१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

पतिको हत्यारासँग पैसा लिने मिना मिजार सार्की । तस्बिरः नागरिक

भोजपुर– जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा भोजपुर नगरपालिका ४ सिद्धेश्वर दाँवाकी मिना मिजार सार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पतिको हत्यारालाई कानुनको कठघरामा उभ्याउनुको साटो मिनाले उल्टै पैसा लिएर घटना लुकाएकी थिइन्।  

दुई वर्षअघि २०७४ साल माघ २७ गते स्थानीय चम्पिरा खोलाको भिरबाट पूर्ण बहादुर सयललाई छिमेकी महनबहादुर रम्तेलले धकेली हत्या गरेका थिए। उक्त घट्नापछि छिमेकी हरिबहादुर लम्सालले घट्ना दबाउन अभियुक्तसंग तीन लाख रुपैयाँ मागेका थिए। त्यस बीचमा मृतकको श्रीमतीले पनि मुख्य अभियुक्तसँग पैसा मागेकी थिइन्। उक्त घट्नामा मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले पैसा दिलाउन सहयोग गरेका थिए। मुख्य अभियुक्तसंग मृतकका पत्नीले दुई लाख रुपैयाँ नगद लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नै पतिको हत्याराबाट लिएको दुई लाख रकम उनले भोजपुर सदरमुकाममा रहेको एक सहकारी राखेकी थिइन्। सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको सासुआमालाई भैँसी किनिदिएकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा आएको एउटा बेनामे पत्रबाट अभियुक्तहरु पक्राउ परेको प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले बताए। बेनामे पत्रमा भिरबाट लडेर मरेको भनिएका पूर्णबहादुर सयललाई छिमेकी महनबहादुर रम्तेल लगायतले धकेली हत्या गरेको भन्ने विवरण रहेको थियो। सलामीका अनुसार भिरबाट लडेर मरेको भनि बन्द भएको फायल उक्त पत्रपछि खुलेको र अभियुक्तलाई पक्राउ गरिएको हो। 

गाईले लग्यो ज्यान 

खोटाङ्ग केपिलासगढी गाउँपालिका १ फेदीकी भइमाया राईको शव टेम्केमैयु गाउँपालिका २ धोद्रे खोलाको किनारमा फेला गत साउन ८ गते फेला पर्याे। शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले अनुसन्धान थालेको पहरीले दुई जनालाई पक्राउ पनि गर्याे। 

प्रहरीको अनुसन्धान पछि भइमायाको हत्याको अभियोगमा टेम्केमैयुम गाउँपालिका २ छिनामखु खैलाका रमेश कार्की र भिमबहादुर कार्कीलाई पक्राउ गरेको हो। भइमायाले रमेश कार्की र भिमबहादुर कार्कीले छिमेकीको गाई जंगलबाट चोरी गरेर खोटाङ्गको पितुङ्ग भन्ने स्थानमा बेचेका थाहा पाएकी थिइन। उक्त कुरा भइमायाले गाई धनिलाई भनिदिएपछि भइमायाको हत्या भएको हो।

जंगलमा दुईजनाले बाटो छेकी खुकुरीको उल्टो धारले प्रहार गरेको र पछि घाटी थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनाहरुमा संग्लग्न व्यक्तिहरुलाई पक्राउ गरेपछि पत्रकार सम्मेलन मार्फत घटनाको जानकारी गराएको हो। 

प्रकाशित: १ भाद्र २०७६ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App