२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले ढाल्यो सीमा स्तम्भ, केही हराए, केही क्षतिग्रस्त

विजयनगर गाउँपालिका– ५ स्थित सुरई नदीमा बाढीको भेलले ढालेको सीमा स्भम्भ ।

कपिलवस्तु– डेढ महिनाअघि आएको बाढीले ढालेका जिल्लाको बिजयनगर गाउँपालिकामा रहेका ५ सीमा स्तम्भको अझै संरक्षण हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका २ खोलामा आएका बाढीले सीमा स्भम्भ ढालेको थियो। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ। 

गत असार २८ गते साँझ भेलले गाउँपालिका ५ स्थित सुरई नदीमा ४ र वडा नम्बर १ स्थित अर्रा नदीमा एक वटा स्तम्भ लडाएको थियो। विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८/७ र त्यस्को आधी किमी उत्तर पिलर नं. ५७८/१० पानीमा लडेको छ। गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन्। ५७७/९ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७/७ पानीमा डुबेर नदेखिने अवस्थामा पुगेको छ। 

उता विजयनगर गाउँपालिका १, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको स्थनीयले बताए। बिजयनगर गाउँपालिकाका ५ का भेषबहादुर थापाले बाढीको भेलले लडाएको सीमा स्तम्भको अझै संरक्षण हुन नसकेको बताए। ‘पटक पटक आएको बाढीको भेलले सीमा स्तम्भलाई सार्दै लगेको छ’, उनले भने, ‘अहिले नै संरक्षण गरिएन भने पछि बिवाद आउन सक्छ।’ 

‘५७७/७ नं. पिलर ढलेर पानीमा डुबाएको छ’, प्रहरी चौकी ठकुरापुरका जवान परशुराम यादबले भने, ‘बाहिरै देखिँदैन्।’ आफूहरु दैनिक जसो पुगेर निरीक्षण गर्दै फर्किने गरेको उनले बताए। आफूले सीमा स्तम्भ लडेकोबारे जिल्लामार्फत हेडक्वार्टरलाई जाहेर गरिसकेको इप्रका गणेशपुरका निरीक्षक सुमन नेपालले बताए। ‘सक्दो छिटो मर्मत गर्दा राम्रो हुन्छ’, उनले भने, ‘स्थानीयको माग पनि त्यही छ।’ ५७८/३ र ५७८/६ नम्बरको पिलर पनि ढल्ने अवस्थामा पुगेको छ। फाउण्डेसन पुरै देखिएका छन्। बाढीले फाउण्डेसन ढाकेको माटो बगाएको छ। गत जेठतिर नेपाल र भारतको संयुक्त टोलीले कमसल काम गर्दा सामान्य बाढी आउँदा पनि पिलर ढलेका स्थानीयको आरोप छ। 

सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ। सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुइदेशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्भम्भ संरक्षणमा ढिलाई भएको हो। विजयनगर गाउँपालिका १, चमरका जंगलमा २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको छ। सव डिभिजन कार्यालय गुगौलीको गस्ती टोलीले १० दिनअघि क्षति भएको सीमा स्तम्भ फेला पारेको थियो। घनावनको बीचमा रहेको अर्रा खोलामा उक्त स्तम्भ ढलेका छन्। ‘बाढीले एउटा सीमा स्तम्भ पुरेको छ’, सशस्त्र वन रक्षक नारायणप्रसाद तिमिल्सिनाले भने, ‘अर्कोको टुप्पो भाँच्चिएको छ।’ ठुलठूला ढुङ्गाले पुरेको छ। जिल्लाकै विकट मानिने जवाबैराठ गाउँबाट एक घण्टा पैदल हिडेर उक्त ठाउँ पुगिन्छ। स्तम्भमर्मत गर्न ढिलो भइरहेकोमा स्थानीय चिन्तित बनेका छन्। उनीहरुले सक्दो छिटो पुनर्स्थापित गर्न माग गरेका छन्। 

ठकुरापुरका अजय चौधरीले सरकार सम्वेदनशील हुनुपर्ने बताए। ‘बाढी आउना साथ सीमा स्तम्भलाई बगाउने अवस्था छ’, उनले भने, ‘त्यसकारण मर्मत ढिलो गर्न हुन्न।’ बर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ। सीमास्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले सोको लागि केन्द्रीयस्तरकै पहल आवश्यक देखिएको सुरक्षा स्रोतको भनाई छ। 

सीमास्तम्भ ढलेको बिषयमा केन्द्रमा जहेर गरिएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलबस्तुका गणपति शसस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए। उनले स्थानको नियमित निगरानी गरिएको बताए। कपिलवस्तु जिल्लासँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन्। दुई देशका सीमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सीमास्तम्भ र २ सय ६० साना सीमास्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भ छन्। 

प्रकाशित: ७ भाद्र २०७६ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App