१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभराबाट ४५ तोला सुन संकलन

ताप्लेजुङ – २०७५ सालको साउनदेखि २०७६ सालको असोज मसान्तसम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको करिब ४५ तोलाभन्दा बढी सुन र १० किलोग्रामभन्दा बढी चाँदी संकलन भएको छ।

पाथीभरा देवी मन्दिर भेटीपाती व्यवस्थापन समितिअन्तर्गत सुन–चाँदी व्यवस्थापन उपसमितिले शुक्रबार भक्तजनले चढाएको सुन र चाँदीलाई प्रचलित मूल्यमा बिक्री गर्ने निर्णय गर्दै सुन बिक्रीका लागि ७ दिने सार्वजनिक सूचनासमेत आह्वान गरेको छ।

सुन–चाँदी व्यवस्थापन उपसमितिका अन्तरिम संयोजक तथा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपानेले सुन खरिद गर्न इच्छुक व्यक्ति तथा व्यावसायिक संस्थाहरुलाई कात्तिक २२ गते मध्याह्न १२ बजेभित्र भेटीपाती व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन्।

उपसमितिले ४१ तोला ५ लाल जोखिएको सुनसहित आम्दानी बाँधेर राखेको कण्ठ, जन्तर र छड्के तिलहरीलाई बिक्रीमा लैजाने छ।स्थानीय सुन व्यवसायीसमेतका प्रतिनिधिको सुझावका आधारमा संकलित सुनचाँदी बिक्री गरिने उपसमिति संयोजक न्यौपानेले जानकारी दिए। चाँदीको परिणाम भने जोखेर यकिन गरिएको छैन।

संकलनका बेला तयार गरिएको मुचुल्काका आधारमा आम्दानी बाँधेर राखिएको र भेटीपाती व्यवस्थापन समितिका पदाधिकारीको रोहवरमा जोखेर कुल परिणाम निकाल्ने तयारी गरिएको न्यौपानेले बताए।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको भेटीपाती व्यवस्थापन समितिमा फुङ्लिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयसहितका सुरक्षा निकायका प्रमुख तथा जनस्तरको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका पदाधिकारी सदस्य रहेका छन्।

सुरुमा मन्दिरको भेटीपातीको जनस्तरको समितिमार्फत हुँदै आएकोमा सरकारीस्तरको पाथीभरा क्षेत्र विकास समिति र जनस्तरको संरक्षण समितिलाई समेत समायोजन गरेर समन्वय प्रमुखको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति बनाइएको छ।

 

प्रकाशित: १६ कार्तिक २०७६ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App