३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

अवस्था परिवर्तन भएन भन्नेलाई प्रधानमन्त्रीको टिप्पणी: आँखा देख्दैनन् कि कान सुन्दैनन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अवस्था परिवर्तन भएन भन्नेप्रति कडा टिप्पणी गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले अवस्था परिवर्तन भएन भन्नेहरू आँखा नदेख्नेहरू हुन् कि कान नसुन्ने हुन् भनेर टिप्पणी गरेका हुन् ।

'कोही मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,उनले भने, 'उनीहरु आँखा देख्दैनन् कि कान सुन्दैनन् ? मलाई थाहा छैन ।’ उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी एमएस उत्तीर्ण भएकोलाई जनताको अवस्था परिवर्तन भएको दृष्टान्तका रुपमा प्रस्तुत गरे । वि.स.२००४ सालमा दुई चार वटा स्कुल मात्र रहेकोमा अहिले हजारौँ, लाखौँ विद्यार्थी अध्ययन गर्ने र जताततै स्वास्थ्य उपचार गर्न सक्ने जनशक्ति उत्पादन भएको बताउँदै उनले अगाडि थपे,'योचाहिँ के भएको हो ? पोखरामा मेडिकल इन्स्टिच्युट स्थापना हुनु र दुई ब्याच उत्तीर्ण भइसके । यो अवस्था परिवर्तन भएको होइन ?’

प्रधानमन्त्री ओलीले आफू काठमाडौंमा भएपनि देशभरिका जनताको समस्या समान रुपमा हेर्ने गरेको बताए । सबै ठाउँको विकासका लागि आफूले ध्यान दिइरहेको बताउँदै उनले भने,'म काठमाडौं बसे पनि मुस्ताङ भुलेको छैन, पर्यटकीय गन्तव्यहरू भुलेको छैन र बाटोघाटो भुलेको छैन।’ उनले प्रविधिको प्रयोगमार्फत शिक्षालाई आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गरे ।

प्रकाशित: ३ माघ २०८१ १७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App