७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

एटीएम ह्याकरमाथि बैंकिङ कसूर मुद्दा, थप मुद्दाबारे अनुसन्धान हुँदै

काठमाडाैं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक र चिनियाँ मूलकै फ्रेन्च नागरिकलाई विमान स्थलबाट पक्राउ गरेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको हो। 

प्रारम्भिक अनुसन्धानमा उनीहरूको अपराध बैंकिङ कसूरअन्तरगत देखिएकाले उच्च अदालत पाटनबाट म्याद लिई अनुसन्धान थालिएको छ। परिसरका प्रमुख तथा एएसपी उत्तमराज सुवेदीका अनुसार आइतबार नै सात दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

उनले भने‘   बैंकिङ कसूर मुद्दामा उनीहरू माथि अनुसन्धान भइ नै रहेको छ। अन्य मुद्दा पनि स्थापिन हुनसक्ने गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ।’ चिनियाँ नागरिकको यस्तो गैरकानुनी कार्य संगठित अपराधमा पनि आकर्षित हुने भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको भनाइ छ। परिसरले संगठित अपराध ऐनमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी गरिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

त्यस्तै परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि साइबर अपराधबारे पनि छानबिन भइरहेको छ। उनका अनुसार ह्याक गर्न प्रयोग गरिएका दर्जनौ उपकरण परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। उनले भने,‘ उपकरणको रिपोर्ट प्राप्त भएपछि साइबर अपराध मुद्दाको अनुसन्धानमा परिपक्व प्रमाण भेटिए यसमा पनि मुद्दा चलाइन्छ।’ 

प्रहरीका अनुसार बैंकिङ कसूरमा चारदेखि छ वर्षसम्म कैद र विगो बराबरको क्षतिपूर्ति तथा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ।

परिसरकाका अनुसार चिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेललगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर नेपाल आएको अनुसन्धानबाट खुलेको छ। उनले भने,‘चिनियाँ नागरिकले विभिन्न प्रविधि प्रयोग गरी एटीएम नै ह्याक गरी पैसा चोर्न खोजेका थिए।’ पाँच जनाको समूहमा आएका उनीहरुले दरबारमार्गमा रहेको माया मनोहर बुटिक होटेल बुक गराएर बसेका थिए। 

प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो। 


बैँकिङ कसुर के हो ?
कानुनी व्यवस्था विपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैँकिङ कसुर भनिन्छ। विद्यमान कानुनी व्यवस्थाअनुसार अनाधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनाधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अर्को व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरि ऋण लिने तथा दिने काम बैँकिङ कसुरभित्र पर्छन्।

प्रकाशित: १७ भाद्र २०७६ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App