coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोली हानेर चोर पक्राउ

जनकपुर - जनकपुरको बीच बजारमा सटर फुटाएर चोरीकार्यमा संलग्न चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान करिब साढे ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका उनीहरूलाई घटनास्थलबाटै प्रहरीले पक्रेको हो।

चोरहरूले सटर फुटाएर भित्र पसेको केही मिनेटमै प्रहरीको टोली त्यहाँ पुगेको थियो। जिल्लाको ग्रामीण क्षेत्रमा गस्तीमा निस्केको सादा पोसाकको प्रहरी टोली बिहान करिब साढे तीन बजे जनकपुर फर्केको थियो।

भानु चोक र शिव चोकको बीचमा सडक सुनसान थियो। जनकपुर फर्निसिङको सटर हल्का उठेको र भित्र बत्ती बलिरहेको देखेपछि शंका लागेर प्रहरीले गाडी रोकेर हे¥यो। सटर नजिकै गाडी रोकेर केही मानिसहरू पसलमा आउन लागेको चाल पाउने बित्तिकै चोरहरू निस्केर भाग्न थालेको त्यहाँ पुगेको प्रहरी टोलीका इन्चार्ज सई सन्तोष झाले जनाए।

‘भित्र पसेलगत्तै प्रहरी नै सम्झेर हुनसक्छ, उनीहरू फुत्त बाहिर निस्केर भाग्न थाले’, घटनापछि झाले नागरिकसँग भने, ‘दुई जना शिव चोकतर्फ र अर्का दुई जना भानु चोकतर्फ भागे। केही साथीहरू भानु चोकतर्फ भाग्नेलाई लखेट्न थाल्यौंं। म चाहिँ शिव चोकतर्फ दौडें। मुस्किलले ४५–५० मिटर दौडेको हुनुपर्छ, त्यसतर्फ भाग्ने दुई जना चोर एउटा गल्लीमा छिरे। एउटाले कुनामा पुगेपछि मलाई नै पेस्तोलले ताक्यो। तुरुन्तै मैले एक राउण्ड हवाइफायर गरें तर, ऊ भागेन। फेरि लगातार तीन राउण्ड गोली चलाएँ। ती सबै गोली उसको घुँडाको आसपासको भागमा लागेको रहेछ।’

गोली लागेपछि त्यहीं लडेका ती चोरलाई एक जनाले नियन्त्रणमा लिएपछि आफूले दौडेरै फेरि अर्को चोरलाई केही पर पुगेर पक्रेको उनले बताए। यता, भानु चोकतर्फ भाग्ने अर्का दुई जना चोरलाई प्रहरीले करिब दुई किलोमिटर पर पुलचोक नजिकबाट पक्राउ गरेको झाले बताए। गोली लागेकालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी शेखर खनालले बताए।

प्रहरीले पक्राउ गर्ने चार जनामध्ये दुई जना भारतीय नागरिक छन्। रौतहट, गौर निवासी ५५ वर्षीय विनोद सिंह, रौतहट, वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत विहारको सीतामढी जिल्लास्थित वैरगनीयाका ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्ला रिगा थाना पिपराढीका ४० वर्षीय इलियास राइन पक्राउ परेका हुन्। विनोदलाई गोली लागेको हो।

प्रकाशित: १० आश्विन २०७६ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App