२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

टुँडिखेल जोगाउन तीन महिनासम्म चेतनामूलक कार्यक्रम

काठमाडौं - सम्पदा संरक्षण अभियन्ताले टुँडिखेल अतिक्रमण रोक्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।अभियन्ताले बिहीबार खुलमञ्चमा पत्रकार सम्मेलन आयोजना गरी ‘अकुपाइ टुँडिखेल’ अभियानअन्तर्गत तीन महिनासम्म चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

अभियानका क्रममा आगामी शनिबार टुँडिखललाई मानव साङ्लोले घेर्ने कार्यक्रम छ। भूमाफियाले टुँडिखेल अतिक्रमण गरेको भन्दै त्यसलाई जोगाउन अभियान थालिएको उनीहरूले बताए। सम्पदा अभियन्ता आलोक तुलाधरले टुँडिखेल जोगाउने अभियानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन्। खुलामञ्चलाई जोगाउन प्रत्येक शनिबार तीन महिनासम्म नागरिक स्तरबाट चेतनामूलक कार्यक्रम गर्ने उनले बताए।

सम्पदा अभियन्ता एवं ‘अकुपाइ टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले टुँडिखेल बचाउन तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन चरणमा अभियान चलाइने बताए। उनका अनुसार तत्कालीन अभियानअन्तर्गत खुलामञ्चमा गरिएको सवारी पार्किङ तथा टहरा हटाइने छ। अल्पकालीन अभियानमा पार्किङ व्यवस्थापन र वृक्षरोपण गरिनेछ। दीर्घकालीन अभियानमा रानीपोखरीदेखि रंगशालासम्मको क्षेत्र खाली गरी त्यसलाई ऐतिहासिक सभ्यता, संस्कृति झल्काउने अभियान चलाइनेछ।

उनले भने, ‘प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षबाट टुँडिखेलको महत्व छ। त्यसैले यसको संरक्षण आवश्यक छ।’ खुलामञ्च जसरी भए पनि खुला हुनुपर्ने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा संघीय सांसद् भीमसेन दास प्रधानले सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको टुँडिखेलको अतिक्रमण हटाउन सरकारले चासो दिनुपर्ने बताए। ‘टुँडिखेल कला देखाउने तथा खेल खेल्ने ठाउँ हो। प्राकृतिक विपद् आउँदा यो ठाउँ बस्नका लागि पनि चाहिन्छ,’ उनले भने, ‘त्यसैले खुलामञ्च संरक्षण गरी स्वच्छ र हराभरा बनाउनुपर्छ।’ यसका लागि जनप्रतिनिधि मिलेर पहल गरिरहेको उनले बताए। टुँडिखेलमा निर्माणाधीन अवस्थामा रहेको भ्यु टावर बनाउन नहुने उनको भनाइ छ। ‘यसले टुँडिखेल कुरूप बनाउनेछ,’ उनले भने।

अर्का सम्पदा अभियन्ता सञ्जय अधिकारीले संविधानमा उल्लेख जग्गासम्बन्धी हक प्रयोग गरी आम नागरिकले टुँडिखेलको अतिक्रमित जग्गा संरक्षणमा लाग्नुपर्ने बताए। सम्पदा अभियन्ताहरूले टुँडिखेललाई मानव साङ्लोले घेर्ने अभियानमा सहभागी हुनेलाई सेतो टिसर्ट लगाउन आग्रह गरेका छन्। सम्पदा अभियन्ताले आगामी शनिबार टुँडिखेललाई मानव साङ्लोले घेर्ने अभियान चलाउँदैछन्। अभियानअन्तर्गत खुलामञ्चमा चित्र, नाटक, कला, फोटो तथा झाँकी प्रदर्शन गरिने छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App