१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एघारै मृतकको सनाखत: घाइतेकाे भुइँमा राखेर उपचार, आफन्तको असन्तुष्टि

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित भोटसिपा बडहरे बस दुर्घटनामा ज्यान गुमाएका सबै ११  जनाकै सनाखत भएको छ। घटनास्थमै पाँचको मृत्यु भएको थियो भने पाँचको उपचारको क्रममा र एकको बीच बाटोमै निधन भएको थियो।

दुर्घटनापछि ७२ घाइतेलाई उपचारका क्रममा धुलिखेल अस्पताल पु¥याइएकोमा पाँच जनाको निधन भएको थियो। काभ्रे प्रहरीका अनुसार धुलिखेल अस्पतालमा ज्यान गुमाउनेमा इन्द्रावती गाउँपालिका–९ की जुनादेवी लम्साल, मेलम्ची नगरपालिका–१३ का गणेश तामाङ, इन्द्रावती–१० की सुनिता पुर्कोटी, सोही ठाउँका सुवास अधिकारी र मीना मगर छन्।

दुर्घटनामा परी काभ्रे, बनेपा घर भएका बस चालक केदारनाथ महाजु, पाँचखाल नगरपालिका–६ काभ्रेकी संगीता पुर्कोटी, इन्द्रावती–९ का हिरा श्रेष्ठ, सोही ठाउँका बिनोद लम्साल र इन्द्रावती–१० का रितेश आचार्यको घटनास्थलमै मृत्यु भएको थियो। घाइते बाह्रविसे नगरपालिका–७ घर भइ ललितपुर बस्ने समिता श्रेष्ठकोे उपचारको लागि धुलिखेल लैजाने क्रममा बाटोमै ज्यान गएको थियो।

दुर्घटनाका घाइतेमध्ये ६७ को काभ्रेको धुलिखेल अस्पताल, ११ को बनेपास्थित शीरमेमोरियल अस्पताल र १३ को राजधानीस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये २० भन्दाबढीको अवस्था गम्भिर छ। घाइतेलाई स्थानीय सवारी साधन र हेलिकप्टरमा उपचारका लागि लगिएको थियो। घाइते हुनेमा धेरै बालबच्चा र महिला छन्।

ठाउँ अभाव भएपछि धुलिखेल अस्पतालमा घाइतेको भूँई र बाहिरै प्रांगणमा राखेर उपचार भइरहेको छ। घाइतेको उपचारमा हेलचेक्राई भएको भन्दै तिन्का आफन्तले असन्तुष्टि पोखिरहेको त्यहाँ पुगेका कांग्रेस नेता सुदर्शन आचार्यले बताए। ‘घाइतेको भूँर्ईँमै सुताएर उपचार भइरहेको छ। यसप्रति उनीहरुका आफन्तले असन्तुष्टि पोखेका छन्,’ उनले भने। यातायात समितिका पदाधिकारीले घाइतेको उपचारमा गम्भिर ध्यान नदिएसम्म शव नबुझ्ने चेतावनी उनीहरु दिएको आचार्यले बताए।

दसैँका यात्रु बोेकेको सिन्धु हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान साढे ९ बजेतिर इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेको पिकुमोड दुर्घटना भएको थियो। क्षमताको तेब्बर एक सयभन्दा धेरै यात्रु बोकेको बस कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर रुखमा अड्किएको थियो।

प्रकाशित: २४ आश्विन २०७६ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App