१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिक्षा सुधारका लागि घोषणा–पत्र

तेह्रथुम - सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अंग्रेजी माध्यमलाई प्राथमिकतामा राख्नुपर्ने तेह्रथुमको म्याङलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। म्याङलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक शिक्षा सबलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरूले विश्वलाई जोड्ने भाषा अंग्रेजी नै भएकाले सबै सरकारी विद्यालयमा अनिवार्य अंग्रेजी माध्यम लागू हुने आवश्यकता अाैंल्याएका हुन्।

कार्यक्रममा कार्यक्रम नगर शिक्षा समितिका संयोजक म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले शिक्षा क्षेत्रमा म्याङलुङ नगरपालिकाले आमूल परिवर्तनका लागि पहल गर्ने बताएका छन्। भेलाले २२ बुँदे कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा परिवर्तन गर्ने कार्य सुरु गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति नगरपालिकाले शिक्षा नीति तयार पारिसकेको जानकारी गराउँदै मेयर तुम्बाहाङफेले चालु आर्थिक वर्षदेखि नै नगरपालिकाभरका विद्यालयहरूमा गणित र विज्ञान विषयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिने घोषणा गरे।

कार्यक्रममा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई जोड, शिक्षकहरूलाई तालिमको व्यवस्था, कम्प्युटर शिक्षा तथा सूचना र प्रविधिमा जोड, सेवा अवधि २० वर्ष पुगिसकेका शिक्षकहरूलाई अवकाश, सिसी क्यामेरा जडान, ई–हाजिरी रिपोर्टका आधारमा तलब निकासी, नमुना विद्यालयको अनुगमन भ्रमणलगायतका बँुदाहरू उल्लेख गरिएको छ।

राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि प्रतिफल शून्य भएकाले सरकारी विद्यालयप्रतिको मोह घट्दै गएको सरोकारवालाले चिन्ता गरेका छन्। सम्बन्धित निकाय जिम्मेवार नभएपछि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्कँदै गएको अभिभावकहरूले आरोप लगाएका छन्। शिक्षा क्षेत्रमा अरबौं खर्च भइरहे पनि नतिजा र गुणस्तर हेर्दा समुदायिक विद्यालयभन्दा राज्यको एक रुपैयाँ पनि लगानी नभएको निजी विद्यालय नै अग्रस्थानमा छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेकोमा शिक्षकहरूकै कमजोरी रहेको धेरैको आरोप छ।

समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, विद्यालय समयमा गाउँको भोज–भतेरमा जाने, लामो बिदा बस्ने, कक्षाकोठाभित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने तथा इन्टरनेट चलाएर बस्ने शिक्षकहरूको प्रवृत्तिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू कमजोर बन्दै गएको म्याङलुङ नगरपालिका–९ साब्लाका अर्जुन काफ्लेले गुनासो गरे। सामुदायिक विद्यालयमा शिक्षकको अटेरीका कारण कक्षाकोठामा नियम उल्लंघन गर्ने प्रवृत्तिले शैक्षिक गुणस्तर बढ्नुभन्दा झन् खस्कँदै जान थालेको अधिकांश अभिभावकको दुखेसो छ।

सामुदायिक विद्यालयको स्तर खस्कँदै जानु र विद्यार्थी अनियमितता समेत बढ्दै जानुमा शिक्षक, अभिभावक र सरकारी निकाय सबै समान रुपमा जिम्मेवार रहेकोले सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने शिक्षा विकास समन्वय एकाइ तेह्रथुमका प्रमुख लीलानाथ पोख्रेलले बताए। विद्यालयको गुणस्तर घट्नुमा शिक्षक, अभिभावक र अनुगमन गर्ने निकायको दोष बराबरकै भएकोले सबै नसच्चिएसम्म गुणस्तर राम्रो नहुने पोख्रेलको भनाइ छ। राष्ट्रिय योजना आयोगले तयार पारेको योजनामा सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यका निम्ति गुणात्मक शिक्षा सुनिश्चित गर्ने उल्लेख छ। कार्यक्रममा सहभागीहरूले व्यावहारिक र प्राविधिक शिक्षामा समेत जोड दिएका थिए। २८ वटा सामुदायिक विद्यालय हरेको म्याङलुङ नगरपालिकाभरमा २ सय २३ शिक्षक दरबन्दी रहेको छ भने ३ हजार २ सय ५२ विद्यार्थी अध्ययनरत छन्।

६ वटा स्थानीय रहेको तेह्रथुममा हरेक आर्थिक वर्षमा करिब १ अर्ब शिक्षा क्षेत्रमा बजेट विनियोजन हुँदै आएको छ। २ सय २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको तेह्रथुममा १३ सय २३ जना शिक्षकको दरबन्दी छ। निजी विद्यालय भने २६ वटामात्रै सञ्चालनमा छन्। तर विद्यार्थीको कुल संख्याको ३० प्रतिशतमात्र सामुदायिक विद्यालयमा अध्ययनरत छन्।

प्रकाशित: ३० भाद्र २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App