११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

वायुसेवा कम्पनीले १० प्रतिशत छुट दिने

काठमाडौँ- नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन्। वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो।     

नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने सामान्य भाडामा यस्तो छुट दिन लागिएको हो। वायुसेवा कम्पनीले पछिल्लो समय धमाधम जहाज भित्र्याइरहेकाले आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीको दाबी छ।     

आन्तरिक उडान गर्ने ठूला कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले क्रमशः जहाज थपेका छन्। बुद्धले शनिबार मात्रै जहाज थपेर सङ्ख्या १३ पुर्‍याएको छ।

यती एयरलाइन्सले दुई साताअघि एटिआर जहाज भित्र्याएको थियो। श्रीले पनि हालै जहाज थपेको छ। सीताएयरले थप जहाज ल्याउने तयारी गरेको छ। हरेक वर्ष महत्वपूर्ण चाडपर्वका बेला यात्रुले टिकट नपाएर सास्ती बेहोर्दै आएका छन्। यात्रुको चाप अनुसार उडान सङ्ख्या थप्ने पनि वायुसेवा कम्पनीको योजना छ।

आन्तरिक उडानमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।रासस

प्रकाशित: २९ भाद्र २०७६ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App