१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उपचार अभावमै अस्ताए सहिदका पिता

बिरामि अबस्थाका मंगले बुढा र उनकी श्रीमती फुर्कि। फोटो: दिनेश/नागरिक

रोल्पा– २०५९ साल माघ २९ गते घर छेउमा २२ वर्षीय छोरा भुबनलाई सुरक्षाकर्मीले मारे पछि विक्षिप्त बनेका सुनछहरी गाउँपालिका ७ जेलवाङका ९० बर्षीय मंगले बुढाको उपचारको अभाबमा बुधवार राती मृत्यु भएको छ।

बर्ष दिन अगाडी देखि रोगले थलिएर बिस्तारामा ढलेका उनको उपचारमा सहयोग गर्ने कोहि भएनन्। घर छेउको स्वास्थ्य चौकिसम्म जान नसक्ने अबस्थाका उनलाई परको उपचार एकादेशको कथा बन्यो।

लामो समय यता दिशा पिसाब ओच्छ्यान मै गर्ने मंगलेलाई उपचार त परको कुरा पेट भरि खानाको पनि समस्या थियो। मृत्यु संग लड्दै गर्दाको पीडामा दैनिकि गुजारा गरिरहेका मंगलेलाई बाच्नु भन्दा पनि सहज मृत्यु आईदिए हुन्थ्यो जस्तो लाग्ने गरेको बताउँथे। ‘उहिले कसरी बाच्ने भन्ने लाग्थ्यो अब कसरी मर्ने भन्ने पिर छ’, बिस्तारामा ढलेका मंगलेले केहि दिन अगाडी भनेका थिए। 

बुढेसकालको सहारा एउटा छोरो मारिनुको कारण समेत थाहा नपाएर मंगलेको मृत्यु भए पछि अब उनकि श्रीमती फुर्किको बिचल्ली सुरु भएको छ। वृद्ध भत्ताका भरमा जीवन चलाईरहेका मंगलेको मृत्यु पछि उनकि श्रीमती फुर्किलाई बाँकि जीवन चलाउन सकस हुने भएको छ। देशमा राजतन्त्र गएको र गणतन्त्र आएको केहि थाहा नपाएका यो परिवारलाई छोरो मारिनुको कारण पनि थाहा भएन। छोरो सहिद भयो भन्ने सुनेका उनीहरुलाई सहिदको परिभाषा पनि जानकारी थिएन। 

‘उपचार नै नभएको त होईन तर प्रयाप्त चाहि भएन’ सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले भने, ‘एक पटक उपचारका लागि बुटवल सम्म पुर्याएको हो। अलि निको भए जस्तो भएको थियो तर उहाँ रहनुभएन।’ स्थानीय सरकारले सम्मानका साथ अन्तेष्टी गरिएका मंगलेको सोहि दिन मगर परम्परा अनुसार शुद्ध शान्ती पनि गरिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए। 

वडा अध्यक्ष टिकाबहादुर बुढाका अनुसार गत भदौमा उपचारका लागि बुटवल पुर्याएको भए पनि डाक्टरले बुढो मान्छे गाह्रो छ भने पछि पर्काएर ल्याएको बताउछन्। उनी भन्छन् ‘रोगी मान्छे करिव एक बर्ष निकै दुख पाउनु भयो।’ स्थानीयहरु चाँहि सहिदका बुवाको उपेक्षा गरिएकोमा रुष्ट बनेका छन्। एक स्थानीयले भने, ‘सहिदका बुवाको त उपचार गरिँदैन भने आम नागरिकको दशा कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ।’

दुई बर्ष अगाडी मंगले बुढाको दयनीय जिवनशैलीका बारेमा संचार माध्यममा खबरहरु बाहिर आए पछि पूर्व सभामुख ओनसरी घर्ती र उनका श्रीमान उर्जा मन्त्री बर्षमान पुनले आबासका लागि घर निर्माण गरि दिएका थिए। ‘बस्ने घर त भयो तर जोडालाई अस्पताल लैजाने पैसा छैन। घरमा खाने कुरा त छैन, झन अस्पताल कसरी लैजाने?’ घर पाए पछि मंगले पत्नी फुर्किले गुनासो गरेकि थिईन।

केहि समय अगाडि ९० वर्षमा लागेका मंगले बुढा नागरिकता बनाउन निकै वर्ष पहिला सदरमुकाम लिवाङ पुगेको बाहेक गाउँ छाडेर कतै गएका थिएनन्। जीवनमा जुत्ता चप्पलको अनुहार नै नदेखेका खुटटा सँगै ९ दशक पार गरेका उनी सँग गाडि चढेको अनुभव पनि थिएन। ७५ वर्षीया श्रीमति फुर्की बुढेनी सँगको जीवन यात्रा जेलबाङ  मै बिताइ रहेका उनको उपचारको अभाबमा मृत्यु भएको हो।

रोल्पाको जेलबाङ सदरमुकाम लिवाङबाट दर्जनौ पहाडहरु काटेपछि २० कोष टाढा पर्दछ। मगर र दलितहरुको बसोवास रहेको यहाँ तत्कालिन माओवादी युद्धका समयमा ७३ जनाले ज्यान गुमाएका थिए। माओवादी युद्धताका प्रायः सबै केन्द्रीय देखि तल्लो स्तर सम्मका नेताले टाउको लुकाएको गाउँ हो जेलबाङ। शान्ति सम्झौता भएर माओबादी शहर छिरेपछि चुनाव भन्दा अन्य समयमा नेताहरु गाँउ पसेको उदाहरण छैन जेलबाङीसंग। 

 

 

प्रकाशित: १६ कार्तिक २०७६ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App