१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अस्पताल परिसरमै फोहोरको थुप्रो

धनुषा- मानिसहरू बिरामी भएपछि उपचारका लागि अस्पताल जाने गर्छन् तर, फोहोरका कारण जनकपुर अञ्चल अस्पताल आफैं बिरामीजस्तो बनेको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा जनकपुर अञ्चल अस्पतालअन्तर्गत रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको परिसर फोहोरले भरिभराउ भएको हो।

करिब आधा दर्जन स्वास्थ्य संस्थामा मानिसहरू त्यही परिसर भएर सेवा लिन जाने गर्छन्। फोहोरले अस्पतालको परिसर अत्यन्तै दुर्गन्धित हुनुको साथै कुरुप देखिएको छ। फोहोरले कुरुप देखिएको त्यही परिसर भएर आमसर्वसाधारण नाक थुनेर जिल्ला जनस्वास्थ्य कार्यालय, परिवार नियोजन संघ, नर्सिङ क्याम्पस, पोषण स्थापना गृह, पोष्ट मार्डम केन्द्रलगायत कार्यालयमा पुग्ने बिरामीदेखि लिएर सडक भएर हिँड्ने आमसर्वसाधारणलाई निकै सास्ती भएको हो। अस्पताल परिसरमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा दैनिक सयौंको संख्यामा आउने सेवाग्राहीहरू थप जोखिममा परेका छन्।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्ट नागेन्द्र यादवले सुधार गर्ने प्रक्रियामा रहेको बताए। अस्पतालको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा फोहोर थुप्रिएको भन्दै उनले नगरपालिकाको बेवास्ताका कारण फोहोर थुप्रिएको तर्क गरे। छिट्टै फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता गर्दै यसको व्यवस्थापनमा सबै निकायको सहयोग अपरिहार्य रहेको उनले बताए।

अस्पताललाई फोहोरको डम्पिङ साइड बनाउन अस्पतालले नै सहयोग पु¥याएको देखिन्छ । बिरामी र कुरुवासँगै अस्पतालमा प्रयोग हुनै सबै सामग्रीहरूसमेत अस्पताल परिसरमै थुपार्ने गर्छन् । अञ्चल अस्पतालको फोहोर व्यवस्थापन नहुँदा प्रदेश राजधानी जनकपुरको बारेमा अन्य जिल्लामा नकारात्मक टिप्पणी गरी आलोचनासमेत भइरहेको छ। ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहोर मैलामै पर्ने गरेको छ’, सफाइ अभियानी अमरचन्द्र अनिल झाले भने, ‘अव्यवस्थित फोहोर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहोर मैलायुक्त सहरका रूपमा परिचित हुन थालेको छ । तर, पहिलाभन्दा सुधार भएको छ। केही दिनपछि फोहोर समस्या समाधान हुन्छ।’

अस्पतालजस्तो संवेदनशील ठाउँमा अस्पताल स्वयं र जनकपुर सहरका बासिन्दा, व्यवसायीलगायतले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहोर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन्। ढल प्लास्टिकजन्य फोहोरले भरिएको छ। ढलमा बग्नुपर्ने पानी सडकमा बग्ने गरेको छ । वर्षात्का बेला घरआँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । फोहोरमैलाको दुर्गन्धले सहरको जनस्वास्थ्य नराम्ररी प्रभावित भएको छ ।

कालो पानी र फोहोरको दुर्गन्धले खाना अरुचि हुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् । जताततै फोहोर मैला, खुला शौचालय, डम्पिङसाइट, लामखुट्टे, ध्वनि प्रदूषण, वातावरण प्रदूषणबाट आक्रान्त जनकपुर सहर सरसफाइ, ढल निकास र सहरको व्यवस्थापन नसकेको अभियानी झाले बताए।

प्रकाशित: ११ भाद्र २०७६ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App