११ आश्विन २०७७ आइतबार
समाज

सांकेतिक भाषा सिकाउँदै ‘खैलाबैला’

कठमाडौं - अध्याँरो मञ्चको मध्य भागमा प्रकाशको उज्यालोसँग ९÷१० वर्षकी जुनेली खेलौनासँग खेल्न तलिन छिन्। उनकी आमाले पटक–पटक उनलाई बोलाउँछिन्। तर, खेल्न तलिन जुनेली –विनिता थापा) ले कुनै प्रतिक्रिया नदिइकन एक सुरमा खेलिरहन्छिन्। छोरी जुनेली सुस्तश्रवण भएको संकेत पाएर आमा भावविह्वल हुन्छिन्। यो दृश्य राजधानीको जमलस्थित नाचघरमा मञ्चन भएको नाटक ‘खैलाबैला’को हो।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताह २०७६ को अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालको नाटक मञ्चन गरेको थियो। सुस्तश्रवणको समस्या समाधान गर्न धामी र झाँक्रीले जिब्रो काट्ने प्रथालाई नाटकमा देखाइएको थियो। नाटक मञ्चनपश्चात नाटककी मुख्य पात्र विनिता सांकेतिक भाषामा कुरा गरिरहेकी थिइन्। सुस्तश्रवण भएकी उनले पहिलो पटक नाटकमा अभिनय गरेकी थिइन्।

‘सुस्तश्रवण भएका व्यक्तिको समस्या सामान्य मानिसले बुझ्न सक्दैनन्। त्यसैले नाटकमार्फत आफूजस्ता सुस्तश्रवण भएकाहरूको अनुभवबारे सबैलाई जानकारी गराउन आफैंले अभिनय गरेकी थिएँ,’ उनले भनिन्। नेपाली समाजमा शारिरिक रुपमा अशक्त भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको अनुभव उनले दोभासेमार्फत व्यक्त गरेकी थिइन्।

सुस्तश्रवण भएका व्यत्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरुले भोगेको पीडालाई आधार मानेर कथा लेखेको दाबी नाटकका कथाकार नरबहादुर बिसीले गरे। उनका अनुसार नेपालमा सुस्तश्रवण भएका व्यत्तिहरुको लागि सांकेतिक भाषा र त्यसले उनीहरुलाई दिने सफलताको बारेमा जनमानसमा जानकारी गराउन नाटक तयार गरिएको थियो।

‘नेपाली समाजमा सुस्तश्रवण भएका व्यक्तिहरुले सुन्न र बोल्न नसकेमा पहिलो जन्मको पापसँग तुलना गरेर पाप पखाल्न धामी र झाँक्रीकोमा लगेर जिब्रो काट्नेसम्मको हानिकारक परम्परा रहेको छ। नाटकको कथा पात्रहरुलाई बुझाउन केही समय लागेको थियो,’ उनले भने। सबिर चुरौटले निर्देशन गरेको नाटकमा सुस्तश्रवण भएका व्यक्तिहरूले अभियन गरेका थिए। ‘सुस्तश्रवण भएका व्यत्तिका लागि सांकेतिक भाषा महत्वपूर्ण मानिन्छ। सांकेतिक भाषा सिकेर सामान्य मानिसले सुस्तश्रवण भएका व्यक्तिहरुसँग अन्तक्र्रिया गर्न सक्छन्,’ निर्देशक चुरौटले भने। उनका अनुसार कलाकारहरूसँग नाटकको रिहर्सलको दौरान अन्तरक्र्रिया दोभासोले साथ दिएपनि सांकेतिक भाषा सिक्ने अवसर पाएको बताए।

‘आवाजबिहीनको आवाजको रुपमा यो नाटक उपयुक्त माध्यम भएकाले मञ्चन गरिएको थियो। सुस्तश्रवण भएका मानिसले भोग्नुपरेको समस्यालाई नाटकको कथावस्तु बनाइएको थियो, ’राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केदारप्रसाद अधिकारीले भने, ‘सुस्तश्रवण भएको मानिस र यसप्रति समाजमा रहेको अन्धविश्वासलाई न्यूनिकरण गर्न नाटक तयार गरिएको थियो। सांकेतिक भाषाले सुस्तश्रवण भएका व्यक्तिहरुलाई अवसर प्रदान गर्नेछ भन्नेमा आशावादी छौं।’

प्रकाशित: ८ आश्विन २०७६ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App