काठमाडौं - काठमाडौं महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा टुँडिखेलको खुलामञ्चसँगै जोडिएको दुईमाजु गुठी मन्दिरको सार्वजनिक जग्गामा अस्थायी टहरा बनाई नियमविपरीत व्यापार थालिएको छ। मिलेमतोमा सम्झौतालाई लत्याएर हाल एक रोपनी सार्वजनिक जग्गामा व्यापार व्यावसाय सञ्चालन भइरहेको छ।
सम्झौता पत्रमा २०७५ मंसिर ९ गते गुठी संस्थान शाखा कार्यलय काठमाडौंले भीमसेन गाउँपालिका २, गोरखा हाल तीनकुने काठमाडौं महानगरपालिका वडा ३२ बस्ने अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँका दरले पाँच वर्षका लागि भाडामा दिएको देखिन्छ। यसमा गुठी संस्थानकातर्फबाट वैकुण्ठप्रसाद रेग्मीको हस्ताक्षर छ।
काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यको हस्ताक्षरमा २०७५ फागुन १० गते गुठी संस्थानलाई दिइएको सहमतिमा भनिएको छ, ‘दुईमाजु गुठीअन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि अस्थायी टहरा निर्माणको लागि गुठीबाट स्वीकृत नक्सा बमोजिम सहमति माग भएकोमा २०७५ फागुन १० गतेको सदर टिप्पणी अनुसार पेस गरिएको नक्सामा फरक नपर्ने गरी अस्थायी टहरा निर्माणको लागि सहमति प्रदान गरिएको छ।’ तर, यस पत्रमा व्यापार व्यावसाय सञ्चालन गर्ने बारे केही उल्लेख छैन। यो आधारमा महानगरपालिकालाई गुठी संस्थानले विभिन्न प्रलोभन वा झुक्याएर सहमति गराएको स्पष्ट हुन्छ।
गुठी संस्थानको मिति २०७५ पुस ४ गतेको कार्यदेशले संस्थानको पूर्ण स्वामित्वमा रहेको दुईमाजु मन्दिर परिसरको खाली जग्गामा साधारण व्यवसाय सञ्चालन गर्न अमृता भट्टराईलाई सहमति दिएको देखिन्छ। महानगरसँग सहमति लिनुअघि नै गुठी संस्थानले अमृतालाई कार्यादेश दिइसकेकाले यसमा संस्थानकोे बदमासी भएको बुझिन्छ।
गुठी संस्थान र महानगरपालिकाकै मिलेमतोमा व्यापार व्यावसायी सञ्चालन भएको स्थानीय बताउँछन्। स्थानीय सुसान वैद्यले खरिद ऐनलाई मिचेर मिलेमतोमा व्यापार व्यवसाय चलाएको बताए। उनले भने, ‘पूजा हुने सार्वजनिक जग्गामा व्यापारव्यवसाय गर्ने आधार के हो ...। यसमा गुठी संस्थान र महानगरको संलग्नतामा अनियमितता भएको छ। पैसाको प्रलोभनमा सम्झौतालाई लत्याएर चौथौ पक्षसम्म पु¥याएको देखिन्छ।’ उनका अनुसार दुईमाजुको हनुमानढोको तलेजु भवानीसँग साइनो छ। दुईमाजु भनेको अदृश्य शक्ति हो। अदृश्य शक्तिलाई धोक्रोजस्तो स्वरूपमा छोपिराखिएका हुन्छ । त्यहाँ पूजा गर्न पनि हनुमानढोकास्थित तलेजुकै पूजारी जान्छन्। दैनिक पूजा भए पनि दुईमाजुमा चैत मसान्तको दिन विशेष पूजा हुन्छ ।
