१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जन्मदर्ता लिन ‘बर्थिङ सेन्टर’मा प्रसूति

भोजपुर- टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले जन्मदर्ता लिन बर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुरक्षा र सुरक्षित प्रसूतिका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

वैशाख दोस्रो हप्ता श्रीमतीलाई बर्थिङ सेन्टरमा प्रसूति गराएका स्थानीय नवराज राईले बर्थिङ सेन्टरले दिएको जन्म प्रमाणपत्रले सहजै जन्मदर्ता बनाउन काम दिएको बताए। उनले भने, ‘अनेक कागजात मिलाउनुपर्ने झन्झट नै भएन। बर्थिङ सेन्टरमा बच्चा जन्माएको हुनाले जन्मदर्ता गर्न सहज भयो।’

ग्रामीण भेगका महिलालाई बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने अभिप्रायले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नपाउने नयाँ नियम लागू गरेको छ। वडाले भदौ पहिलो हप्ताबाट लागू हुनेगरी बच्चाको जन्मदर्ता बनाउन गर्भवती महिलालाई बर्थिङ सेन्टर वा नजिकैको स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति गराउनेपर्ने नियम लागू गरेको हो।

घरेलु प्रसूति विधिको पुरातन परम्परालाई विस्थापित गर्दै प्रसूति विधिलाई सुरक्षित तरिकाबाट आमा र बच्चाको स्वास्थ्यको जोखिम कम गर्न यो नियम लागू गरिएको टेम्केमैयुङ–९ का अध्यक्ष गणेशकुमार राईले बताए। ‘वडाले ग्रामीण महिलालाई प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जाने वातावरण मिलाउने उद्देश्यले यो नियम लागू गरेको छ’, उनले भने, ‘यहाँका ग्रामीण महिलाहरूले गर्भवतीका समयमा जाँच नगराउने, खोपसुई लगाउन नमान्ने रुढीवादी परम्परालाई रोक्नका लागि पनि यो नियम ल्याएका हौं।’

बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएपछि अहिले महिलाहरू धमाधम नियमित जाँच र प्रसूति गराउन थालेका छन्। विगत ५ महिनाको अन्तरालमा सेन्टरमा १४ जना महिलाले प्रसूतिपश्चात आफ्नो बच्चाको जन्मदर्ता पनि बनाइसकेका छन्। वडाले ल्याएको नयाँ नियमले सर्वसाधारणलाई प्रशासनिक चक्कर र कागजात पेश गर्नुपर्ने बोझ हटेको अर्का स्थानीय रामप्रकाश राई बताउँछन्। यसका साथै उनले ग्रामीणस्तरका सर्वसाधारण बच्चा जन्मेपछि आवश्यक परेको जुनसुकै समयमा जन्मदर्ता बनाउन आउने झन्झटिलो परिस्थितिलाई सुलभ बनाउन सहयोग पु¥याएको बताए।

सरकारले दिने सुत्केरी स्याहारवापतको १ हजार रुपैयाँसँगै दिने पूर्ण खोप कार्डका साथै वडाले जन्म प्रमाणपत्र प्रदान गर्ने नयाँ नियम ल्याएको यो पहिलोपटक हो। यसअघि यहाँका ग्रामीण महिलाहरू प्रसूति गराउन छिमेकी वडा कोट या गोगने अथवा विकल्पमा ३ घण्टा मोटर दूरीको सदरमुकाम, ठूला सहर जानुपर्ने बाध्यता थियो। आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालन आएपछि गर्भवती महिलाहरूले घरमै वा यी झन्झट झेलेर बाहिर जानुपर्ने बाध्यता टरेको स्थानीय सविना राईले बताइन्। उनले विगतमा प्रसूति गराउन महँगो खर्चेर कष्टकर यात्राबाट सदरमुकाम या ठूला सुविधासम्पन्न सहर लैजानुपर्ने स्थितिबाट छुट्कारा पाएको सुनाइन्।

नियमित गर्भ जाँच्ने महिलालाई अण्डा

गर्भवती महिला र सुत्केरी महिलाका लागि पौवादुङ्मा गाउँपालिकाले नयाँ योजना थप गरेको छ। गत वर्षबाट गाउँपालिका क्षेत्रभित्रका ग्रामीण महिलाहरूलाई बर्थिङ सेन्टरमा प्रसूति गरेवापत गाउँपालिकाले उपलब्ध गराउने रातोभाले र प्रसूति सामग्रीमा यस वर्षबाट थप नियमित गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा प्रदान गरेको छ।

गत सालको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आमा तथा मातृशिशु मृत्युदर नियन्त्रण गर्न गर्भजाँच गर्न आउने गर्भवती महिलालाई जाँच गर्दै पिच्छे १ क्यारेट अण्डा वितरण गर्ने नीति ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। उनले गर्भवती महिलाहरूको प्रसूतिका बेला हुने सम्भावित जोखिम र कठिनाइ कम गर्न नियमित गर्भजाँच गर्न र गराउनका लागि यो योजना ल्याइएको बताए।

प्रकाशित: १७ भाद्र २०७६ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App