१६ चैत्र २०८० शुक्रबार
समाज

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

रूसमा हत्या गरिएका राजकुमार यादव ।

कपिलवस्तु– वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।  

कपिलवस्तु नगरपालिका ३ निवासी धुब्रकुमार अहिरका २६ बर्षीय छोरा राजकुमार यादवको राजधानी मस्को सहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा गत मंगलबार बिहान करिव साढे दुई बजे तीन जनाको संख्यामा रहेको लुटेराको समूहले हत्या गरेको हो। यादवलाई मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा लुटेराहरूले हातपात गरी मरणासन्न हुनेगरी छोडेका थिए। उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको जानकारी रुसबाट आएको मृतकका भाई श्यामकुमार यादवले बताए। 

मंगलबार घटना भए पनि आफूहरुलाई बुधवार मात्र रुसका बस्दै आएका दाजुका साथी पोखराका अभिषकले फोनमार्फत जानकारी दिएको श्यामकुमारले बताए। २०७२ सालदेखि रुसका पास्ता शहरमा राजकुमार बस्र्दै आएका थिए। साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट ओर्लिने वित्तिकै लुटेराहरुले आक्रमण गरेका थिए। घटनापछि सिसीटिभीमार्फत प्रहरीले आक्रमणकारी २ पुरुष र एक महिलालाई पक्राउ गरेको थियो। 

मृतकको शव स्थानीय अस्पतालमा राखिएको छ। घटनाका बिषयमा रुसमा रहेका नेपाली राजदूतावासमा जानकारी गराइएको छ। २०७४ सालमा रुसबाट राजकुमार घर आएका थिए। ३ महिना बसेपछि उनी गत २०७४ फागुनमा रुस फर्केका थिए। रुसको पास्ता सिटीमा मृतकले विभिन्न कम्पनीको सिम कार्ड आपूर्तिको काम गर्दथे। राजकुमार व्यापारिक भिसामा रुस छिरेका थिए। राजकुमारको मृत्युको खबरले ठूलो सडवा गाउँ नै शोकमग्न भएको छ।

रुसमा श्रीमान राजकुमारको हत्या भएको खबर सुनेपछि अर्धचेत राजकुमारी तथा बिलौना गर्दै उनका परिवार ।

मृतककका श्रीमती र एक सात महिने छोरा तथा ३ दाजुभाई, एक दिदी, आमा र बुवा छन्। मृतककी आमा जितनी अहिरले आफ्नो छोराको शव चाडै ल्याउन पहल गरी दिन माग गरेकी छिन्। 

कपिलस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरले मृतकका लागि चाहिने आवश्यक सिफासिहरु पठाइसकेको बताए। एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले मृतकको शव घर फर्काउन आवश्यक प्रक्रियामा लागेको मृतकको परिवारलाई जानकारी गराएका छन्। शव घर फर्काउन र क्षतिपूर्तिका बिषयमा एनआरएनले पहल गरेको उनको भनाई छ।

बुवा ५ बर्षदेखि साउदीमा बन्धक, छोरा सम्झेर फाेनमै धुरूधुरू राेए 

राजकुमारको रुसमा हत्या भएसँगै अर्काे तथ्य पनि बाहिर आएको छ। उनका बुवा ध्रुवकुमार यादव ५ वर्षदेखि साउदी अरेबियामा अलपत्र छन्। वैदेशिक रोजगारीमा गएका उनलाई मालिकले बन्धक बनाएर राखेको छ। 

धुव्रले फोनमार्फत आफ्नो छोराको मृत्युको खबर पाएका छन्। २ बर्षका लागि रोजगारीमा गएका उनी ५ बर्ष बित्दा पनि आफनो घर फर्कन पाएका छैनन्। ‘बुवालाई फोनमार्फत घटनाबारे जानकारी गएका छौं’, कान्छा छोरा माहेनले भने, ‘बुवा फोनमै धेरै रुनु भयो, मलाई जसरी पनि घर फर्किनु छ भन्दै बिलौना गर्नुभो।’ मोहनका अनुसार राजकुमारको अनुहार अन्तिम पटक हेर्न पनि धुव्र घर फर्किन चाहन्छन्। तर, मालिकले बन्धक बनाएर राखेको छ। फर्काउन मानेको छैन। 

धु्व्रकुमार साउदी अरबको अल हाम इबिसी कम्पनीमा कार्यरत छन्। सुरुको केही महिना कम्पनीका मालिकले पैसा दिएका थिए। लामो समयदेखि कम्पनीले बुवालाई पैसा नदिएको छोरा मोहनले बताए। ‘बुवालाई कम्पनीको मालिकले बन्धक बनाए राखेको छ। खान र बस्न मात्र दिन्छ, फर्काउन मान्दैन’, उनले भने, ‘फोनमा कुराकानी हुन्छ, फर्कन चाहनु हुन्छ। तर कुनै उपाय नै छैन।’ 

आफनो बुवाको अवस्थाबारे नेताहरु तथा सरकारी निकायलाई जानकारी गराए पनि अझैसम्म कसैले चासो नदिएको उनले गुनासो गरे। घर फर्किन नपाएर छट्पटाएका धु्रब आफ्नो जेठो छोराको मृत्युले दोहोरो पीडामा परेका छन्। 

प्रकाशित: २२ भाद्र २०७६ ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App