मन्दिर परिसर हेरचाहको जिम्मा पाएका अमृता भट्टराईले आफू मात्रै नभई अरुलाई पनि व्यापार गर्न दिएकी छिन्। सम्झौतापत्रमा अरुलाई व्यापार गर्न दिने कुरा छैन। करारमा व्यापार व्यवसायका लागि पुनः उर्मिला कडरियालाई दिइएको देखिन्छ। २०७५ माघ १७ गते करार सम्झौता गरी कानुन विपरीत मरिण ठाकुर इन्टरनेशनल प्रालीले अस्थाई टहरा बनाएर पसल भाडामा दिएको छ। सो संस्थाका अमिर गर्तौला र श्रीमती उर्मिला कडरियाले विभिन्न स्टलमा पसल सञ्चालन गरेका छन्। भट्टराईले २०७६ साउन १० गते काठमाडौं महानगरपालिका वडा २८ कार्यालयमा बुझाएको पत्रअनुसार झलकप्रसाद गेलाल, दुर्गा शाह, अनिताकुमारी थापा, अमृता मैनाली, सुरेन्द्र मानन्धर, टेकबहादुर जोगी, होमबहादुर खड्का, दीपक गौतम, भगवान शर्मा, रेशमबहादुर पाण्डे, रस्मीला श्रेष्ठ, निश्र गोदार थापा, पदम नेपाली, टंक खत्री, खेमराज शाह, सर्वदा उप्रेती मैनाली, शर्मिला कट्वालले पसल सञ्चालन गर्न अनुमति पाएका छन्।
अहिले सो ठाउँमा जुत्ता, चप्पल, लुगालगायतको पसल छ। उनीहरुले भरेको फारममा घरधनीको नाममा गुठी संस्थान नभई उर्मिला कडरिया नाम उल्लेख छ। गुठी संस्थान, केन्द्रीय कार्यालयले स्थलगत निरीक्षणपछि गुठीको जग्गामा व्यक्तिले भौतिक संरचना निर्माण गरेको स्वीकार गरेको छ। ०७५ चैत २९ गते संस्थानका निमित्त प्रशासक सरोज थपलियाले लेखेको पत्रमा भनिएको छ, ‘यस संस्थानको प्राविधिकबाट भएको स्थलगत निरीक्षणबाट त्यहाँ मन्दिरको वरिपरि चारैतर्फी ग्रील लगाएर बाहिर पट्टबिाट जस्तापाताले बेरिएको र जस्ताको छाना राखी ट्रस्ट निर्माण गरिएको र मन्दिर वरिपरि पर्खालमा रंग लगाइएको साथै भुइँमा वरिपरि ब्लक छापिएको भनी प्रतिवेदन प्राप्त हुन आएको जानकारी गराइएको छ।’
सम्पदा बचाउ अभियानमा सक्रिय गणपतिलाल श्रेष्ठले गुठीको जग्गा व्यक्तिलाई दिएर सञ्चालित व्यवसाय तत्काल रोक्नुपर्ने बताए। उनले भने, ‘गुठी संस्थान र महानगरपालिकाको बद्मासीले पूजा गर्ने सार्वजनिक जग्गामा व्यापार व्यावसाय भइरहेको छ। हामी यो ठाउँलाई हेरिटेजको रुपमा हेर्छौं। तत्काल यो सम्झौता खारेज गरी खाली गराईनुपर्छ।’ उनले सार्वजनिक जग्गा र ऐतिहासिक पूजाका थलो संरक्षणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तादरुकता आवश्यक रहेको बताए। सोही क्षेत्रका संघीय सांसद भीमसेनदास प्रधानले अहिले व्यापार व्यावसायीको लागि कब्जा गरिएको जग्गालाई पुरानै अवस्थामा फर्काउन अरु सांसदहरुसगँ बसेर छलफल गर्दै आएको बताउँछन्। ‘पूजा गर्ने सार्वजनिक परिसरमा कसैले व्यापार गर्न पाउँदैनन्,’ उनले भने, ‘हटाउनलाई लागि परेको छु। बसपार्कको पनि सटर हटायौं। तिहार पछाडी सम्ममा दुईमाजुको जग्गाको पसल हटाउँछौं।’
