६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अभिभावकको हत्या हुँदा परिवारका ६ जनाको बिचल्ली

म्याग्दी - जिल्लाको मालिका गाउँपालिका–२ रुम खवाङकी सन्तकुमारी दर्जीको आँखा अझै ओभाएका छैनन्। गत भदौ १९ गते राती मदिरा सेवन गरेका तीनजना युवाले सुतिरहेको अवस्थामा घरमै आएर कुटपिट गर्दा उनका श्रीमान् मोतीप्रसादको मृत्यु भएपछि उनी नाबालक छोराछोरीसँगै भक्कानिन्छन्।

दुई छोरा र तीन छोरीको आमा सन्तकुमारीलाई श्रीमानको मृत्युको पीडासँगै छोराछोरीको शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोल्न थालेको छ। भत्किन लागेको घर, बिहान–बेलुकी दुई छाक जुटाउन आरा मेसिन चलाएर गुजारा चलाइरहेका मोतीप्रसादको हत्याले परिवारको बिचल्ली भएको छ। ज्यालामजदुरी गरी ठूलो परिवार धान्दै आएका श्रीमान्को हत्यासँगै पाँच छोराछोरीको लालनपालनको एक्लो अभिभाराले उनलाई पिरोल्न थालेको छ।

आर्थिक अभावकै कारण छोराछोरीले गाउँकै सामुदायिक विद्यालयमा समेत नियमित पढ्न नपाइरहेको अवस्थामा शैक्षिक सामग्री, पोसाकलगायत आवश्यक खर्च जुटाउन नसक्नेमा अब शिक्षादिक्षाको कुराभन्दा पनि हातमुख जोड्नसमेत नसक्ने अवस्थामा पुगेको सन्तकुमारी बताउँछिन्। ‘कमाउने मान्छे गएपछि छोराछोरीको चिन्ताले सताइरहेको छ’ उनले भनिन्।

ओड्ने–ओच्छाउने लुगा तथा अँगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा पतिको हत्याले उनले थप पीडा दिएको छ। ‘परिवारको अवस्था नाजुक छ, ‘छोराछोरीको पढाइले निरन्तता पाउने अवस्था छैन,’ आफन्त याम दर्जीले भने। उनले घर खर्चको अभावमा आफन्तले जुटाएर केही सहयोग गरे पनि निरन्तर सहयोगको आवश्यकता रहेको बताए।

यस्तो थियो घटना
मादक पदार्थ सेवन गरी लट्ठ परेका रुमका ओमकार बुढाथोकी, नेत्र पुन र नवीन बुढाथोकीले भदौ १९ गते मध्यरातमा घरमै पुगेर मोतीप्रसादमाथि घरेलु हतियार, हात र लात्तीले कुटपिट गरेका थिए। मृतकका आफन्तले दिएको जानकारीअनुसार दुईवटा बोतलमा रक्सी लिएर गएका उनीहरूले सुतिरहेको अवस्थामा उनीमाथि कुटपिट गर्दा उनको मुखबाट रगत बगेको, दाहिने कोखा र टाउकोको देव्रे भागमा रगत जमेको र आन्द्रा कालो तथा टाउको र मुटुमा गम्भीर असर देखिएको थियो।

लगातारको कुटपिटपछि अचेत भएका मोतीप्रसादलाई प्राथमिक उपचार केन्द्र दरबाङ ल्याउने तयारी गरिएको अवस्थामा घटना सार्वजनिक हुने जोखिमले गाउँकै स्वास्थ्य चौकीमा उपचारको प्रयास गरिएको थियो। भदौ २० गते दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि बेनी अस्पताल हुँदै पोखरा लगिएको थियो। घटनालाई दबाउने प्रयास गरिएकाले समयमै दर्जीको उपचार हुन नसकेको देखिन्छ।

घटना भएकै राति उपचारका लागि ल्याउन नसक्नु, समयमै पोखरासम्म लैजान नसक्दा टाउकोमा रगत जमेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुन्धानले देखाएको छ। कुटपिटलगत्तै अस्पताल नल्याएको हुँदा मृत्यु भएको चिकित्सकको भनाइ छ। लेनदेन तथा आर्थिक प्रलोभन देखाएपछि सामाजिक सञ्जालमार्फत आक्रोश पोख्न थालिएपछि घटना सार्वजनिक भएको थियो।

प्रकाशित: ७ आश्विन २०७६ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App