२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

'आर्थिक सहायताको सदुपयोग हुन्छ'

कठमाठौं - अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंक लगायत निकायबाट प्राप्त हुने आर्थिक सहायताको सदुपयोग हुने बताएका छन्। अमेरिकाको वासिंगटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

विश्व बैंकले नेपालमा सहायता गरेको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा सहायता राशीमा वृद्धि गर्न जरूरी रहेको बताए। बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋणमाथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपालले लिएको उनले प्रस्ट पारे।

सोही अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरूको १४औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको बताए। उनले यस क्षेत्रमा अन्तरदेशीय सडक लगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पु¥याउने पनि बताए। विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगबाट अन्तरदेशीय सडक सञ्चालनको लागि पूर्वाधारको विकास गर्न मद्दत पुग्ने बताए।

सोही कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे। वित्तीय संघीयता कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्षले नेपालले छोटो समयमा वित्तीय संघीयता कार्यान्वयन गर्न सफल भएकोमा खुसी व्यक्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ कार्तिक २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App