१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आलमको बयान जारी

रौतहट – राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। बयान नसकिएकाले बिहीबार पनि यो जारी रहने छ।

दोस्रो दिन पनि बयान लिने काम नसकिएकाले बिहीबार फेरि अदालतमा आलमलाई उपस्थित गराउने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए। त्रास फैलाएर पहिलो संविधानधानसभा चुनाव जित्न आलमले बनाउन लगाएको बम विस्फोट भएको थियो। विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा जलाएको लगायत तीनवटा अभियोगमा आलमविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ। कर्तव्य ज्यानसम्बन्धी अभियोगमा उनको बयान सोमबार सकिएको छ। ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोगसम्बन्धी अभियोगमा बयान लिन बाँकी रहेकाले बिहीबार पनि जारी रहने छ। सर्वस्वसहित जन्मकैद माग दाबीसहित आलमविरुद्ध मुद्दा दर्ता गरिएको हो।

पत्रकारहरुले ‘केही भन्नु छ’ भनेर प्रतिक्रिया माग्दा आक्रोशित हुँदै आलमले भने, ‘केही पनि भन्नु छैन, मेरो पुरानै प्रतिक्रिया छ, यो सबै राजनीतिक पूर्वाग्रहबाट, राजनीतिक षड्यन्त्रबाट मलाइ फसाउन खोजिएको हो।’

पीडितका पक्षमा बहस गर्न काठमाडौंबाट आएका अधिवक्ता पुष्पराज पौडेलले बयानका क्रममा आलमले आफूलाई सजिलो पर्ने प्रश्नको जवाफमा ‘हो’ र अप्ठेरो पर्ने प्रश्नको जवाफमा ‘होइन’ मात्र भनेको जानकारी दिए। पीडितका तर्फबाट बहस गर्न काठमाडौंबाट आएका अर्का कानुन व्यवसायी आसिकराम कार्कीले सूक्ष्म तरीकाले बयान लिने काम भइरहेको र बिहीबारसम्म सकिने बताए।
जिल्ला अदालत रौतहटमा दायर ०७६ सिए ००९५ नम्बरको मुद्दामा सरकारी वकिल कार्यालयले आलमसहित एघारजनालाई प्रतिवादी बनाएको छ।

बयान दिएर प्रहरी हिरासतमा फर्कने क्रममा जिल्ला अदालत परिसरका पुगेका कार्यकर्ता र समर्थकलाई अभिवादन गर्ने क्रममा आलमले आफूलाई हँसिलो र आत्मविश्वासी देखाउने प्रयत्न गर्दै भने, ‘मेरो ठिक छ।’ पत्रकारहरुले ‘केही भन्नु छ’ भनेर प्रतिक्रिया माग्दा भने केही आक्रोशित हुँदै उनले भने, ‘केही पनि भन्नु छैन, मेरो पुरानै प्रतिक्रिया छ, यो सबै राजीतिक पूर्वाग्रहबाट, राजनीतिक षड्यन्त्रबाट मलाइ फसाउन खोजिएको हो।’ आलमसँग बयान लिइसकेपछि थुनछेक बहस सुरु हुने छ।

सांसदको लोगो लगाएर बयान
कर्तव्य ज्यान, विस्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका आलम सांसदकै लोगो लगाएर अदालतमा उपस्थित हुने गरेका छन्। सांसदबाट निलम्बन भइसक्दासमेत उनले लोगो प्रयोग गर्न छाडेका छैनन्। हिरासतमा बस्दा पनि उनले लोगो फुकालेका छैनन्। संसद् सचिवालय असोज २७ मा सूचना टाँस गरी आलम सांसद पदबाट निलम्बित भएको जानकारी गराएको थियो। अधिवक्ता कार्कीले सांसदबाट निलम्बित भएको अवस्थामा सांसदको लोगो लगाएरै अदालतमा बयान दिनु गलत भएको बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App