१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पञ्चेबाजा जोगाउन देउसीभैलो

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका १० का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको युवा अगुवा लोकेन्द्र गिरीले जानकारी दिए।  उनका अनुसार गैरदलित युवा पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेका हुन्।

पञ्चै बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाइने गरिन्छ। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो। अगुवा गिरी भन्छन्,‘पञ्चेबाजा जोगाउने अभियानमा गैरदलित युवा समावेश गएर देउसी भैलो खेल्दा निकै रमाइलो भइरहेको छ। घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन्।

’यो बाजा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ। उनले थपे,‘अहिले देउसी भैलोमा पनि पञ्चेबाजा बजाउन थालिएको छ। यो निकै राम्रो पक्ष हो। यसले पञ्चेबाजा संरक्षणमा दलित तथा गैरदलितलाइ जिम्मेवार बनाउने देखिन्छ। ’

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ। त्यस्ता साईतहरूमा मंगल धुन बजाएर साईतलाई शुभ बनाउने चलन छ। मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो। यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता पनि हो। यो पटकको देउसी भैलोले संरक्षणको संकेत गर्छ।

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने चलन थियो।  हाल गैरदलित पनि बजाउन थालेका छन्। यो शुभ संकेत हो। यो कार्यले पञ्चेबाजाले केही हद सम्म व्यवसायीकता पाउने देखिएको छ। यहाँको  शहरी भेकमा आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ। पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भएपनि पछिल्लो पुस्ता आधुनिकता तिर केन्द्रित हुन थालेपछि समस्या उत्पन्न भएकोले, अगुवा गिरीले भने,‘पञ्चेबाजा प्रति पछिल्लो पिढिलाइ जिम्मेवार बनाउन पहल थालिएको छ। ’

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन्। पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन्,‘ उनले भने, ‘अब देउसी भैलोमा समेत पञ्चेबाजाको प्रयोग गर्न थालेका छौँ। ’६० को दशकअघि कर्णालीका हरेक शुभकार्यमा पञ्चेबाजा बजाउने गरिन्थ्यो । तर, विकाससँगै कर्णालीमा अहिले आयातीत बाजाले प्रश्रय पाउँदै जादा यो बाजा लोप हुन थालेको छ। 

बाजा बजाउन १२ देखि १८ जनासम्मको समूहमा मिलेर बजाउने गर्छन। मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ ।   पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको भन्दै आगामी दिनमा कलाकार सम्मानित हुने कार्यमा अग्रसर हुने युवाहरु बताउँछन्। चन्दननाथ १० युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजा सहित देउसी भैलो खेलिरहेका छन्। बाजागाजा सहित गाउँमा भैलैरा पुग्दा गच्छे अनुसारको दक्षिणा दिन कुनै कन्जुस्याइ हुने गरेको छैन्। बरु गर्वको अनुभति हुने गरेको स्थानीय बताउँछन।

प्रकाशित: १२ कार्तिक २०७६ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App