१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अज्ञात रोगले परेवा मरेपछि त्रास

इलाम- इलाम बजारको शोभाका रूपमा लिइने परेवा भकाभक मर्न थालेपछि कुनै सरुवा रोगको हुनसक्ने आशंकाले त्रास बढेको छ। महिनादिनयता बजारनजिकै माइस्थान मन्दिरमा रहेका परेवा पालैपालो मरिरहेपनि रोग पत्ता नलाग्दा घरमा पालिएका कुखुरालगायत पन्छीमा समेत सर्ने डर भएको हो।

  सुरुमा झोक्राउने, चारो नखाने र केही समयपछि मर्ने लक्षण परेवामा देखिएको छ। स्थानीयका अनुसार झोक्राएका प्रत्येक परेवामा १५–२० वटासम्म झिँगासमेत पाइने गरेको छ। कुनै परेवाले चारो र पानी खानेबित्तिकै बान्तासमेत गर्ने गरेको स्थानीय सञ्जीव भट्टराईले बताए। ‘झोक्राएपछि चारो नटिप्ने, त्यसको केही समयपछि सडक, घरका छतहरूतिर गएर परेवा मरिरहेको भेटिने गरेको छ,’ उनले भने, ‘समयमै उपचार नहुँदा मर्ने परेवाको संख्या बढिरहेको छ।’ स्थानीयका अनुसार अहिलेसम्म एक–डेढसय हाराहारी परेवा मरिसकेका छन्।

 परेवा के कारणले मरिरहेका छन्, के रोग लागेको हो भन्ने अन्योल हुँदा रोग सर्ने हो कि भन्ने डर इलाम बजारबासीलाई छ। ‘भकाभक परेवा मरेको देख्दा बर्डफ्लुजस्ता कुनै भयानक सरुवा रोग परेवालाई लागेको हुनसक्ने डर छ,’ बजारका सोभित मुखियाले भने, ‘छिटोभन्दा छिटो रोग पत्ता लगाएर उपचार गरिएन भने यो रोग घर–घरका पन्छीमा समेत सर्न सक्छ।’             

  इलाम नगरपालिकाले इलाम बजार र माइस्थान मन्दिरको आकर्षण मानिएका परेवामा जुका र झिँगाको प्रकोप देखिएको जनाएको छ। ‘परेवा उड्न र चारो खान नसकेकाले पानीमा मिसाएर जुकाको औषधि खुवाइँदैछ,’ नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले भने, ‘परेवाको गुँडमा स्प्रे गरिएको छ भने रोग परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।’ नगरले परेवालाई सफा पानी, विषादी नमिसिएको तोरी, गहुँका दाना र मकैको च्याँख्लामात्र दिन आग्रह गरेको छ।

  परेवा मर्नुको यकिन रोग पत्ता लाग्न बाँकी नै रहेपनि अहिले देखिएको लक्षण हेर्दा परेवामा सर्ने रोग चाहिँ नभएको चिकित्सकले बताएका छन्। परेवामा रहेको रोग कुखुरामा सर्छ भनेर त्रसित हुनु नपर्ने चिकित्सकको सुझाव छ। ‘ठ्याक्कै यही रोग हो भन्न सकिएको छैन तर प्रारम्भिक परीक्षण गर्दा परेवामा सर्ने रोग चाहिँ देखिएन,’ जिल्ला पशुसेवा कार्यालय प्रमुख डा.सञ्जय ढुंगानाले भने, ‘क्षेत्रीयस्तरको प्रयोगशालामा रोगी परेवाको नमुना परीक्षण गर्दा समेत सर्नेखालको रोग चाहिँ देखिएन।’ उनले क्षेत्रीय प्रयोगशालामा पनि रोग पत्ता नलागेपछि थप परीक्षणका लागि केन्दीय विधिविज्ञान प्रयोगशालामा नमुना पठाइएको बताए। डा.ढुंगानाका अनुसार विषादीयुक्त र बर्खाको समयमा ढुसी परेको चारो वा पानीका कारण परेवामा रोग लागेको हुनसक्ने भएकाले यो रोग अन्य पन्छीमा सर्दैन।

 विभिन्न धार्मिकस्थलमा भक्तजनले उडाएका परेवा माइस्थान मन्दिरमा आएर बस्ने गरेका छन्। यहाँका परेवालाई माइस्थान धार्मिक क्षेत्र समिति र स्थानीले नै चारो खुवाउने र हेरचाह गर्ने गर्छन्। बजारबासीले प्रत्येक दिन पालैपालो गरी चारो खुवाउने गरेका छन्। ‘इलाम बजार र परेवा एक–अर्काका पर्यायझैं भएका छन्,’ समितिका पूर्वसहसचिवसमेत रहेका टेकप्रसाद रञ्जितकारले भने, ‘परेवाको संख्या कति छ भन्ने यकिन छैन तर चारो खाएर एकैपटक उड्दा त इलाम बजारको घामै छेलेको देखिन्छ।’ परेवालाई लक्षणअनुसार प्रारम्भिक उपचार गरिरहेको र परीक्षण रिपोर्ट आएपछि थप उपचार गरिने इलाम वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताए।

 

प्रकाशित: ११ भाद्र २०७६ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App