७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

डेंगी र स्क्रब टाइफसले ३ को मृत्यु, उपचारमा समस्या

धनगढी– घोडाघोडी नगरपालिका– २ साढेपानीका ३९ वर्षीय धनीराम सदगवा चौधरी टाउको दुख्ने र ज्वरो आउने भएपछि गत शनिबार नजिकैको क्लिनिकमा गए। क्लिनकमा वस्ने अहेवले उनलाई टाईफायड भएको भन्दै औषधी दिए। उनको ज्वरो आउने, टाउको दुःख्ने, हाटखुट्टा दुख्ने निको नभएपछि पुन उनी क्लिनिकमा पुगे।

क्लिनिकको अहेवको सुझाव अनुसार उनी धनागढी स्थित निसर्ग अस्पतालमा आएर उपचारार्थ भर्ना भएका छन। ‘सोमवार देखि अस्पतालमा भर्ना भएर उपचार गराईरहेको छु’ उनले भने, ‘अहिले सम्म १५ हजार खर्च भइसक्यो, गरिव मान्छे पैसा छैन। अझै कति खर्च लाग्ने हो थाह छैन।’

निधारबाट टाउको दुख्न शुरु भएर पछाडी सम्म पुग्ने, आँखाको भित्री भाग दुख्ने, हातखुट्टाको जोर्नी दुख्ने र ज्वरो नथाक्ने लक्षण रहेको उनी बताउछँन। यसैगरि भारतमा मझदुरी गर्ने गरेका घोडाघोडी नगरपालिका साढेपानी २ कै रमेश चौधरी भदौको पहिलो साता घर फर्के।

घर फर्केको केही दिनमै उनी पनि बिरामी परे। घोडाघोडी बजारको क्लिनिककै सुझावमा उनी पनि धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारार्थ भर्ना भए।

‘करिव एक साता उपचार पछि डेंगी रोग निको भएको छ’ उनले भने,‘बिराम निको भएपनि भारतमा मझदुरी गरि बर्षभरी कमाएको पैसा सकियो।’ उपचारमा ४२ हजार रुपैयाँ सकिएको उनले सुनाए।

यसैगरि मायो मेट्रो अस्पतालमा कंचनपुर महेन्द्रनगरबाट आएका कमला चन्द डेंगी रोग संक्रमति आफ्नो दुई बर्षे छोरी रितिमा चन्दको उपचार गराइरहेकी छन। दुई दिन देखि छोरीको उपचार गराईरहेकी छुँ’ उनले भनिन्,‘अहिलेसम्म १० हजार खर्च भइसकेको छ, बेड र अन्यको पैसा दिनु बाँकी छ।’

यी प्रतिनिधी उदाहरण मात्र हुन्। सुदुरपश्चिममा भयाभह रुपमा फैलिरहेको डेंगुको संक्रमणका बिरामी सरकारी श्वास्थ्य संस्थाको प्रभावकारी पहल हुन नसक्दा निःशुल्क हुनुपर्ने उपचार महंगोमा गर्न वाध्य छन।

धनगढीका निसर्ग, मायामेट्रो, नोभा, नवजिवन लगायतका प्राइभेट अस्पतालमा डेंगी रोगका बिरामीले उपचार गराउने गरेका छन। यि अस्पतालमा ५, ६ जनाका दरले डेंगी बिरामी उपचार गराउन आएको अस्पतालका कर्मचारीले बताएका छन।

निःशुल्क उपचारबारे अनभिज्ञ

सरुवा रोगको रुपमा रहेका डेंगी, स्क्रव टाईफस, सिकल सेल एनिमियाको उपचार सेती प्रादेशिक अस्पताल लगायतका सरकारी श्वास्थ्य संस्थामा निःशुल्क हुने गर्दछ। सरकारी निकाय र स्वास्थ्यसम्वन्धि संघसंस्था तथा स्थानीय तह र जनप्रतिनिधिले सर्वसधारणसम्म जानकारी पुर्याउन नसक्दा आर्थिक अवस्था कमजोर भएकाले पनि महंगो उपचार गराउन वाध्य छन।

‘निशुल्क उपचार हुन्छ भन्ने मलाई थाह छैन। डेंगी खतरनाक रोग हो, यस्को राम्रो उपचार प्राइभेट अस्पतालमा हुन्छ भनेर क्लिनिकका डाक्टर सावले भनेकाले यहाँ आएको हुँ’ निसर्गमा उपचार गराईरहेका चौधरीले भने,‘कर्जा सापट गरेर उपचार गर्न आएको हुँ।’

सुदुरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा डेंगीको जाँच र उपचार भरपर्दो र निःशुल्क हुने गर्छ। तर यहाँ डेंगुको संक्रमण लागेर आउने बिरामीको संख्या न्यून छ । अस्पतालमा मेडिकल वार्डका दिलिप कुमार श्रेष्ठले अहिलेसम्म २ जना मात्र डेंगीका बिरामी आएको बताए।

‘निःशुल्क र भरपर्दो उपचार हुने सेती प्रादेशिक अस्पतालमा २ जना बिरामी आउनु र अन्य प्राईभेटमा बिरामी भरिनु आश्चर्यजनक कुरा हो’ एक स्वास्थ्यकर्मी भन्छन, ‘यसले डेंगी नियन्त्रणका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, जनप्रतिनिधिी स्थानीय तह गम्भीर नभएको देखिन्छ।’

समाजिक बिकास मन्त्रालकाय सूचना अधिकारी हेमराज खड्का प्रचार प्रसार गरेर सवैलाई जानकारी गराउने काम भइरहेको भएपनि सरकारी अस्पतालमा नआएर निजीमा उपचार गराउनुको कारण बुझन नसकेको बताएका छन।

डेगी र स्क्रब टाइफसले ३ को मृत्यु, १ सय ७८ संक्रमित

सुदुरपश्चिममा भयाभह रुपमा फैलिएको डेंगी र स्क्रव टाईफसबाट ३ को ज्यान गएको छ भने १ सय ७८ संक्रमित भएका छन। तराईका दुई जिल्ला कैलाली र कंचानपुरका साथै पहाडी ६ जिल्लामा पनि डेंगीको संक्रमण फैलिएको छ। 

बाजुरा जिल्ला बाहेक सुदुरपश्चिमका ८ जिल्लामा डेंगीको संत्रमण ५२ जनामा देखिएको छ। त्यस्तै स्क्रब टाईफस १ सय २६ जना देखिएको छ। डेंगीले १ र स्क्रव टाईफसले २ जना गरि ३ को ज्यान गइसकेको छ।

हालसम्म कैलालीमा २५, कञ्चनपुरमा ९ , दार्चुलामा ९, डोटीमा २, डडेल्धुरामा ३, बझाङमा १, बैतडीमा १ र अछाममा २ जनामा डेंगुको संक्रमण देखिएको छ।

यता डडेल्धुरामा ५२, बैतडीमा १८, कैलालीमा ३६, डोटीमा ५ तथा कञ्चनपुर ८,  दार्चुला २ र बझाङ ५ जनामा स्क्रब टाईफस देखिएको छ।

फोहोर पानी जम्नाले ५, ६ दिनयता डेंगीको रोगको संक्रमण बढी फैलिएको समाजिक मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की बताउछँन।

प्रकाशित: २ आश्विन २०७६ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App