गुठी संस्थान केन्द्रीय कार्यालयका प्रवक्ता सरोज थपलियाले भने हेरचाहका लागि खटाइएका अमृता भट्टराईले थोरै तलब हुने गुनासो गरेपछि व्यपार व्यावसाय गर्न दिएको बताउँछन्। उनले भने, ‘पूजाआजा रेखदेखका लागि जिम्मा दिएको अमृता भट्टराईले तलब थोरै भयो भनेर व्यापार गर्न वा तलब बढाउने भनेर माग गरे। त्यसपछि व्यावसाय गर्न दिएका हौं।’ उनले गुठीको पूर्जाबिनै अरु पक्षलाई व्यापार व्यवसाय गर्न दिएकाले छानबिन गरी कारबाही गरिने बताए। ‘कानुनी प्रक्रियाबिनै अरु पक्षलाई व्यापार गर्न दिएको पाइएको छ। छानबिनका लागि सबै प्रतिवेदन माग गरिएको छ। छानबिन गरी कारबाही अगाडी बढाइन्छ।’
महानगरपालिकाको प्रत्यक्ष संलग्नता
दुईमाजु गुठीमा महानगरपालिककै प्रत्यक्ष संलग्नता रहेको तथ्य फेला परेको छ। महानगरपालिका भवन निर्माण इजाजत विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरमा २०७५ फागुन १० गते अस्थायी टहरा निर्माण गर्न दियो। उक्त जग्गाको गैरकानुनी रुपमा काठमाडौं महानगरपालिका र वडा नम्बर २८ कार्यालयले १७ जना व्यापार व्यावसायीलाई पसल सञ्चालन गर्न लिखित रुपमै सहमति दिएको छ। काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाइराम खड्गीले भने वडाबाट कुनै स्वीकृति नदिएको दाबी गरेका छन्। ‘सार्वजनिक खाली जग्गामा व्यापार भइरहेको छ,’ उनले भने, ‘यसको लागि मेरो वडाबाट कुनै व्यापार गर्न स्वीकृति दिएका छैनौं। यसलाई रोक्न हामी लागेका छौं। महानगरपालिकामा पनि पत्र पठाएको छु।’
उनले स्वीकृति नदिएको दाबी गरे पनि नागरिकलाई प्राप्त पत्रमा वडाले नै सञ्चालनको लागि सिफारिस दिएको देखिन्छ। २०७६ साउन १० गते अध्यक्ष भाइराम खड्गीले जो जससँग सम्बन्ध राख्छन् भनी गरेको सिफारिस पत्रमा भनिएको छ, ‘दुईमाजु गुठी परिसरको खाली जग्गामा मरिण ठाकुर इन्टरनेसनललाई करार गरी भाडामा लगाएको उक्त जग्गामा मरिण ठाकुर इन्टरनेशनलले अस्थायी टहरा बनाई निम्न उल्लेखित व्यक्तिलाई भाडामा लगाई ठाकुर इन्टरनेसनल मातहत व्यवसाय सञ्चालन भई आएको व्यहोरा सिफारिस पाउँ भनी यस वडा कार्यलयमा अमृता भट्टराईले निवेदन पेश गरेको हुँदा इन्टरनेसनलअन्तर्गत निम्न उल्लेखित व्यवसाय सञ्चालनमा रहेको व्यहोरा सिफारिस गरिन्छ।’
महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस विषयमा पूर्ण जानकारी नभएको प्रतिक्रिया दिइन्। ‘दुईमाजुको विषयमा अझै राम्रोसगँ बुझेको छैन,’ उनले भनिन्, ‘पत्र आएको छ। यस विषयमा बुझी हटाउन पहल गर्छु। पूजाआज गर्ने ठाउँमा यसरी टहरा निर्माण गरी व्यापार सञ्चालन गर्न पाइँदैन।’ उनले २८ वडाबाट नगरपालिकामा आएको पत्रमा अस्पष्ट भएको बताइन्। उनले भनिन्, ‘पत्रले के भन्न खोजिएको स्पष्ट छैन। पत्रले त अनुगमन गरी हटाउनभन्दा पनि झनै व्यापार व्यवसाय गर्न पहल गर्ने जस्तो देखियो।’
प्रकाशित: १६ आश्विन २०७६ ०२:४७ बिहीबार