१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

समितिविहीन खप्तड

काठमाडाैं- खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ। नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन।

समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महिनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए। समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन्। 'तलब नपाउँदा काम चलाउन समस्या भएको छ,' उनले भने। करारमा शाखा अधिकृत कुँवरसहित  सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगीहरु धनबहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन्।

गत असोजमा समितिको समयावधि सकिएको हो। पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ। प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश, २०७५’ स्वीकृत भए पनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन। समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ। प्रदेश सरकारले चासो नदिँदा समितिको काम अलपत्र छ।

समिति नबन्दा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए। उनले भने, 'वर्षौंसम्म निस्कृय हुनु राम्रो होइन, चाँडो समिति र निर्देशक चयन गरिनु पर्छ।'

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताए। उनले भने, 'समिति गठन गर्ने तयारीमा छौं, चाँडै खप्तडले पूर्ण समिति पाउँछ,' उनले भने। रासस

प्रकाशित: ३२ श्रावण २०७६ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App