१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बगर बनेको १४ बर्षपछि धान फल्यो

बाढीले बगाएको बगरमा १४ बर्षपछि स्थानीय बजिर साउदको खेतमा फलेको धान ।

डडेल्धुरा– बाढीले बगाएको १४ बर्षपछि बगरमा खेतीपाती गर्न थालिएको छ। २०६४ को बाढीले तीन सय ६४ परिवारको हजारौ रोपनी जमिन छिन भरमै बगर बनाएको थियो। खोलामा तटबन्धको काम शुरु भए पछि बाढीले विस्थापित स्थानीयहरुले बगरमा फर्केर खेतीपाती गर्न शुरु गरेका छन्। 

भित्रिमधेश जोगबुडाको सिमलखेतमा विस्तापित स्थानीयहरु अहिले बगरमा आ–आफ्नो जमिन खोज्दै खेतीपाती गर्न थालेका छन्। पन्तुरा खोलामा तटबन्ध निर्माण भएपछि परशुराम नगरपालिका ६ सिमलखेतका स्थानीय जंगल छोडी बगरमा आफ्नो जमिन खोज्दै पहिलो पटक धान समेत रोपेका छन्। 

पन्तुरा खोलाको बाढीले २०६४ मा घर जमिन बगाएपछि सिमलखेतका यी परिवार विस्तापित भई जंगल पसेका थिए। तटबन्ध निमार्णको काम सुरु भएपछि यस बर्ष विस्तापित भएकाहरु जंगलबाट बगरमा फर्किंदै खेतीपाती गर्न थालेका छन्। बाढीले बगाएपछि पहिलो पटक बगरमा जमिन सम्याउदै ढुङ्गा पन्छाई मलपर्साे गरी स्थानीयले धान रोपेका थिए। १४ बर्ष पछि आफ्नो बारीमा धान फलेको स्थानीय बजिर साउदले बताए। 

‘सरकाले तटबन्धका लागि बजेट दियो। तटबन्ध लगाई सकेपछि बगरलाई हामीले खेत बनायौं’, उनले भने, ‘ढुङ्गा मुडा फाल्यौं। अहिले खेत बनाएपछि धान लागेको छ। घर टहरा पनि बनाएर बगरमा बस्दै आएका छौं।’

तटबन्ध दिगो हुनुपर्ने उनको माग छ। तटबन्ध पछाडि पनि बोटविरुवा रोपेर वृक्षारोपण गर्न पाए राहत हुने उनले बताए। विस्तापितहरुको अहिले पुनःस्थापना भइरहेको भए पनि तटबन्ध दिगो बनाउन सरकारले ध्यान दिनु पर्ने उनले बताए। 

सरकारले गुरु योजना सञ्चालन गरी तटबन्धको काम भएपछि आफूहरुले खेतीपाती गर्न पाएको स्थानीय चन्द्र बहादुर बुढाले बताए। ‘तटबन्ध लगाइएपछि बल्ल केही सास पलाएको छ’ उनने भने, ‘अब केही हुन्छ की, बगर बनेको आफ्नै जमिनमा खेतीपाती गरी बस्न सक्छौ कि भन्ने लागेको छ।’ बाढीबाट विस्तापित भई जंगलमा बसेकाहरु सबै बगरमा आफ्नो जमिन खोज्दै आउन थालेको उनले बताए। 

‘पोहोरदेखि ढुङ्गा मुडा पन्साएर मेहनत गरिरहेका छौं।’ स्थानीय कलशा बुढाले भनिन्, ‘तटबन्ध परेकाले केही काम गर्न पनि पायौं, आफ्नो जमिन बनाउन पनि पायौं, अहिले धान, तिल लगाएका छौं। अब खेतको जस्तो त बगरमा के फल्थ्यो, अलि अलि फलेको छ। मेहनत गर्दै गए अबका दुई चार बर्षमा खेत बन्ला।’

बाढीले घर खेत बगाएपछि जंगलमा निमुखा भई बसेको स्थानीय केशव थापाले बताए। दुई बर्षयता बगरका ढुङ्गामुडा पन्छाई खेतीपाती, पशुपन्छी पालन संगै घरटहरा पनि बनाउन स्थानीय जंगल छोडी आउने गरेको उनले बताए। १४ बर्ष पछि आफ्नो जमिनमा पाइला टेकी खेतीपाती गर्न पाउँदा खुसी लागेको उनले बताए। 

साविकको जोगबुढा गाविस २ सिमलखेतमा पन्तुरा खोलामा आएको बाढीले घर खेत बगाएपछि स्थानीयको हजारौ रोपनी जमिन छिनमै बगर बनेको थियो। ज्यान जोगाउन स्थानीय सिमलखेतबाट माथि अग्लो भाग पहाडको जंगल छिरेका थिए। अहिले पनि कतिपय स्थानीय जंगलमै बस्न बाध्य छन् भने कतिपय बगरलाई फेरि समसम्याई सिमल खेतमा झर्दै छन्। 

बाढीले बगाएको ११ बर्षपछि २०७४ मा पन्तुरा खोलाको कटान रोक्न सरकारले तटबन्ध लगाउने काम गरेकाले स्थानीय बगर पन्छाई खेती किसानीसंगै बस्ती बसाउन लागेका हुन् । 

प्रकाशित: ८ आश्विन २०७६ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App