श्रीराम सुवेदी
‘मानव हुनुको अर्थ के हो ?’ भनेर कसैलाई सोध्दा तुरुन्त उत्तर दिन सजिलो नहोला । एकछिन सोचेर हामी भनौंला– मान्छे अरु प्राणीभन्दा फरक छ।
६०–७० लाख वर्षअघि चारखुट्टेबाट दुईखुट्टे भएर हिँडन थालेको आदिम मान्छेले अहिलेसम्म आउँदा विकास र परिमार्जन अनि उसले अवलम्बन गरेको प्रविधि, भाषा निरन्तर उत्पादन र पुनरउत्पादन हुँदै आएको संस्कृति हो।
मानव अस्तित्वको लामो कालखण्डलाई अमेरिकी मानवशास्त्री हेनरी मोर्गानले सन् १८७७ मा प्रकाशित किताब एनसाइन्ट सोसाइटीमा सामाजिक विकासक्रमलाई तीन चरण–– सेभेजरी (हिंस्रक र अनियन्त्रित), बार्बरिजम (संस्कृति र सभ्यताविहीनता) र सिभिलाइजेसन (सभ्यता) – मा बाँडेका छन्।
सेभेजरी चरणमा आगो, धनुषकाँण र भाँडाकुँडाको प्रयोग, बार्बरिजममा जनावर पाल्ने, कृषि र धातुको प्रयोग र सिभिलाइजेनमा अक्षर र लेखनको सुरुवात भएको मोर्गानले उल्लेख गरेका छन्। सभ्यताको थालनी र विकासक्रममा उनको यो सिद्धान्तलाई सबैभन्दा बढी वैज्ञानिक मानिन्छ।
मानिसले जीवनयापनको क्रममा अवलम्बन गरेका धर्म, बोलीचाली, भाषा, रहनसहन, खानपान, कला, संगीत, प्रविधि तथा चाडपर्वले मानव संस्कृतिसँग सिधा सम्बन्ध राख्छन्। घुमन्ते सिकारी जीवनबाट १२ हजार वर्षअघि कृषिमा रुपान्तरण भएर एकठाउँमा बस्न थालेपछि मानव संस्कृति र स्वभावमा परिवर्तन आएको हो।
परिवारमा बस्ने र विभिन्न चुनौतीको सामना गर्न सामूहिक रुपमा सजिलो भएपछि मानवमा सामूहिक संस्कृतिको विकास भएको देखिन्छ। यो प्रसंग यहाँ किन सान्दर्भिक छ भने मान्छेबाट संस्कृति भन्ने वस्तु निकाल्यो भने उसमा के बाँकी रहला? निश्चित छ– हामी अन्य प्राणीसरह हुनेछौं। हाम्रो चेत, भाषा र हरेक स्थितिमा अनुकूलन हुन सक्ने शक्ति हराउने छ।
मान्छे जन्मदा केही नलेखिएको सफा स्लेट मानिन्छ। परिवार र समाजले त्यसमा सबै रङ विस्तारै भर्दै जान्छन् र हामी त्यही रङलाई अंगीकार गर्दै जान्छौं। त्यो जीवन पद्धति बन्छ। हामी त्यही समग्र सांस्कृतिक विरासतमा समाहित हुँदै जान्छौं। निश्चित संस्कृति हाम्रो पहिचान बन्छ। त्यही सांस्कृतिक विरासतको एउटा महŒवपूर्ण चाड हो– दसैं।
दसैं एउटा चाडमात्रै नभई हाम्रो सांस्कृतिक पहिचान हो। यो उत्सवले बहुसंख्यक नेपालीको जीवन, भोगाइ र संस्कृतिमा धेरै अर्थ राख्छ। भनिन्छ– यो अवधिमा गरिने शक्तिको उपासनाले मानिस र दैवी शक्तिको सम्बन्धलाई सुदृढ र गहिरो पार्छ।
वर्षभरको कामको मैजारोपछि किसानका लागि फुर्सदिलो समय, मौसमको हिसाबले पनि न त्यत्ति जाडो न गर्मी। मस्त खाना खाएर पनि मजासँग पच्ने, कपडा पनि हलुका तथा न्याना दुवै लगाउन सकिने, सबै हिसाबले दसैंका लागि यो शरद ऋतुबाहेक अर्काे विकल्प देखिन्न। यिनै अनेक आधारमा हाम्रा पूर्वजले यो चाडलाई यही वार्षिक क्यालेन्डरमा राखेको हुनुपर्छ।
यो पर्वले हाम्रा जीवनका अनेक पक्षलाई तरंगित पार्ने गरेको छ। यसको धार्मिक पक्ष त छँदैछ, यसले हाम्रो उपभोग संस्कृतिलाई पनि मुखरित गर्छ। दसैं आयो, खाउँला–पिउँला भन्ने पुराना भनाइले खुद्रा कारोबार र किनबेचलाई ह्वात्तै बढाइदिन्छ र समाजका सबै वर्गले आ–आफ्नो गच्छेअनुसार उपभोग्य सामान, खाद्यवस्तुमा खर्च गर्छन्।
