१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा गाईजात्रा रौनक

बिहीबार भक्तपुरको तलेजुबाट निस्केको आठ रात नौ दिनसम्म चल्ने गाईजात्रा।

भक्तपुर - आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व बिहीबारबाट सुरु भएको छ। भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट साँझ लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो। गाईजात्राको दिन शुक्रबार विशेष उल्लासका साथ शुक्रबारमा भक्तपुरमा गाईजात्रा मनाइँदैछ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालु आउने गर्दछन्। जिल्लाबाहिरका हजारौं जात्रालुहरु भक्तपुरमा जात्रा हेर्न आउने भएकाले भक्तपुर नगरपालिकाले भक्तपुर नगरको चारैतिरका २७ स्थानलाई पार्किङ क्षेत्रका रुपमा तोकिदिएको छ।

प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुने परम्परा रहिआएको छ। यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङगिसी नाच नगर परिक्रमा गराइन्छ। यसअघि गाईजात्रा नजिकिएसँगै भक्तपुुर नगर गाईजात्रामय हुन थालेको थियो। गाईजात्रामा प्रदर्शन गरिने सांस्कृतिक विधाहरुको रिहल्सर्ल केही हप्ता अगाडिदेखि नै टोलटोलमा सुरु हुन थालेका थिए। गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, ख्याल प्रहसनलगायतका लागि तयारी, प्रशिक्षण सुरु भएका थिए। स्कुल, कलेजहरुमा विद्यार्थीलाई गाईजात्रा पर्वकाबारे जानकारी दिनुका साथ विभिन्न स्थानमा नाच नचाइएको थियो।

भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा टोलटोलबाट सांस्कृतिक प्रदर्शन गर्न तयारी तथा प्रशिक्षण सुरु भएका थिए। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधाहरुलाई नगद पुरस्कार वितरण गर्दै आएको छ। यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको छ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङगिसी नाच हो। हजारौं टोलीहरुले नगरभरि दिनभरि लठी जुधाएर यसको प्रदर्शनी हुन्छ। टोलीले भक्तपुर नगर परिक्रमा गर्ने गर्दछ। वर्षभरिमा मृत्यु भएका परिवारको तर्फबाट एकएक टोली नाच नाचेर नगर परिक्रमा गर्ने गर्दछन्।

गाईजात्राका क्रममा यहाँ दुई दर्जन विधाका सयौं प्याखं नाच पनि देखाइन्छन्। यहाँ देवी नाच, भैल नाच, बाँदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन्। साथै लाखे नाच, नटु मथु वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँचा नाचलगायतका नाच पनि देखाइन्छन्। साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाच पनि देखाइन्छन्। यी सबै नाच फरकफरक रुप तथा भेषभूषामा प्रस्तुत गरिन्छ। गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन छ।

गाईजात्राको अघिल्लो दिन जणैपूर्णिमादेखि आठ रात नौ दिनसम्म यहाँ गाईजात्रा मनाइन्छ। यो क्रममा नगरका विभिन्न ठाउँमा टोलटोलका नाच, नाटक, प्रहसन आदि प्रर्दशन गरिन्छ। गाईजात्राको दिन नगर परिक्रमा गर्ने रुटका ठाउँठाउँमा यी नाच, नाटक, प्रहसन नौ दिन लगाएर प्रदर्शन गरिन्छ। कला संस्कृति भजन महागुथिका अध्यक्ष जननीप्रसाद मूल भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने बताउँछन्। त्यसकारण नौ दिनसम्म भक्तपुर नाचगानमय हुने उनी सुनाउँछन्।

जात्राका क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने चलन छ। गाईजात्राका लागि घण्टाकर्ण पर्व सकिएसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णअष्टमीसम्म आठ रात नौ दिनसम्म नाच प्रदर्शन हुने परम्परा छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App