८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शान्ति धाम महाज्ञबाट ३२ लाख संकलन

वहुधार्मिक त्रियगा शान्तिधाममा प्रतिस्थापित बुद्ध मुर्ति। तस्विरः महेश्वर/नागरिक

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा निर्माणाधीन बहुधार्मिक महत्वको शान्तिधाम परिसरमा लगाइएको पुराणबाट ३२ लाख रुपैयाँभन्दा बढी दान (चन्दा) संकलन भएको छ। कात्तिक १ देखि ८ गतेसम्म लगाइएको ‘श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताहज्ञान महायज्ञ’ को अवसरमा भेटी, अक्षयकोष, विभिन्न पुजा कर्म तथा आफन्तजनको स्मृतिमा प्राप्त रकम ३२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँ संकलन भएको हो।

संकलित रकममध्ये यज्ञ खर्च कटाएर बाँकी रहेको २० लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ। निर्माणाधीन शान्तिधामको पूर्णता तथा निरन्तर सञ्चालन गर्न संकलित रकमबाट खर्च कटाएर बाँकी बजेट अक्षयकोष स्थापना गर्न लागिएको शान्ति धाम समितिले जनाएको छ। पुराणको व्यवस्थापन, भजन टोलीको पारिश्रमिक, दातालाई सम्मानपत्र तथा प्रचारप्रसार र पुजा सामग्रीलगायत सम्पूर्ण शीर्षकमा ८ लाख ८१ हजार ४ सय ४७ रुपैयाँ खर्च भएको शान्तिधाम समितिका आध्यक्ष पण्डित गिरीराज खतिवडाले बताए।

संकलित रकममध्ये व्यवस्थापनमा भएको सबै खर्च कटाउदा २३ लाख ५४ हजार १ सय १२ रुपैयाँ बाँकीरहेको र सोमध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष खोल्न विनियोजन गरिएको खतिवडाले बताए। उनका अनुसार अक्षयकोष स्थापना गरेर उक्त रकम बैंकको मुद्धती खाता खोलेर मौज्दात राखिने छ। जसको व्याजबाट शान्तिधाम सञ्चालन खर्च व्यवस्थापन गरिनेछ।

शान्तिधाममा आगामी दिनमा कसैले यज्ञ वा पुराण लगाउनका लागि त्रियुगा नगरपालिकाले विशाल त्रिशुलसहितको व्यवस्थित पाण्डाल निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ भने अन्य बिभिन्न व्यक्तिहरुले सहयोगको प्रतिबद्धता जनाएको खतिवडाले बताए। गाईघाटका निर्माण व्यवसायी अमरबहादुर दाहाल (खत्री)ले त्रियुगा बैद्धिक गुरू कुलमका लागि कार्यकक्ष र आवासहितको ४ कोठे भवन बनाईदिने प्रतिवद्धता व्यक्त गरेका छन् भने खप्तडी बस्नेत परिवारले क्रियापुत्री भवन बनाईदिने बचन दिएका छन्।

त्यस्तै, नेपाल निर्माण व्यवसायी संघ उदयपुरले शान्तिधाममा इन्टरनेट सुविधासहितको ई–लाईब्रेरी सञ्चालन गर्न भवन बनाईदिने प्रतिबद्धता जनाएको छ। नेपाल लाईब्रेररी फाउण्डेशनले ई-लाईब्रेरीमा चाहिने आवश्यक उपकरण र सरसामान उपलब्ध गराउने प्रतिवद्धता जनाएको शान्तिधामका परिकल्पना तथा योजनाकार सहायक वन अधिकृत जागेश्वर साहले बताए। साहका अनुसार त्रियुगा नगरपालिका १२ का हरि रेग्मीले धाम पसिरमा गौशाला निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। अक्षयकोषलाई त्रियुगा ११ का नारायणभक्त बस्नेतले १ लाख १ हजार १ सय ५५ रुपैयाँ सहयोग गर्ने बाचा गरेका छन्।

पुराणमा नगद भेटी दान गर्ने र सहयोगको प्रतिवद्धता जनाउने दाताहरुलाई प्रशंसा र सम्मानपत्र प्रदान गरिएको छ। ‘त्रियुगा नगरको शोभा र शान, साझा धरोहर त्रियुगा शान्तिधाम’ भन्ने नाराका साथ आयोजित पुराणले शान्तिधामको पहिचान बढेको र नगरवासीमा भावनात्मक सम्बन्ध बढाएको निश्कर्ष निस्केको साहले बताए। बहुधार्मिक पर्यटनक्षेत्रको रुपमा विकास गर्ने उदेश्यले ४ वर्षअघिदेखि वर्षौंअघिदेखि मरेको मान्छे जलाउने र गाड्ने निर्जन र उराठलाग्दो नदी किनारमा शान्तिधाम निर्माण थालिएको थियो।

चार वर्षको अवधिमा त्रियुगा नगरपालिका र जिल्ला वन कार्यालयको वर्षेनी सहयोगमा बुद्ध मुर्ति, घेराबेरा, पोखरी, मन्दिर र प्रवचनकक्ष भवन निर्माण भईसकेको छ। सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी उदयपुरका पर्यटकीय गन्तव्यमध्ये शान्तिधाम एउटा महत्वपूर्ण हुनसक्ने लक्ष्यका साथ यसको विकास र प्रवबद्र्धनमा समिति खटिरहेको छ। त्यसैको एउटा पाटोको रुपमा सप्ताह पुराण लगाइएको हो।

 

प्रकाशित: १६ कार्तिक २०७६ १२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App