१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शव मलेसियामै वेपत्ता भएपछि चार वर्षमा काजकिरिया

खोटाङ– मलेसियामा मृत्यु भएको चार वर्ष वित्दासमेत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङ भदौरेका दिलबहादुर मुग्रातीको शवको अत्तोपत्तो नभएपछि परिवारले काजकिरिया गरेका छन्। 

२०७२ साल भदौ ३० गते मलेसियामा ज्यान गुमाएका मुग्रातीको शव मलेसियामै बेपत्ता भएपछि परिवारले जातीय परम्परा अनुसार काजकिरिया गरेका हुन्। हालसम्म जिवित नरहेको र शव नै हराएको निश्चित भएपछि परिवारले पाँच दिने काजकिरिया गरेको लफ्याङका वडासदस्य अनुप राईले बताए। बैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका दिलबहादुरका जेठो छोरो पूर्ण, माइलो छोरो धनबीर र कान्छो छोरा उमेश आफ्नो संस्कार अनुसार काजकिरियामा बसेका थिए। 

वैदेशिक रोजगारीको सिलसिलामा आयुष मेनपावरमार्फत २०७० साल पुसमा मलेसिया गएका बिश्वकर्माको अलस्का वातुतिगा भन्ने ठाउँको आईस केलाङ कम्पनी नजिकै काम गर्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। सम्झौता अनुसारको काम र दाम नपाएपछि अवैध बनेर काम गर्ने क्रममा विश्वकर्माको मृत्यु भएको तथा साथमा परिचय खुल्ने आवश्यक कागजात नभएकाले शव स्वदेश ल्याउन अप्ठ्यारो परेको बुझिएको सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेको आप्रवासी श्रोत केन्द्र दिक्तेलका परामर्शकर्ता शहरमान राईले बताए। 

मुग्रातीको शवलाई मलेसियामै ‘सदगद गरिसकिए वा हालसम्म कुनै अस्पतालमा राखिएको छ’ भन्ने विषयमा परिवार तथा आफन्त हालसम्म बेखबर छन्। मृतकको शव लामो समयसम्म स्वदेश फर्काउने पहल नहुँदा र शवको अत्तोपत्तो नहुँदा मुग्राती परिवार थप पीडित छन्। 

मृतकको शव स्वदेश फर्काउने पहलका लागि मृतकका आफन्तले २०७२ असोज ११ गते तत्कालिन सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्र (हालको आप्रबासी श्रोत केन्द्र)मा निवेदन दिएका थिए। पीडित परिवारको निवेदनका आधारमा शव ल्याउने पहलका लागि प्रवासी समन्वय समिति समक्ष केस फरवार्ड गरेको भए पनि शवलाई स्वदेश फर्काउने पहल सफल नभएको परामर्शकर्ता राईले बताए। ‘दिलबहादुरको साथमा कुनै पनि डकुमेन्ट थिएन छ, शव अस्पतालमा पु¥याए पनि कुन कम्पनीमा काम गर्थे भन्ने खुलेन छ, कुनै कम्पनीले जिम्मा पनि लिएन छ,’ परामर्शकर्ता राईले भने, ‘अस्पतालले दूतावासलाई खबर गरेछ, परिवारसम्म खबर त आइपुग्यो तर शव अहिलेसम्म आइपुगेको छैन।’

आफन्तका अनुसार शव नेपाल फर्काउनका लागि धेरै रकम चाहिने र पठाउने जोहो गर्न भन्दै परिवारलाई खबर आएको थियो। कमजोर आर्थिक अवस्था भएकाले परिवारबाट शव निकाल्ने रकम पठाउन सम्भव थिएन। केही समयपछि बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नै दिलबहादुरसहित चार नेपालीको शव ल्याउनका लागि खर्च लगाइदिने खबर मुग्राती परिवारलाई प्राप्त भयो। तर, शव नआउँदा आशा निराशामा परिणत भएको मुग्राती परिवारको गुनासो छ। लामो समयसम्म शव नल्याइएपछि पुनः दूताबाससमक्ष सोधखोज गर्दा परिवारको अनुमतिमा शव मलेसियामै सदगद गरिसकिएको जवाफ आएको आफन्तको भनाई छ। 

परिवारका अनुसार सुरुमा दिलबहादुर किङ हवा कम्पनीमा गएका थिए। उनको मृत्यु भएको केही समयपछि श्रीमतीले दोस्रो विवाह गरेपछि तीन छोराको बिचल्नी भएको वडासदस्य राईले बताए। बाबुआमाबिहीन बनेका जेठो पूर्ण, माईलो धनबीर र उमेश हाल हजुरबा/हजुरमाको आश्रयमा बसिरहेका छन्। उनीहरुको लालनपालन र शिक्षादिक्षामा समस्या परिरहेको मुग्राती परिवारको गुनासो छ।

प्रकाशित: २२ भाद्र २०७६ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App