१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

काठमाडौं – सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा शुक्रबार आयोजना गरिने सबै औपचारिक एवं अनौपचारिक कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिती अनिवार्य गरेको छ ।

गृह मन्त्रालयले देशभरका सरकारी निकायलाई पत्राचार गर्दै संविधान दिवसका एवं राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने अनौपचारिक तथा औपचारिक कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

योसँगै कर्मचारीले नियमित हाजिरका अतिरिक्त कार्यक्रममा उपस्थित भएपछि अनिवार्य रुपमा छुट्टाछुट्टै हाजिर गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

गृहको निर्देशनपछि सबै मन्त्रालयले माताहतका कार्यालयहरुलाई पत्र लेख्दै संविधान दिवस मनाउन निर्देशन दिएका छन् । मन्त्रालयको निर्देशनपछि अब सबै मन्त्रालय र माताहतका कर्मचारीहरु संविधान दिवसको दिन आयोजना गरिएको प्रभातफेरी, कार्यालय सरसफाई लगायतका अनौपचारिक र औपचारिक समारोहमा उपस्थित हुनुपर्नेछ । उपस्थित भएपछि सम्वन्धित निकायले आआफ्ना निकायको छुट्टाछुट्टै हाजिरी समेत सुरक्षित राख्नुपर्नेछ ।

त्यसका अतिरिक्त सबै प्रदेश, स्थानीय तह र जिल्लास्थित सरकारी कार्यालयहरुले समेत संविधान दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम गर्न मन्त्रालयले निर्देशन दिएको छ । विगतमा सरकारले आयोजना गरेका विभिन्न कार्यक्रम, समारोहमा सरकारी कर्मचारी नै अनुपस्थित हुने देखिएपछि यस पालीदेखि मन्त्रालयले कर्मचारीलाई समारोहमा कार्यक्रममा उपस्थित भएपछि छुट्टै हाजिर गर्न अनिवार्य गरेको हो ।

सरकारले यस वर्षदेखि गणतन्त्र दिवस, लोकतन्त्र दिवस, प्रजातन्त्र दिवसमा दिँदै आएको बिदा कटौती गरि संविधान सभामार्फत संविधान जारी भएको असोज ३ गतेलाई संविधान दिवसका अतिरिक्त राष्ट्रिय दिवसका रुपमा मनाउन सुरु गरेको हो । संविधान दिवसका अवसरमा सरकारले घर घरमा राष्ट्रिय झण्डा फहराइ दिपावली गर्न समेत नागरिकहरुलाई आह्वान गरेको छ ।

प्रकाशित: ३ आश्विन २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App