१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मृत शिशु निकालेपछि बच्यो महिलाको ज्यान

सिन्धुपाल्चोक - पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ। इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनीता तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको पेटमा सात महिनाको शिशु थियो। दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो।

दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको थियो। अस्पतालमा पुग्दा चिकित्सकले गर्भको शिशुको ज्यान गइसकेको घोषणा गरेका थिए। औषधि सेवनले मात्र मृत शिशु घाइते आमाको कोखबाट प्राकृतिक तवरले बाहिर निस्कन नसक्ने बताउँदै चिकित्सकले शल्यक्रिया गर्न सुझाएको उनका काका अमर तामाङले बताए। ‘शिशु त बितिसक्यो। आमालाई बचाउन तत्काल अप्रेसन गर्नुपर्छ,’ चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, ‘अप्रेसनबाट बच्चा निकाल्दैमा आमालाई बचाउन सकिन्छ भन्ने छैन। तैपनि प्रयास गर्छौं।’ परिवारले स्वीकृति जनाएपछि चिकित्सक टोलीले जोखिम मोलेको उनले जानकारी दिए। शल्यक्रियापछि दुई घण्टा बेहोस भएकी सुनिताको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।
‘उनी (सुनिता) गम्भीर घाइतेको सूचीमा छिन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले भने। इन्द्रावती–९ भोटसिपाकी उनी दसैं मनाएर राजधानी फर्कंदै गर्दा दुर्घटनामा परेकी थिइन्। उनको टाउको र पेटमा चोट लागेको थियो। टाउकोको चोटले उनको आँखामा असर पु¥याएकाले अर्को शल्यक्रिया गर्न चिकित्सकले सुझाएको काका अमरले बताए। अस्पतालले मृत शिशुको शनिबार पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो। बडहरे बस दुर्घटनामा चालकसहित ११ को ज्यान गएको थियो भने एक सय ६ यात्रु घाइते भएका थिए।

बाह्रबिसे नगरको पाँच लाख रुपैयाँ सहयोग
बडहरे बस दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई बाह्रबिसे नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ। पालिकाको विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई सहायता रकम प्रदान गरिने नगर प्रमुख निमफुन्जो शेर्पाले बताए।

‘विपद् सबैतिर आइपर्छ। छिमेकमा आएको बिपद्मा एकले अर्को स्थानीय तहलाई सघाउने असल परम्परा बसाल्न खोजेका हौं,’ उनले भने। छिट्टै कोषको बैठक बसी निर्णय गरेर घोषित रकम प्रदान गर्ने उनले जानकारी दिए। स्थानीय सरकार आर्थिक रूपमा सबल भइनसकेकाले दुःखमा सघाउनु कर्तव्य ठानेको उनको भनाइ छ। यसअघि बस दुर्घटना भएको इन्द्रावती गाउँपालिकाले मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने घोषणा गरिसकेको छ।

प्रकाशित: २७ आश्विन २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App