बसाइँसराइ र अवसरको उपलब्धताले नेपाली समाज अहिले व्यापक रुपमा सहर केन्द्रित बनेको छ। दसैंलाई पनि सहरीकरणले छोएको छ। पछिल्ला वर्षमा विश्वव्यापीकरणको प्रभावका कारण बिलासी सामानको खरिद र घुमफिर दसैंका थप आकर्षण बनेका छन्।
आन्तरिक र बाह्य बसाइँसराइले नेपालको परम्परागत ग्रामीण समाज निश्चित सहर र विश्वको कुनाकुनामा पुगेको छ। ५० लाख नेपाली विदेशमा काम गर्न पुगेको अहिलेको अवस्थामा उनीहरुका परिवारजन अर्काे वर्ष त परिवारसँगै दसैं मनाउने योजनामा होलान्।
स्काइप र मेसेन्जरले उनीहरुलाई कम्तीमा आत्मीयताको अनभूति दिएकै छ। सामाजिक र आर्थिक पृष्ठभूमिको भएका यी परिवर्तनले दसैंलाई हेर्ने आधारभूत मान्यता फेरिएका छन्। सहरीकरणले ल्याएको ब्यस्तताबीच आफन्तसँगको भेटघाट र बसउठ घटेको छ।
विद्यमान आर्थिक असमानताले समाज जातिगत भन्दा पनि आम्दानीगत रुपमा गरिब, मध्यम र उच्च वर्गमा बाँडिएको छ। यसो हुँदाहुँदै पनि दसैंले आम्दानी स्तरमा असमान आफन्तलाई एक ठाउँमा ल्याउने गरेको छ। पारिवारिक कलह र मनमुटाव भए पनि वर्षमा एकपटक आउने दसैंमा सबै मिलेर पर्व मनाऔं भन्ने भावना सबैमा छ र दसैंले हाम्रो सामाजिक पुँजी निर्माण गरेको छ।
दसैं हिन्दु नेपाली मात्र होइन, गैरहिन्दुले पनि मनाउने गरेको पाइन्छ र यो हिसाबले दसैंले धार्मिक सौहाद्र्रता पनि बढाएको छ। धार्मिक विविधता र बहुजातीय परम्परा रहँदारहँदा पनि नेपाली समाजले हरेक धर्मका चाडपर्वलाई आत्मसात गरेको छ; क्रिसमसमा पनि ऊ रमाएको छ, ल्होसार र छठमा पनि रमेकै छ । सहरीकरण र विश्वव्यापीकरणले भूगोललाई निरर्थक बनाएको छ । नेपाल सांस्कृतिक विविधता भएको देश हो।
हाँ १२६ जातजाति र १२३ भाषा रहेको मानिन्छ। यी सबैका मौलिक परम्परा छन् र ती सबैको सम्मान र संरक्षण आवश्यक पनि छ। विभिन्न जातजाति र धर्ममा आस्था राख्नेहरु सँगसँगै रहँदाबस्दा रहनसहन र संस्कृतिमा समेत असर परेको छ। यसले एकअर्काको संस्कृतिप्रति आदरभाव बढाएको छ। यो पनि सामाजिक पुँजी निमार्ण नै हो।
दसैंमा उमारिने जमरा, निधारमा लगाइने टीकाका आफ्नै अर्थ, विशेषता र गरिमा छन्। रोटेपिङ हराउन लागे पनि लिंगेपिङ अझै छन्। दसैं बिदामा सँगै बसेर खाने र रम्ने पारिवारिकता र मित्रताको स्वाद उत्तिकै मिठो छ। त्यसैले यो उमंग र खुसीको रक्तसञ्चार गर्ने पर्व हो, सामाजिक र सांस्कृतिक पुँजी निर्माणको अमूल्य अवसर।
हामी कहिलेकहीँ भन्छौं– हिजोआज दसैं फेरिएको छ। सही हो। दसैं हाम्रो संस्कृतिको अभिन्न अंग हो। जब संस्कृति आफैंमा स्थिर विषय होइन र परिवर्तनशील हो भने संस्कृतिको एक अंग बनेको दसैं पनि स्थिर रहने कुरा आएन, यो फेरिएको छ। हाम्रो सामाजिक र आर्थिक पृष्ठभूमिमा आउने परिवर्तनसँगै यो पनि फेरिँदै जानेछ। आउनुस्, त्यही परिवर्तनशील दसैंलाई यस वर्षका लागि हाम्रो घर–आँगनमा आउनुस्, दसैं भित्र्याऊँ।
प्रकाशित: ९ आश्विन २०७६ ०६:५४ बिहीबार