१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तिनाउ दानव करिडोर बन्ने

तिनाउ नदी छेउको बस्ती

रुपन्देही - वैकल्पिक र पर्यटकीय मार्गका रुपमा तिनाउ र दानव नदीको किनारै किनार नमूना सडक बनाइने भएको छ। तिनाउ दानव नदी करिडोरका रुपमा संघीय सरकारले यो सडक आयोजना शुरु गर्ने भएको हो। दुई वर्षअघि डिपिआर तयार भएको यस आयोजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागमार्फत काम अघि बढाउन प्रक्रिया थालेको छ। सरकारले करिडोरका लागि ४५ करोड बजेट छुट्याएको छ।

डिभिजन सडक कार्यालय बुटवलले तिनाउ दानव नदी करिडोरलाई आर्थिक वर्ष २०७६/७७ भित्र बोलपत्र (टेन्डर) गरेर निर्माण थाल्ने बताएको छ। बुटवलदेखि दक्षिण बग्ने तिनाउको भारतीय सिमा र दानव नदीको पश्चिम कपिलबस्तु सिमासम्म आकर्षक सडक निर्माण गर्ने महत्वकांक्षी आयोजना शुरु भएको हो।

नेकपाका महासचिव एंव रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा तिनाउ दानव करिडोर योजना बजेटमा पारेका थिए। विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अनुसार आयोजनाका लागि ५ अर्ब बजेट लाग्ने छ। प्रारम्भिक वातावरण परीक्षण (आइई ) समेत तयार भइसकेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बरिष्ठ डिभिजन इञ्जिनियर मेघराज मरासिनीले बताए। उनले डिपिआर समेत केही परिवर्तन गरेर यसै वर्षदेखि करिडोरको काम अघि बढाइने बताए। ‘आइइको प्रतिवेदन आएको छ, हामीले विभागमा पठाउछौं, मन्त्रिपरिषदले निर्णय गरेपछि निर्माणको काम अघि बढ्छ’ डिभिजन प्रमुख मरासिनीले भने।

पूर्व पश्चिम राजमार्ग जोड्ने तिनाउ पक्की पुलदेखि छुट्टिएको तिनाउ र दानव नदीको छेउ छेउकै वैकल्पिक मार्गका रुपमा यसलाई अघि बढाउने गरि योजना बनेको हो। मुख्य गरि पर्यटक आकर्षित गर्ने यस सडकको अर्को लक्ष्य रहेको इञ्जिनियर दुर्गा गौतमले बताए। सडक विभागले बुटवल कार्यालयसँगको समन्वयमा सिधै परामर्शदातामार्फत आइइको काम गरेको हो।

आइइको प्रतिवेदन तयार भएकाले आउदो असोजसम्ममा बोलपत्र आह्वान गरेर करिडोर निर्माण शुरु गरिने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। वहुवर्षिय योजनाका रुपमा संघीय सरकारले तिनाउ करिडोरलाई अघि बढाएको हो। पहिलो चरणमा तिनाउ नदीतर्फ १७.५ किलोमिटर र दानव नदीतर्फ ७.५ किलोमिटर गरि का लागि टेन्डर गरेर निर्माण शुरु गर्ने योजना छ। पहिलो चरणमा २५/२५ गरि ५० किलोमिटर सडक निर्माण गर्ने गरि टेन्डर हुने छ।

नदीको दुवै किनारमा पर्खाल लगाउने, त्यसको ३ मिटर हरियाली, २ फुटको हरियाली त्यसपछि सडक निर्माण हने छ। विचमा नदी दुवै छेउमा आकर्षक सडक हुँदा यसले पर्यकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाका सदस्य तथा नेकपाका महासचिव विष्णु पौडेलले तिनाउ दानव करिडोरले बुटवल भैरहवाको सुन्दरलाई थप उचाईमा पु-याउने दाबी गरे। केहि दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा उनले निर्माणमा कुनै पनि अवरोध हुन नदिने भन्दै आयोजनाको कामलाई जसरी पनि पुरा गर्न आग्रह गरे।

सयौं घर हट्ने
नेकपा महाचिव विष्णु पौडेलले नै हरेक पटकको निर्वाचनमा तिनाउ र दानव नदी किनारमा बसोबास गरेका नागरिकहरुलाई लालपूर्जाको आशा देखाएर चुनाव जित्दै आएका छन। तर, तिनै नेता पौडेलले भने तिनाउ र दानव नदीकै किनारमा बसोबास गर्ने नागरिकलाई विस्थापित गर्ने योजनाको अगुवाई गरेका छन। सडक विभागले आर्थिक बर्ष ७६/७७ मा ४५ करोड बजेट छुट्याएर तिनाउ दानव नदी करिडोर आयोजनालाई तिव्रता दिन थालेको छ।

प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आईई) को प्रतिवेदन अनुसार बुटवलक्षेत्रका सयौं घरहरु हटाउनुपर्ने छ। तिनाउ र दानव नदीको किनारमै ठूलठूला पक्की संरचना बनेको छ। तर, करिडोर निर्माण गर्दा भने ति सबै संरचना हटाउनुपर्ने छ। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकासम्म यो आर्थिक वर्षमा ठेक्का हुने हो।

यसपछि भारतसिमासम्म नै करिडोर निर्माण हुने योजना छ। यस आधारमा पनि बुटवल क्षेत्रमै सबैभन्दा बढि भौतिक संरचना हटाउनुपर्ने छ। नदीको वहाव क्षेत्र भन्दा १५ मिटर दायँ वायाँका संरचना हटाउनुपर्ने डिभिजन प्रमुख मरासिनीले बताए। डिभिजन सडकले पनि घरजग्गाको मुआब्जा र अन्य पूर्वाधार हटाउने कुरालाई आयोजना कार्यान्वयनमा आउने समस्या ठानेको छ।  डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इञ्जिनियर कृष्ण बहादुर कुँवरका अनुसार हजारको हारहारीमा  भौतीक संरचना हटाउनुपर्नेछ।

प्रकाशित: ४ भाद्र २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App