुट्याइएको छ तर, पालो बिराएर मात्रै मैदानमा ल्याइन्छ।

परामर्शकर्ता काउचा मगरका अनुसार यहाँको पर्खाल होचो छ र खेल सामग्री पर्याप्त नहुँदा बालकलाई एकैसाथ बाहिर निकालिँदैन। त्यसो त सुधार गृहका बालक शिक्षा आर्जनको अवसरबाट पनि बञ्चित छन्। विद्यालय भवन निर्माण भए पनि स्वीकृति नपाउँदा उनीहरुले अध्ययन गर्न पाएका छैनन्। एकजना शिक्षकले ११९ बालकलाई पढाउनुपर्ने बाध्यता छ।

उनले भनिन्, 'यसको व्यवस्थापन युसेपले हेरिरहेको छ। बालकका लागि खाना खर्च जिल्ला कारागार कार्यालय, बाँकेबाट आउने गरेको छ।' सुधार गृहमा लागुऔषधका २२ जनाले सजाय भोगिरहेका छन्। चोरीका १८, ज्यान मार्ने र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आठ–आठ, सवारी ज्यान र मानव बेचबिखनका तीन–तीन र साइबर क्राइमका एकजना बालक यहाँ आश्रय लिइरहेका छन्। रासस

 

प्रकाशित: २८ कार्तिक २०७६ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App