५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

महराको बयान सकियो, थुनछेक बहस आइतबार

फाइल तस्बिर:नागिरक

काठमाडौं – महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएसँगै पहिलो अदालती प्रक्रिया बयान सकिएको छ। मुद्दा दर्ता भएको भोलिपल्टै शुक्रबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको बयान भएको हो। बयानका क्रममा सरकारी वकिल र प्रतिवादीका कानुन व्यवसायी उपस्थित हुन पाउँदैनन्।

महरालाई थुनामै राखेर अनुसन्धान गर्ने वा धरौटीमा रिहा गर्ने भन्ने थुनछेक बहस भने समय अभावका कारण शुक्रबार हुन नसकेको जिल्ला अदालतले जनाएको छ। ‘आज (शुक्रबार) बयान सकियो। समय अभावले थुनछेक बहस हुन सकेन,’ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले भने, ‘थुनछेकका लागि आइतबार बहस गर्नेगरी फिर्ता पठाइएको छ।’

थुनछेक बहसपछि महरालाई थुनामा राख्ने, धरौटी मागेर छोड्ने वा साधारण तारेखमा छोड्नेगरी अदालतसँग तीनवटा विकल्प छन्।

महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय र क्षतिपूर्ति माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। महराले सार्वजनिक पदको दुरुपयोग गरी महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा थप सजायसहित क्षतिपूर्ति माग दाबी गरिएको छ। संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले असोज १२ मा महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

मुलुकी अपराध संहिता २०७४ अनुसार जबर्जस्ती करणी उद्योगअन्तर्गत साढे ७ देखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ। महराविरुद्ध जबर्जस्ती करणी प्रयासअन्तर्गत मुद्दा दर्ता भएकाले आधा सजाय हुने कानुनी व्यवस्था छ। सभामुखजस्तो सार्वजनिक पदमा बसेका व्यक्तिले महिलामाथि जबर्जस्ती करणी प्रयास गरेकाले थप सजाय माग गर्दा ५ देखि साढे ७ वर्ष सजाय माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रहरीले महरा र पीडित भनिएकी महिलाले प्रयोग गर्ने मोबाइलको कल डिटेल, एसएमएस, कलवाइज लोकेसन र युजर डिटेललाई अभियोगको आधार बनाएको छ। महराविरुद्धको कसुर पुष्टि गर्न डेढ सयभन्दा बढी कागजात जुटाएको प्रहरीले उक्त दिन साँझ ६ देखि ९ बजेसम्मको सभामुखको निवास बालुटारबाट तीनकुनेसम्मको सिसी क्यामेरा फुटेजलाई पनि प्रमाणका रुपमा पेस गरेको छ।

त्यस्तै सांसद् उमा रेग्मीले गरिदिएको कागज, चस्माको सिसा, फ्रेमको डन्डी, जुत्ताको तलुवासमेतलाई प्रमाणका रुपमा पेस गरेको प्रहरीले महराका पर्सनल सेक्युरिटी अफिसर प्रहरी नायब निरीक्षक किशोर आचार्य, प्रहरी नायब निरीक्षक डबलबहादुर बम, प्रहरी हबलदार विष्णुबहादुर थापा, चालक सशस्त्र प्रहरी हबलदार श्यामहरि आचार्य, जमदार काजीमान रानासहितसँग गरेको कागजलाई पनि प्रमाणकापमा पेस गरेको छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App