२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्दयी बाबुबाट चरम यातना

सोलुखुम्बु – थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लिका तीर्थ राईले मदिरा सेवन गरी आफ्ना तीन सन्तानलाई विना गल्ती चरम यातना दिने गरेको खुलासा भएको छ। मदिरा सेवन गरेर लट्ठ बनेका बाबुले गाउँले सुतेपछि मध्यरातमा सुतेका आफ्ना सन्तानलाई उठाएर कठोर यातना दिँदै आएको बर्सौंपछि ठूली छोरी अपनाले वडा कार्यालयको सहारा मागेपछि घटना बाहिर आएको हो।

चार सन्तानको जन्म दिएपछि कान्छो छोरो १० महिनाको हुँदा नै आमा अर्कैसँग भागिन्। आमाले छाडेपछि पनि बाबाले दुःखसुख गरेर मायाले पालनपोषण गरेको याद छ, ठूली छोरी अपनालाई। उनका अनुसार कान्छी फुपूले बाबाको दोस्रो विवाह गराइदिएपछि भने बाबुबाट आफूहरूमाथि कठोर यातना सुरु भयो।

‘कान्छो भाइ ९ वर्षको भयो । सानिमाको काखमा करिब एक वर्षको सानो बच्चा पनि छ,’ १५ वर्षीया अपनाले भनिन्, ‘मदिराले मातेर राति घर आउने बाबाले सुतिसकेका हामीलाई उठाएर दुवैहात पछाडि बाँधेर बेस्सरी कुट्नुहुन्थ्यो, हामी रुन्थ्यौं, सुनिदिने कोही थिएन। सानिमा चुपचाप बस्नुहुन्थ्यो । पटकपटक कुटाइ खाएकी म सहन नसकेर घर छोडेर गाउँमै रहेका फुपूफुपाजुको घर गएर बसें।’ उनले गाउँकै केटाहरूसमेत लगाएर आफूमागि हातपात भएको बताइन्। उनले भपिन्, ‘बाबाले समेत यातना दिने क्रममा छातीमा धेरैपटक हात लगाउनुभएको छ । कुटाइ त कति खाएँ खाएँ।’

गाउँकै स्कुलमा पढ्दै गरेकी अपनासँगै परिवार काठमाडाैं पुग्यो। काठमाडौंमा पनि बाबा र सानिमाले खर्च हेरेनन्। आँसु झार्दै अपना भन्छिन्, ‘अरूले दिनभरिमा बोक्न नसक्ने २५ भारी इँटा मैले बिहानै दुई घण्टामा बोकेर १५ सय पारिश्रमिक बुझेर भाइबहिनीको चाहना पूरा गर्थें। उनीहरूले लाउन चाहेको र खान चाहेको कुरा किनिदिन्थें । काम गरेर पनि स्कुल पढ्थें।’

उनीहरू गाउँ फर्केको केही महिना मात्र भयो । गाउँ फर्केपछि पनि उनी फुपूकै घरमा बस्छिन्। मुक्लीस्थित वीरेन्द्रोदय माविमा कक्षा ७ मा पढ्ने उनले बाबाकै व्यवहारका कारण पढ्न सकेकी छैनन्। ‘कक्षा कोठामा पनि बाबाकै व्यवहारलाई सम्झेर टोलाउँदो रहेछु। सर, म्याडमले सोध्नुहुन्छ, यत्तिकै पुतली हेरेको भनेर टार्छु तर उहाँहरू पत्याउनुहुन्न,’ अपनाले भनिन्, ‘कान्छो भाइको ढाडमा कुटेर घाउ बनाएको दृश्यले बेस्सरी मन दुख्यो र मलाई लाग्यो, बाँच्न पाउने अधिकारका लागि बोल्नुपर्छ । त्यसपछि प्रहरीमा पुगें। प्रहरीले निवेदन मागेपछि विद्यालयमा गएर पेपर मागेर गाउँमै निवेदन लेख्न लगाएर निवेदन दर्ता गरें।’

‘सुरुमा वडाअध्यक्ष फुर्तिमान तामाङले पत्याउनुभएको जस्तो लागेन। भाइलाई लिएर आऊ भन्नुभयो। भाइको हालत देखेपछि बल्ल विश्वास लागेछ उहाँलाई पनि। त्यसपछि गाउँमै छलफल भयो,’ अपनाले भनिन्, ‘सुरुसुरुमा बाबाको इज्जत जाला भन्ने डरले नै बोलिनँ तर पछि जसरी पनि बोल्नुपर्छ लाग्यो बोलें ।’ भाइ संयोगको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको उनले जानकारी दिइन्।

बाबाको कुटाइ खाँदा पटकपटक बेहोस बनेका संयोग दिदीको साथमा खुसी देखिन्थे। संयोगलले भने, ‘दाइलाई र मलाई जुवामा नारेर बारीमा डल्ला फुटाउने खोपमा आफू चढेर हामीलाई लौरीले कुट्नुहुन्थ्यो, हामीले तान्न सक्थेनौं, कुटाइ खान्थ्यौं, रुन्थ्यौं अनि नसकेर बस्थ्यौं ।’ धेरैपटक उल्टो झुन्डाएर तलबाट खुर्सानीको धुँवा लगाएको दुखद भोगाइसमेत संयोगले बताए।

ठूली छोरी अपनाको उजुरीपछि बाबालाई न्यायिक समितिमा बोलाएर छलफल गरिएको थियो। छलफलको क्रममा बाबाले गल्ती स्विकारेको वडाध्यक्ष फुर्तिमान तामाङले जानकारी दिए । छोराको उपचार खर्च व्योहोर्ने, छारीहरूको खर्च पनि व्योहोर्ने गरी सहमति गरिएको तर गल्ती दोहोरिए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने अध्यक्ष तामाङको भनाइ छ। ‘बालबच्चाको अधिकारका लागि हामी लड्छौं,’ वडाध्यक्ष तामाङले भने।

जिल्ला अस्पतालमा भाइको उपचार गराइरहेकी अपना भन्छिन्, ‘अब बाबाको घर नफर्कने, के थाहा घटना बाहिर ल्याएको झोकमा हामी सबैलाई मारेर आफू मर्न पनि त सक्छन्,’ बलिन्द्रधारा आँसु झार्दै अपना थप्छिन्, ‘बरु म पढ्न छाडेर मजबुरी गरेर भए पनि भाइबहिनीलाई पढाउँछु। पछि त हेर्लान् नि !’ अहिले दिदीबहिनी फुपाजुको घरमा बस्दै आएका छन् भने एउटा भाइ बाबा र सानिमासँगै रहेको छ।

अभिभावकत्व स्थानीय सरकारले लिने

अपनाको उजुरीपछि घटना बाहिर आएसँगै गाउँपालिकाले पीडित बालबालिकाको शिक्षा र पालनपोषण खर्च व्योहोर्ने गरी अभिभावकत्व ग्रहण गर्ने जनाएको छ। बुधबार प्रमुख प्रशासकीय अधिकृत अविलाल राईद्वारा जारी विज्ञप्तिमा बाबुबाट मानवीय यातना र कुटपिटपछि घाइते संयोगको उपचारमा सहयोग गर्ने र अभिभावकत्व प्रदान गर्ने उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र पीडित बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्ने बताए।

प्रकाशित: १६ आश्विन २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App