१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुलेर वहस गर्छन् किशोरी

रुपान्तरण कक्षामा सहभागी किशोरीहरु। फोटो: दिनेश/नागरिक

रोल्पा - हरेक शनिवार रोल्पाका विभिन्न गाउँ टोलमा किशोरीहरु भेला हुन्छन्। अन्तरक्रियात्मक छलफल गर्छन्। आफ्नो आवस्यकता, समस्या र गर्नहुने तथा नहुने गतिविधिका बारेमा खुलेर कुरा गर्छन्। यसबाट उनीहरुमा बोल्ने बानीको विकाससंगै क्षमतमा पनि विकास भइरहेको छ। जिल्लाका विभिन्न ठाउँमा संचालन भइरहेका किशोरी कक्षामा बालविवाह न्यूनिकरण, आर्थिक बचत, घरेलु हिंसा, अनुशासनका कुराहरुमा बढी छलफल हुनेगरेको छ।

सुनिलस्मृती गाउँपालिका २ खुंग्रीमा रहेको चेतनशिल किशोरी समूहका किशोरीहरुलाई रुपान्तरण कक्षाले जीवनका धेरै पाठ सिकाएको छ। ‘बालविवाह गर्नु हुदैन भनेर बुझेका छौ। खर्च बचत गर्न सिकेका छौ। अनुशासन, आत्मजागरण र सामाजिक कार्यका सवालहरु चिन्न थालेका छौ।’ किशोरी बर्षा परियारले भनिन् ‘हामीले यहाँ छलफल गरेका कुराहरु घरमा र साथीहरुसंग पनि छलफल चलाउछौ।’

३६ हप्तासम्म हरेक शनिबार दुईदेखि तिन घण्टा गरिने अन्र्तक्रियात्मक सिकाइले किशोरीहरुको क्षमतामा उल्लेख्य विकास भएको छ। किशोरीहरुमा सुरु गरिएको रुपान्तरण कक्षाले जिल्लामा बढिरहेको बालबिवाह न्यूनिकरणमा सजिलो भएको छ। ‘अहिले हाम्रो गाउँमा बालबिवाह रोकिएको छ। हामीले साथिहरु र अभिभावकलाई पनि सल्लाह सुझाव दिने गरेका छौ।’ किशोरी बिषाखा परियारले भनिन् ‘यसले हाम्रो औपचारिक शिक्षालाई पनि सहयोग गरेको छ।’

लक्ष बिनानै अगाडि बढिरहेका किशोरीहरुले रुपान्तरण कक्षामा आउन थालेपछि जीवनको लक्ष निर्धारण गरेको बताए। ‘सबै किशोरीले आफ्नो जीवनको लक्ष निर्धारण गरेका छन्। जसबाट उनीहरुलाई अगाडिको यात्रा तय गर्न सघाउ पुग्ने छ।’ सहजकर्ता हेमा बिष्टले बताइन्। उनकाअनुसार १३ हप्ताको बसाइमा किशोरीहरुले धेरै कुरा बुझिसकेका छन्। उनीहरु सकारात्मक बिषयमा खुलेर बहस गर्न सक्ने भएका छन।

किशोरी शिक्षाको कक्षा संचालन र उनीहरुको आनीबानी नजिकबाट नियालेका जनप्रतिनिधि पनि दंग छन्। ‘हाम्रो गाउँका किशोरीहरु बुझ्ने र सभ्य भएका छन। यिनिहरुको सकारात्मक क्रियाकलाप र पहलले बालबिवाह जस्तो जटिल समस्या पनि सहज बन्दै गएको छ।’ सुनिलस्मृती गाउँपालिका २ का वडा अध्यक्ष नेत्र गिरिले भने ‘हामी स्थानीय तहबाट पनि शिक्षाका सवालमा सधै सकारात्मक भएर लागि रहेका छौ। कोहि पनि आर्थिक अभावमा पढाई छोड्नु पर्ने अवस्था आउन दिदैनौ।’ औपचारिक भन्दा पनि व्यवहारीक छलफल हुने यि कक्षाहरुप्रति अभिभावक पनि सकारात्मक बनेको किशोरीहरु बताउँछन्।

संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले विभिन्न २० ठाउँमा कक्षा संचालन गर्दै आएको छ। एउटा टोलका ३० जना किशोरी रहने कक्षामा एक जना सहजकर्ताले सहजिकरण गर्छन्। नेपाल सरकारले प्रकाशन गरेको रुपान्तरण पुस्तकका सन्र्दभ सामाग्री पढाइने यि कक्षाहरु यो भन्दा पहिले २२ ठाउँमा सम्पन्न भइसकेको छ। युएनएफपीएका खगेन्द्र भट्टका अनुसार किशोरी शिक्षामा रोल्पाका स्थानीय सरकारले पनि चासो दिन थालेका छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App